अमेरिकी टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले ल्यापटप र स्मार्टफोन ‘अनलक’ गर्ने तरिका परिवर्तन गर्न लागेको छ।
टेक हिन्दुस्तानका अनुसार माइक्रोसफ्टले आफ्ना उपकरणमा पासवर्डको सुविधा हटाउन लागेको हो।
हालै सार्वजनिक गरेको ब्लग पोष्ट मार्फत कम्पनीले पासवर्ड टाइप गर्ने चलन २०२१ सम्म परिवर्तन गरिसक्ने बताएको छ।
बढ्दै गएको साइबर हमलाको कारण यो कदम चाल्नु पर्ने माइक्रोसफ्टको भनाइ छ।
कम्पनीका अनुसार ८० प्रतिशत साइबर हमला प्रयोगकर्ताका पासवर्डलाई लक्षित पारेर गरिन्छ र हरेक दिन २५० वटा अकाउन्टहरु ह्याक हुने गर्छ। त्यसैले कम्पनीले आफ्ना उपकरणमा पासवर्ड बनाउने सुविधा नै हटाउन निर्णय गरेको हो।
‘पासवर्ड प्रयोग गर्न यसैपनि समस्या हुन्छ र यसले प्रयोगकर्ताको अनलाइन सुरक्षामा पनि उत्तिकै जोखिम बढाउछ,’ कम्पनीले आफ्नो ब्लग पोष्टमा लेखेको छ।
पासवर्ड बनाउने चलन परिवर्तन गर्नको लागि कम्पनीले गत वर्ष ‘विन्डोज हेलो’ ल्याएको थियो। जसबाट प्रयोगकर्ताले बिना पासवर्ड, फिंगर प्रिन्ट स्क्यानर वा वेबक्याम प्रयोग गरि सिधैँ ‘विन्डोज–१०’ साइन इन गर्न सक्छन्।
माइक्रोसफ्टका अनुसार २०२० को मे सम्म विन्डोज हेलो प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १५ करोड पुगेको थियो। यस वर्ष भने प्रयोगकर्ताको संख्या १५.३ प्रतिशतले बढेको छ।
२०२१ सम्म भने कम्पनीले पासवर्ड प्रयोग गर्ने चलन पुर्ण रुपमा हटाउने विश्वास गरेको छ।
यसको लागि कम्पनीले ‘कन्भर्जड रेजिस्ट्रेसन पोर्टल’ ल्याउने तयारी गरिरहेको टेक हिन्दुस्तानले बताएको छ। यो पोर्टलबाट प्रयोगकर्ताले निर्धक सँग बिना पासवर्ड उपकरण चलाउन सक्ने छन्।
एप्पलको ‘टच आइडी’ जस्तै सुविधा सार्वजनिक गरेर माइक्रोसफ्टले पासवर्ड प्रयोग गर्नु पर्ने चलन हटाउन खोजेको छ।
तर, एउटा कम्पनीले सबै प्रयोगकर्ताको लगइन प्रबन्ध गर्ने कुरामा विश्वास गर्ने वा नगर्नेमा कयौँको चासो बनिरहेको टेक हिन्दुस्तानको भनाइ छ।