वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय थालेका युवाहरूले व्यवसाय विस्तारका लागि पुँजी अभाव भएको गुनासो गरेका छन्।
बिहीबार मानव अधिकार आयोगको सभाहलमा आयोजित एक कार्यक्रममा उनीहरूले पुँजी अभावमा आफूले थालेको व्यवसाय निल्नु न ओकल्नुको अवस्थामा पुगेको गुनासो पोखे।
साउदी अरबमा लेवर काम गरेर फर्केका विनोद मंग्रातीले पुँजी अभावमा सटर लिएर चलाइरहेको मोबाइल मर्मत सेन्टर घरमै पुर्याएको बताए।
'ऋण खोजेर पसल खोलेको थिएँ। लकडाउनपछि थला परियो। त्यसपछि पसल चलाउन सकेको छैन। अहिले घरबाटै अलिअलि मर्मतको काम गर्छु,' उनले भने।
साउदीमा काम गर्ने क्रममा दुर्घटनामा परी उनी अंगभंग भएर फर्किएका हुन्। उनी जसोतसो चारपांग्रे स्कुटरबाट पठाओ चलाएर जीविका चलाइरहेका छन्। केही सहुलियत ब्याजमा ऋण पाए पुरानै व्यवसायलाई विस्तार गर्ने उनको सोच छ। तर पुँजी अभावमा आफूले थालेको व्यवसाय पनि चलाउन नसकेको उनले बताए।
लेबनानमा १० वर्ष घरेलु काम गरेर फर्केकी सुजना रानाको समस्या पनि उस्तै छ। उनले पनि अहिले सानो रेस्टुरेन्ट चलाइरहेकी छन्।
'त्यहाँ १० वर्ष खाना पकाउँदा जानेको सीप यहाँ प्रयोग गरौं न त भन्ने सोचेर काम थालियो। तर फाइनान्सियल सपोर्ट कतैबाट छैन,' उनले भनिन्।
मलेसियाबाट फर्केर काठमाडौंमै कृषि गरिरहेका वीरमान पनि सरकारले सहुलियत ऋण दिनुपर्ने बताउँछन्।
'जग्गा जमिनको भाडा महँगो छ। उत्पादन कम छ। कृषि थालियो राम्रोसँग गर्न पुँजी छैन। ऋण बैंकले पत्याउँदैन। सहकारीबाट चर्को ब्याजमा लिनु परेको छ,' उनले गुनासो गरे।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुक बनाउने भनेको वैदेशिक रोजगारीबाट फर्केर आएका युवा नै भएको बताए।
'उहाँहरूले २२ घण्टा काम गर्ने शक्ति र लगनशीलता लिएर आउनु भएको हुन्छ। जुन हाम्रा लागि निकै महत्वपूर्ण छ,' उनले भने।
सरकारले वैदेशिक रोजगारीबाट फर्केर आएका युवाको पुनस्थापनाका लागि काम गरिरहेको उनले बताए।