मंसिर महिनामा राजस्व संकलनमा उल्लेख्य कमी आएको छ।
चालु आर्थिक वर्षमा कुनै पनि महिनामा राजस्व नघटेकोमा मंसिर महिनामा ११ प्रतिशतले कम संकलन भएको छ। यो गत वर्षको मंसिर महिनासँग तुलना गरिएको हो।
आन्तरिक राजस्व विभाग र भन्सार विभागको तथ्यांक अनुसार मंसिर महिनामा समग्र राजस्व ७६ अर्ब रूपैयाँ संकलन भएको छ। जबकि गत वर्ष मंसिर महिनामा ८६ अर्ब रूपैयाँ संकलन भएको थियो।
गत वर्षकै यिनै महिनासँग तुलना गर्दा साउनमा २०, भदौमा १३, असोजमा ५ र कात्तिकमा ३० प्रतिशतले राजस्व बढेको थियो। तर मंसिर महिनामा भने ११ प्रतिशतले घटेको छ।
योसँगै कात्तिक मसान्तसम्म समग्र रूपमा १७ प्रतिशतले बढेको राजस्व मंसिर मसान्तसम्म आइपुग्दा १० प्रतिशतले मात्रै बढी छ।
मंसिर महिनामा मुख्य रूपमा आयकरमा आएको कमीको कारण गर्दा यति धेरै राजस्व गिरावट देखिएको छ। आन्तरिक राजस्व विभागका अधिकारीहरू भने यो स्वाभाविक भएको प्रतिक्रिया दिन्छन्।
गत वर्ष मंसिर महिनामा औसत भन्दा उल्लेख्य राजस्व संकलन भएको कारण यो वर्ष कम देखिएको उनीहरूको तर्क छ।
२०८० को मंसिर महिनामा ४७ प्रतिशतले राजस्व बढेको थियो। गत वर्ष मंसिरमा किन बढ्यो र अहिले किन घट्यो त?
यसको प्रमुख कारण विगतमा विवादमा रहेको करको सेटलमेन्ट योजना थियो।
आर्थिक ऐन २०८० मा गरिएको व्यवस्थाअनुसार हिजो उठ्न नसकेको कर प्रणालीमा ल्याउने तर समयमै नबुझाएको कारण करदातालाई लाग्ने अतिरिक्त भार छुट दिने नीति लिइएको थियो।
सबैभन्दा बढी अन्योलमा रहेको एफपिओको लाभमा लाग्ने कर र संस्थाहरू मर्जर तथा प्राप्तिबाट हुने लाभमा भएको करको कारण तिर्नुपर्ने पुँजीगत करको करदाताले सेटलमेन्ट गरेका थिए।
यस कारणले मात्रै १६ अर्ब राजस्व संकलन भएको थियो। यो गत वर्षको आर्थिक क्रियाकलापमा आधारित नभएर विगतका वर्षहरूको आर्थिक क्रियाकलापमा आधारित राजस्व थियो। यही कारणले गर्दा गत वर्ष मंसिरमा धेरै राजस्व संकलन भएको थियो।
'कात्तिकमा पनि ३० प्रतिशतले राजस्व बढेको कारण ८४/८५ अर्ब रूपैयाँ राजस्व संकलन हुने अनुमान हाम्रो थियो, अपेक्षाकृत रूपमा संकलन भएन। तर गत वर्षको मंसिरसँग तुलनामा गरेर आर्थिक क्रियाकलाप नै निकै सुस्त भयो कि भनेर शंका गर्नुपर्ने होइन,' अर्थमन्त्रालयका एक अधिकारीले भने।
महिनागत राजस्वमा मंसिर महिनामा आयकर मात्रै ४५ प्रतिशत र ब्याजकर ३४ प्रतिशतले कमी आएको छ। आयकर नै यति धेरै घटे पनि मंसिरमा संकलन हुने आन्तरिक राजस्व १८ प्रतिशतले कम भएको छ। तर, भन्सार राजस्वमा सुधार भएको कारण ११ प्रतिशतको मात्रै कमी देखिएको हो।
पाँच महिनाको अवधिमा भने गत वर्षसँग तुलना गर्दा १० प्रतिशले राजस्व वृद्धिदर देखिन्छ। २०८१ साउनदेखि मंसिर महिनासम्म करिब चार खर्ब रूपैयाँको राजस्व संकलन भएको छ।
जसमध्ये आयकर ६२ अर्ब ७० करोड संकलन भएको छ। यो गत वर्षको भन्दा ४ प्रतिशतले कम हो।
आन्तरिक भ्याट ५२ अर्ब ८२ करोड संकलन भएको छ। यो गत वर्षको भन्दा १७ प्रतिशतले बढी हो। आन्तरिक अन्तशुल्क ४७ अर्ब ३२ करोड संकलन भएको छ। यो अघिल्लो वर्षको तुलनामा २३ प्रतिशले बढी हो।
करिब एक खर्बको राजस्व 'ग्याप'
चालु आर्थिक वर्षको मंसिर महिनासम्म सरकारले राखेको लक्ष्यभन्दा करिब एक खर्ब रूपैयाँ कम राजस्व संकलन भएको छ। अर्थमन्त्रालयले मंसिर मसान्तसम्म ४ खर्ब ९५ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर, यो अवधिसम्म करिब चार खर्ब रूपैयाँ मात्रै राजस्व संकलन भएको छ।
सबैभन्दा ठूलो ग्याप आयकरमा नै देखिएको छ। सरकारले मंसिर मसान्तसम्म ७८ अर्ब ३८ करोड आयकर संकलन गर्ने लक्ष्य राखेको थियो। तर, लक्ष्यको ७८ प्रतिशत मात्रै संकलन भएको छ। अन्तशुल्क करिब लक्ष्य अनुसार नै संकलन भए पनि अन्य करहरू अपेक्षित उठ्न सकेका छैनन्।
सरकारले चालु वर्षमा पनि ३८ प्रतिशत राजस्व संकलन बढाउने लक्ष्य निर्धारण गरेको थियो। विगतका कुनै पनि आर्थिक वर्षमा ३८ प्रतिशतले राजस्व संकलन बढ्न सकेको छैन।
याे पनि हेर्नुस्:
विगतको लाभ र प्रोत्साहनका कार्यक्रमले मंसिरमा ४८ प्रतिशतले बढ्यो राजस्व