सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत आपूर्ति बारम्बार अवरूद्ध भइरहेको भन्दै उद्योगीहरूको संगठनले नियमित विद्युत आपूर्तिको माग गरेको छ।
उद्योग संगठन मोरङले प्रेस नोटमार्फत् सुख्खायाममा बढ्दै गएको विद्युत कटौतीका कारण दैनिक करोडौंको नोक्सानी भएको जनाएको छ।
सुनसरी–मोरङ, विराटनगर–रानी र विराटनगर–कटहरी औद्योगिक करिडोरमा दैनिक ८ देखि १० घण्टासम्म विद्युत आपूर्ति अवरूद्ध भएको संगठनको दाबी छ।
यसले उद्योगहरूको उत्पादन क्षमता घटेको उसको भनाइ छ।
‘हामीलाई कुनै पूर्वसूचनाबिनै विद्युत काटिन्छ, यसले उत्पादन प्रक्रिया अवरूद्ध हुन्छ र फेरि सुचारू गर्न घण्टौं लाग्छ’, संगठनका अध्यक्ष राकेश सुरानाले सेतोपाटीसँग भने, ‘यस्तो समस्याले दैनिक करोडौंको नोक्सानी भइरहेको छ।’
सुरानाका अनुसार प्राधिकरणले हरेक वर्ष सुख्खायाममा विद्युत आपूर्तिमा कमी आउने जानकारी दिए पनि दीर्घकालीन समाधानका लागि कुनै ठोस योजना ल्याएको छैन।
‘हामीले तथ्य र तथ्यांकसहित बारम्बार प्राधिकरणको ध्यानाकर्षण गराएका छौं, तर उनीहरू हाम्रो समस्या बुझ्न चाहँदैनन्,’ अध्यक्ष सुरानाले थपे, ‘प्राधिकरणको नयाँ नेतृत्वले विद्युतको नियमित आपूर्ति र गुणस्तर सुधारमा ध्यान दिने आशा गरिएको थियो। तर प्राधिकरण नाफा र नोक्सानीमा मात्र केन्द्रित हुँदा उद्योग व्यवसाय थप प्रताडित भएका छन्।’
एकातिर सुख्खायाममा बढी महसुल लिने, अर्कोतिर विद्युत निरन्तर आपूर्ति नगर्ने, यो दोहोरो मारमा आफूहरू परिरहेको अध्यक्ष सुरानाले बताए।