माइक्रोसफ्टका प्रमुख सत्या नडेलाको वार्षिक तलब तीन करोड अमेरिकी डलरले बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
युनाइटेड सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा बुझाइएको प्रतिवेदन अनुसार उनको तलबमा यतिको वृद्धि देखिएको सिएनबिसीले उल्लेख गरेको छ।
उनले गत जुनसम्ममा पाएको एक वर्षको कुल तलब सात करोड ९१ लाख डलर छ। यो गत वर्षकोभन्दा चार करोड ८५ लाख डलर बराबरको हो।
नडेलाको आधारभूत तलब २५ लाख डलर भए पनि उनले सात करोड १२ लाख डलर बराबरको कम्पनीको सेयर (स्टक अवार्ड) पाएका हुन्। ५२ लाख डलर भने उनले नन् इक्विटी इन्सेन्टिभ प्लान कम्पेनसेसन बापत पाएका हुन्।
उनको आधारभूत तलबमा केही वर्षदेखि परिर्वतन नदेखिए पनि स्टक अवार्डमा ठूलो छलाङ देखिएको हो। उनले गत वर्ष तीन करोड ९२ लाख बराबरको कम्पनीको सेयर पाएका थिए।
उनले माइक्रोसफ्टका औसत कर्मचारीले पाउनेभन्दा चार सय आठ गुणा धेरै तलब तथा पारिश्रमिक पाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम आइजिएनले उल्लेख गरेका छ।
चिनियाँ साइबर आक्रमणको कारण उनको पारिश्रमिक केही घटाइएको बताइएको छ।
यस्तो कटौती नभएको भए उनले नन् इक्विटी इन्सेन्टिभ प्लान कम्पेनसेसन बापत ५२ लाख डलरको सट्टामा एक करोड ६ लाख डलर पाउने थिए।
नडेला माइक्रोसफ्टको तेस्रो प्रमुख कार्यकारी अधिकृत हुन्। सन् २०१४ देखि उनले कम्पनीको नेतृत्व गरिरहेका छन्।
माइक्रोसफ्टको आम्दानी करिब तीन गुणाले बढेर दुई खर्ब ४५ अर्ब डलर पुगेको युनाइटेड सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको खुद आम्दानी करिब चार गुणाले बढेर ८८ अर्ब डलर पुगेको छ।