अब वैदेशिक रोजगारीमा जाने युवाहरूले बिना धितो ऋण पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने भएको हो।
सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको उल्लेख छ।
सरकारले नयाँ र बढी आय हुने श्रम गन्तव्य मुलुकहरूमा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति र विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमबाट ल्याउन प्रोत्साहन गरेको मौद्रिक नीतिमा उल्लेख छ।
सोही प्रोत्साहनकै कारण आर्थिक वर्ष २०८०/८१ को १० महिनासम्म विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकले जनाएको छ।
यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा १९.३ प्रतिशत र अमेरिकी डलरमा १७.३ प्रतिशतले वृद्धि भएको छ।
वैदेशिक रोजगारीमा जानेको संख्या अझै उच्च नै रहेकोले आर्थिक वर्ष २०८१/८२ मा पनि विप्रेषण आप्रवाह सामान्य रहने आकलन राष्ट्र बैंकको छ।