कोरोना महामारीको संकटका बेला नोबेल शिक्षण अस्पतालले कर्मचारीहरूलाई दसैं खर्चवापत १ करोड २६ लाख रकम वितरण गरेको छ।
नोबेलले ९८० जना कर्मचारीलाई दसैं बोनसवापत सो रकम बिहीबार वितरण गरेको हो।
प्रत्यक्ष रुपमा काम गर्ने कर्मचारी र अन्य संस्थामार्फत कार्यरत् सुरक्षागार्ड, सरसफाइ मजदुरलाई सो बराबरको रकम बोनसस्वरुप दिइएको नोबेलका प्रवन्धक नारायण दाहालले बताए। बोनसवापतको रकम सम्बन्धित व्यक्तिको खातामा पठाइएको दाहालले बताए।
नोबेलमा करिब १६ सय कर्मचारी कार्यरत छन्। त्यहाँ काम गर्ने कर्मचारीले प्रतिव्यक्ति न्यूनतम् ८ हजार ४ सय ५५ देखि अधिकतम् ४० हजार रुपैयाँसम्म बोनस पाएको दाहालले बताए।
कोरोनाको महामारीका कारण अन्य क्षेत्रजस्तै प्रभावित भए पनि संकटका बेला दसैंमा कर्मचारीलाई राहतस्वरुप बोनस वितरण गरिएको दाहालले बताए।
कर्मचारीको तलबमा मात्रै नोबेलले मासिक करिब ७ करोड रकम खर्चिंदै आएको छ। ‘हामी हरेक वर्ष कर्मचारीलाई दसैंमा बोनस दिँदै आएका छौं, यस वर्ष कोरोना महामारीको बीचमा पनि बोनस दियौं,’ दाहालले भने।
नोबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वको पहिलो मेडिकल कलेज हो।