योग्यताअनुसार अन द स्पट जागिर दिने मेला बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको छ।
विभिन्न कम्पनीका लागि मानव संशाधनको काम गर्दै आएको संस्था एस्पायर नेपालको आयोजनामा राजधानीको सोल्टी होटलमा सञ्चालन हुन लागेको नेपाल जब फेयर २०२१ मा रोजगारदाताले बेरोजगारहरुको योग्यता र क्षमता हेरी अन द स्पट रोजगारी अफर गर्नेछन् ।
कम्पनीका अनुसार रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तरक्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा सुरु हुन लागेको हो ।
एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलोपटक हुन लागेको नेपाल जब फेयर तीन दिनसम्म सञ्चालन हुनेछ र यसमा रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तरक्रिया हुनेछ ।
आयोजकका अनुसार जब फेयरमा एक सयभन्दा बढी रोजगारदाता सहभागी हुनेछन् भने १५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन गरिनेछ । जसबाट ३००० भन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ । यस्तै, १० हजारभन्दा बढीको भौतिक तथा भर्चुअल सहभागिता रहने जब फेयरमा १ लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता जनाउनेछन् ।
जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यासको सूत्रपात गर्ने लक्ष्य लिएको जनाएको छ । जब फेयर मार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने विश्वास लिइएको छ ।
जब फेयरको उदघाटन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने तथा कि नोट स्पिकरका रुपमा अर्थशास्त्री हरि रोका र रोजगार विज्ञ प्रा. डा. रमेशप्रसाद कोइराला र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ रहने जनाइएको छ ।