नारायणगढमा शुक्रबारदेखि ‘मेड इन नेपाल एक्स्पो’ सुरू हुँदैछ। युवा उद्यमी मञ्च चितवनले शुक्रबारदेखि वैशाख २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा एक्स्पो गर्न लागेको हो।
तेस्रो संस्करणको यो एक्स्पोमा नेपालमा उत्पादन भएका वस्तुहरूको प्रदर्शनी गरिने मञ्चका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए।
कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, प्रबिधि, नवउद्यमी लगायतको स्टलहरू एक्स्पोमा रहने उनले बताए।
नयाँ वर्षको अवसर पारेर एक्स्पो आयोजना गरिएको हो। मञ्चका प्रथम उपाध्यक्ष निशान पौडेलले हरेक दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म नेपाली उत्पादनहरूको प्रदर्शनी हुने र साँझ ६ बजेदेखि राति ९ बजेसम्म सांगीतिक प्रस्तुति हुने जानकारी दिए।
‘एक्स्पोमा नेपाली उत्पादनका साथै रैथाने खानाका स्टलहरू पनि रहनेछन्। मेड इन भरतपुरको अलग्गै क्षेत्र रहनेछ,’ पौडेलले भने।
एक्स्पोमा कुल एक सय स्टल रहनेमा विपन्न समुदायका उत्पादनहरूको प्रदर्शनीका लागि १० वटा स्टलको व्यवस्था निःशुल्क गरिएको छ। स्टार्ट अपका १० वटा स्टल रहनेछन्। स्टार्ट अप मध्येबाट उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने द्वितीय उपाध्यक्ष सन्तोष कँडेलले जानकारी दिए।
हरेक साँझ विभिन्न व्याण्डहरुको सांगीतिक प्रस्तुति रहनेछ। चैत २९ गते द एज व्याण्ड, चैत ३० गते रकहेड, चैत ३१ गते पूर्ण राई र द परिवर्तन, बैशाख १ गते द स्वर र बैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुती रहने जानकारी कँडेलले दिए।
एक्स्पोको दैनिक ५ देखि ७ हजार जनाले र सांगीतिक कार्यक्रमको दैनिक ५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको मञ्चका पूर्वअध्यक्ष सूर्यभक्त अधिकारीले बताए। बिगतमा चितवन महोत्सवभित्र गर्ने गरिएको एक्स्पो यसवर्ष छुट्टै गर्न लागिएको अधिकारीले बताए।
पूर्वअध्यक्ष निरञ्जन न्यौपाने युवाहरु रोजगारीका लागि विदेशिनेक्रम बढिरहँदा नेपालमा पनि संभावना छ भनेर सन्देश दिन एक्स्पो आयोजना गरिएको बताए।
एक्स्पोले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, बजार बढाउने र आयात प्रतिस्थापनमा भूमिका खेल्ने उनी बताउँछन्। ‘उद्यम सुरु गर्न चाहने युवाको पुराना व्यवसायीहरुसँग अन्तरक्रिया हुन्छ। यहाँबाट उनीहरुले सिक्न पाउँछन्,’ न्यौपानेले भने, ‘म पनि त्यसै गरेर उद्यममा लागेको हुँ।’