इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारको हवाई टिकटमा प्रतिव्यक्ति ७३ हजार रूपैयाँ जोगिन थालेको वैदेशिक रोजगार विभागले जनाएको छ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले इपिएस प्रणालीमार्फत कोरिया जाने कामदार ट्रान्जिटमार्फत जाने पाउने व्यवस्था भएसँगै प्रतिकामदार ७३ हजार रूपैयाँले हवाई भाडा सस्तिएको बताए।
यसअघि सिधा उडानको माध्यमबाट मात्रै कोरिया जान पाउने व्यवस्था थियो। हाल ट्रान्जिटमार्फत पनि जान पाउने व्यवस्था गरिएको छ।
'कोरिया सरकारलाई सहमत गराई हाल प्रतिकामदार ४८ हजार ८६५ रूपैयाँमा टिकट पाउने व्यवस्था गराइएको छ,' विभागका महानिर्देशक खत्रीले भने।
यसअघि टिकट शुल्क प्रतिकामदार एक लाख २१ हजार बढी तिर्नुपर्थ्याे।
'म आइसकेपछि एचआरडी कोरियासँग पहिलो प्रस्ताव कामदारले सकेसम्म आफैं टिकट लिन पाउने व्यवस्था गरौं भनेर राखेको थिएँ। कामदारले लिँदा जति सस्तोमा पाइन्छ त्यो हेरेर किन्न पाउँदा सहज हुने थियो। यसमा कोरिया सहमत भएन। ट्रान्जिट उडानका लागि टेन्डर गरियो,' उनले भने।
सीधा उडानमा कोरियन एयरलाइन्सको एकाधिकार थियो। जसले गर्दा कामदारहरू चर्को शुल्क तिरेर कोरिया गइरहेका थिए। नयाँ टेन्डरपछि टिकट सस्तिएको हो।
यो व्यवस्था गएको माग ३ गतेदेखि लागु भएको हो।
वर्षमा करिब १५ हजार कामदार कोरिया जाने गरेको र अबका वर्षमा कामदारको एक अर्बभन्दा बढी रकम जोगिने महानिर्देशक खत्रीको भनाइ छ।