राइड सेयर कम्पनी पठाओले राइडरको विभिन्न मागहरु पूरा गर्न थालेको छ।
राइडरको एक समुहले केही समय अगाडि राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड सेयरिङ बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, सस्पेन्ड रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायत माग राखेका थिए।
यी मध्य जायज मागहरु पुरा गरेको र केही प्रकृयामा रहेको पठाओका क्षेत्रिय निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिए।
‘हामीले राइडरको र यात्रुको सामुहिक बीमा गरिसक्यौ। यात्रु वा चालकको मृत्यु वा अपाङ्गता भएमा बढीमा ५ लाख सम्मको पठाओको एप मार्फत सेवा दिने र लिनेको लागि १ लाखसम्मको दुर्घटना उपचार बीमा गरिएको छ,’ उनले भने।
टोल फ्रीको लागि नेपाल टेलिकममा आवेदन दिइसकेको र एनसेलसगँ पनि कुरा भइरहेको उनले जानकारी दिए।
‘उहाँहरुको अर्को माग ‘बडी प्रोटेक्टिभ’ गियर अनिवार्य नगर्न भन्ने पनि हामी डिसिसिएमसी सगँ कुरा गरिरहेका छौं, त्यसपछि ‘बिपिजी सस्पेन्ड’ भन्ने कुरा रहँदैन,’ बस्न्यातले भने।
राइडरले पनि राइड क्यान्सिल गर्न नियम पहिल्यैदेखि रहेको तर यात्रा गरेर गन्तव्यमा पुग्ने बेलामा क्यान्सिल गर्न नमिल्ने उनले स्पष्ट पारे।
‘निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने भन्ने मागको हकमा उहाँहरुले सोध्नुभयो भने कम्प्लेन गरेको प्यासेन्जरको परिचय नखुलाई यो गल्ती गर्नुभयो भनेर भन्छौँ। प्यासेन्जरलाई दुव्र्यवहार नै गरेको छ भने त्यो जानकारी सिधैँ प्रहरीलाई जानकारी हुने व्यवस्था गर्दैछौं,’ बस्न्यातले भने।
कमिसनको विषयमा भने वास्तविकता भन्दा भ्रम धेरै भएको उनले बताए। पठाओले आफ्नो एपमार्फत राइड दिएबापत राइडरसँग २० प्रतिशत कमिसन लिन्छ भन्ने सामान्य मान्यता छ।
‘पहिलो कुरा त विश्व बजारमा राइड सेयरमा २५ देखि ३० प्रतिशत कमिसन राख्ने चलन भए पनि पठाओले २० प्रतिशत राखेको हुनाले यो पनि सस्तो नै हो,’ उनले भने ‘हामीले अहिले ३ देखि ५ प्रतिशतसम्म बोनस छुट दिइरहेका छौ। त्यस्तै जति धेरै राइड लियो त्यही अनुसार कम्पनीले कमिशन घटाउँदै लान्छ।’
न्यून राइड सेयर गर्ने राइडरको मात्रै २० प्रतिशत कमिसन काटिने उनले प्रष्ट पारे।
कम्पनीको खर्च धेरै हुने भएकोले पनि केही कमिसन राख्न परेको उनले बताए।
‘हाम्रो सर्भर, गुगल नेभिगेसन, प्रविधी, बीमा, राइडर बोनस, ग्राहक छुट लगायत थुप्रै खर्च छ,’ उनले भने।
आफ्नो माग सम्बोधन नभएको भन्दै गत गत पुस १३ गते राइडरको एक समूहले पठाओ कार्यालयमा तोडफोड गरेका थिए। यसपछि पठाओले गरेको किटानी जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।
सोही दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले राइडरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। असन्तुष्ट राइडरहरूले केहीसमय अगाडि पठाओ कम्पनीमा मागपत्र पेस गरेका थिए।
गत पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म पनि नआएको भन्दै सामूहिक रूपमै पठाओ त्यागको घोषणा गरेर कम्पनीमाथि ढुंगामुढा र तोडफोड गरेका थिए।
पठाओले भने १३ गते बिहान १० बजे आफ्नो तर्फबाट स्पष्टीकरण दिएको थियो।
पक्राउ परेका राइडरहरुलाई पुस २० गते जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।