श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गर्ने बताएका छन्।
शुक्रबार निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको 'युवा सीप तालिम तथा रोजगार मेला' को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह पनि गरेका छन्।
वैदेशिक रोजगारीमा जाने होस् वा आन्तरिक रोजगारीमा रहने श्रमिकका लागि सीप अपरिहार्य रहेको मन्त्री अर्यालले बताए।
'सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ। सम्भावित दुर्घटनाबाट बच्न सक्छ। बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपनाहरू पूरा गर्न सक्छ,' उनले भने, 'त्यसैले सीपमूलक कार्यक्रममा ठूलो लगानी गर्नु पर्नेछ।'
उनले श्रम मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवर्द्धन र व्यवस्थित गर्न मन्त्रालयले रोजगार बैंकको बृहत् अवधारणालाई अघि सारेको बताए।
बैंकमा वैदेशिक रोजगारीबाट फर्केका सबै श्रमिकको तथ्यांक संकलन गरिनेछ।
'विदेशबाट फर्केका श्रमिक तथा उनीहरूको सीपको बारेमा तथ्यांक राखिनेछ। भारतबाट फर्केका श्रमिकको पनि तथ्यांक राखिनेछ। तथ्यांकअनुसार नै आन्तरिक रोजगारीको रणनीति तयार गर्नेछौं,' उनले भने।
कार्यक्रममा मन्त्री अर्यालले निलकण्ठ नगरपालिकाले आयोजना गरेको रोजगार मेलाले संविधानले व्यवस्था गरेको संघीयताको बल्ल उचित कार्यान्वयन भएको समेत बताए।
'नगरपालिकाले मेला आयोजना गर्दा गौरव लागेको छ। मेलाले संविधानले परिकल्पना गरेको उद्देश्य प्राप्त भएको सुखद सन्देश दिएको छ,' उनले भने।
मेलामा विभिन्न रोजगारदाता तथा सरकारी निकायको सहभागिता छ।