नेपाल-भारत सीमा क्षेत्र रूपन्देहीको बेलहियामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आइसिपी) को निर्माण काम जम्मा ३० प्रतिशत पूरा भएको छ।
संघीय आयोजना कार्यान्वयन इकाई भैरहवाका प्रमुख धर्मेन्द्र पन्थीले आइसिपीको नेपालतर्फको निर्माणको काम ३० प्रतिशत पूरा भएको जानकारी दिएका हुन्।
सन् २००५ मा नेपाल र भारतका बीचमा आइसिपी निर्माणका लागि सहमति भए पनि जग्गा अधिग्रहण तथा हस्तान्तरणमा भारत तर्फबाट ढिलाइ हुँदा सहमति भएको १८ वर्षपछि गतवर्ष मात्रै निर्माण कार्य सुरू गरिएको थियो।
नेपालतर्फ गत वर्ष माघमा भारतीय निर्माण कम्पनीलाई जमिन हस्तान्तरण गरी निर्माण थालिएको थियो। भारततर्फ भने गत जेठमा जमिन हस्तान्तरण गरी निर्माण सुरू गरिएको हो।
निर्माण सुरू गरेको दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी भारतीय कम्पनी के.एस.एम. वसिर मोहम्मद एण्ड सन्स लखनउ र कन्सल्टेन्ट राइट्स कम्पनीले निर्माणको काम गरिरहेको छ।
नेपालतर्फ सुरू गरेको एक वर्षको अवधिमा गोदाम घर, कार्यालय र कर्मचारी आवासगृह गरी चारवटा भवन निर्माण भइरहेको पन्थीले जानकारी दिए।
सम्झौता अनुसार भारत सरकारको १ अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयाँ लगानी रहेको आइसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने हुन्छ। नेपाल-भारत सरकारबीच भएको सहमति अनुसार आयोजनाका लागि नेपालतर्फ आवश्यक पर्ने जमिन बाहेक प्राविधिकसहितको सम्पूर्ण निर्माण कार्य भारत सरकारले गरिरहेको छ।
नेपालतर्फ आइसिपी निर्माणका लागि १६ वर्षअघि नै ५२ बिघा जमिन अधिग्रहण गरिएको थियो। भारततर्फ भने पहिले तोकिएको स्थानमा बस्ती बाक्लो हुँदै गएपछि तोकिएको स्थानभन्दा केही पश्चिमतर्फ ५२ हेक्टर जमिन अधिग्रहण गरिएको हो।
नेपाल भारत दुबै देशले निर्माण कम्पनीलाई जमिन हस्तान्तरण गरेपछि गत जेठ १८ गते भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेर संयुक्त रूपमा आइसिपीको शिलान्यास गरेका थिए।
नेपालका मुख्य भन्सार नाकाहरू वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र विराटनगरमा आइसिपी निर्माणको लागि सम्झौता गरिएको थियो। वीरगञ्ज र विराटनगरमा भारतीय लगानीमा निर्माण गरी आइसिपी सञ्चालनमा आइसकेका छन् भने नेपालगञ्जमा पनि निर्माणको अन्तिम चरणमा छ।
भारतबाट नेपाल प्रवेश गर्न मालबाहक सवारीलाई एक हप्ता बढी लाग्ने र नेपाल प्रवेश गरेपछि पनि भन्सार बिन्दुमा दुई/तीन दिन लाग्ने समस्या छ। यही समस्या नहोस् भनी दुबै देशका अधिकारीहरूले आइसिपी निर्माणको लागि सहमति गरेका थिए।
नियमानुसार भारतमा सामान लोड भएको एक हप्ताभित्र मालबाहक गाडी नेपाल प्रवेश गरिसक्नुपर्ने हुन्छ। सीमा पार नगरे दैनिक भारतीय एक हजार रुपैयाँ बढी डिटेन्सन चार्ज र नेपाल आएर एक दिनमा भन्सार पास नभए सवारी लोडका आधारमा ३ सयदेखि एक हजार ६ सय रुपैयाँसम्म डेमरेज चार्ज तिर्नुपर्छ।
आइसिपी एकद्वार प्रणाली भएको र यसको निर्माणपछि भन्सारसम्बन्धी सम्पूर्ण सुविधा एकैठाउँमा उपलब्ध हुने भएकोले आयातकर्ताहरूलाई विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता हट्ने छ। त्यस्तै, मालबाहक गाडीलाई घण्टौंसम्म लाइन लागेर राख्नुपर्ने बाध्यता हट्दा अहिलेको पार्किङको समस्या समेत अन्त्य हुनेछ।
हाल डेढ सय सवारी पार्किङ गर्ने क्षमता रहेको बेलहिया भन्सार कार्यालयमा आइसिपी बनेपछि एक हजार गाडी पार्किङ गर्न सकिने छ।
यसैबीच, बुधबार निर्माणाधीन आइसिपीको अवलोकन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाल-भारत सीमा क्षेत्र रूपन्देहीको बेलहियामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आइसिपी) गुणस्तरीय बन्नुपर्नेमा जोड दिएका छन्। आइसिपी ढिलो गरी निर्माण सुरू गरिए पनि गुणस्तरीय र छिटोछरितो बन्नुपर्ने उनले बताए।
पौडेलले दुई देशबीचको व्यावसायिक कारोबार तथा व्यापारका लागि आइसिपी अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै आइसिपी निर्माण सकिएपछि भन्सार प्रणाली, व्यवसाय र प्रशासनिक संयन्त्रलाई पनि सहज हुने विश्वास व्यक्त गरे।
पौडेलले विगतमा आइसिपीका लागि निर्माण सामग्रीको समस्या देखिएको भए पनि अहिले समस्या समाधान भएको भन्दै आगामी दिनमा पनि कुनै समस्या देखिए समाधान गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरूआतमा निर्माण सामग्रीको उपलब्धता भएन भन्ने गुनासो आए पनि स्थानीय पालिकाहरूसँग छलफल र समन्वय गरेर समाधान गरिएको बताए। अर्यालले अब पनि निर्माण सामग्रीको अभाव हुन नदिने बताए।