दस-पन्ध्र वर्षअघिको कुरा गर्ने हो भने श्रीमान श्रीमती सँगै नभएका कारण ढिलो बच्चा जन्माउन परेको अवस्थामा उनीहरूलाई कठिन हुन्थ्यो। उमेर बढ्दै गएपछि मानिसको प्रजनन क्षमता पनि घट्दै जान्छ। विशेष गरी महिलाको हकमा यो अझै लागू हुन्छ।
किनकी महिलाका लागि उमेर ठूलो कुरा हो। उमेर बढ्दै जाँदा डिम्बाशयमा अण्डाको मात्रा घट्दै जान्छ।उमेर एउटा महत्वपूर्ण कारण हो जसले बाँझोपन हुन्छ।
३५-४० उमेर पुग्नासाथ अण्डाको मात्रा ५०-६० प्रतिशत घटेको हुन्छ जसकारण गर्भवती बन्न गाह्रो हुन्छ। तर अचेल यसको विकल्प आइसकेको छ। त्यो हो उमेर छँदै अण्डा झिकेर राख्नु।
अब कसैलाई ढिलो बच्चा जन्माउने इच्छा भयो भने उसले आफ्नो प्रजनन क्षमता संरक्षण गरेर राख्न सक्छ।अहिले हामीसँग 'फर्टिलिटी प्रिजर्भेसन टेक्निक' (अण्डा-वीर्य संरक्षण विधि) छ। यसको अर्थ हो, हामीले आफ्नो बच्चा जन्माउने क्षमता जोगाउन सक्छौं।
महिलाले आफ्नो अण्डा र पुरुषले आफ्नो वीर्य संरक्षण गर्न सक्छन्। यसलाई अस्पतालहरूको विशेष प्रकारको फ्रिजमा राखिन्छ। र, भोलि आवश्यक परेका बेला यसैबाट गर्भाधान गराउन सकिन्छ।
युवा अवस्थामा कसैलाई क्यान्सर समस्या देखियो भने किमोथेरापीका कारण पुरुषको वीर्य र महिलाको अण्डा कमजोर हुन्छ। यस्तो अवस्थामा अण्डा र वीर्य झिकेर फ्रिज गर्न सकिन्छ।
त्यस्तै कोही व्यक्ति आफ्नो व्यावसायिक करिअरका कारण ढिलो बच्चा जन्माउन चाहन्छ। तर उसलाई पछि समस्या हुनसक्छ। यस्तो अवस्थामा पनि महिला-पुरुष दुवैमा बाँझोपन देखिन सक्छ। फर्टिलीटी प्रिजर्भेसनले यो समस्या समाधान गर्न सकिन्छ।
उदाहरणका लागि कोही महिलालाई स्तन क्यान्सरको समस्या छ। उनलाई किमो थेरापी दिनुपर्छ। त्यस्तो अवस्थामा बिरामीको अण्डा निकालेर फ्रिज गर्न सकिन्छ। यसरी निकालिएको अण्डा र वीर्य जति वर्षसम्म पनि फ्रिज गर्न सकिन्छ। यसको आयु मानिसको आयुभन्दा धेरै हुन्छ।
यसले संसारमा प्रजनन स्वास्थ्यको क्षेत्रमा यसले क्रान्ति ल्याइसकेको छ। पहिले पहिले क्यान्सरका कारण अब बच्चा हुन सक्दैन, उमेर गइसक्यो भन्ने जस्ता समस्या सुनिन्थे। अब त्यसको समाधान निस्किसकेको छ।
यसको नतिजा शतप्रतिशत ग्यारेन्टी नभए पनि सफल हुने चाहिँ राम्रो तरिकाले हुन्छ।
विदेशमा यसको सुरुवात धेरै वर्षअघिदेखि भइरहेको छ। विगत ६ वर्षयता भने अझै राम्रो नतिजा आइरहेको छ।
नेपालमा पनि यस्तो अभ्यास भइरहेको छ। मैले पनि केही वर्षदेखि यो गर्दै आएकी छु र सफलता दर झन्डै ७५ प्रतिशत छ।
(टेस्टट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा. नुतन शर्मा नर्भिक र अल्का अस्पतालमा कार्यरत छिन्।)