पूर्वी पहाडी जिल्ला खोटाङमा 'रावाको माछा, सावाको भात, आँपचौरको दही, मजुवाको पात' भन्ने कहावत प्रचलित छ।
स्थानीय रावा खोलाको माछा औधी मीठो मानिन्छ।
भदौ महिनाको एक दिन खोटाङकी विष्णुकला राई ललितपुरको 'फिर्के भान्छाघर' मा रावा खोलाको माछासँगै किराँती परिकारले सत्कार गर्न पाहुना बोलाउने मेलोमेसो गर्दै थिइन्। सामाजिक सञ्जालमार्फत पाहुना डाक्न भिडिओ तयार हुँदै थियो।
हँसिलो मुहारमा उनले भनिन्, 'रावाको जस्तो मीठो माछा अन्तको हुँदैन। यस्तो मीठो माछा चखाउन धेरै पाहुना डाक्नुपर्यो नि!'
फिर्के भान्छाघर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालनजिकै छ। यहाँ सधैं रावाको माछा पाइने होइन। त्यति टाढाबाट नियमित रूपमा उपलब्ध हुँदैन। बेलामौकामा आउने हो। विष्णुकलाका अनुसार यस्तो मौकामा पाहुनाहरू बोलाएर खुवाउने गरिएको छ।
सिस्नोको सुप बनाउँदा बाँस वा काठको फिर्केले चलाइन्छ। त्यही साधनसँग जोडेर 'फिर्के भान्छाघर' नाम रोजिएको हो।
यो ठाउँ बाहिरबाट झट्ट हेर्दा सामान्य छ। ढोका उघारेर भित्र पसेपछि भित्तामा फिर्के, डोको, हलो, जुवा, चम्मर जस्ता परम्परागत सामग्रीले आगन्तुकको ध्यानाकर्षण गर्छन्।
यहाँको विशेषता परम्परागत किराँती परिकार नै हो। भान्छामा सिस्नोका परिकार, कोदो र फापरको ढिँडो, रोटी, मकैको च्याँख्लाको थेप्ला, लोकल कुखुराको मासु, भुत्लासहिताको कुखुरा पोलेर बनाएको वाचिपा, धराने बंगुरको किनिमा, गुन्द्रुक–भटमास र लसुनको अचार, कागुनोको खिर लगायत पाइन्छ।
'म किराँत राई भएकाले किराँती खानासँग नजिक छु। सिस्नो, मकैको भात, किनिमा हाम्रो विशेष खाना हो। हाम्रा परिकारहरू स्वास्थ्यका लागि लाभदायक छन्,' विष्णुकलाले भनिन्।
फिर्के भान्छाघरले सिस्नो र फापरको नुडल्स र कुकिज खुवाउँछ। कोदो र जौको कुकिज पाइन्छ जुन राष्ट्रिय आविष्कार केन्द्रको खाद्य विभागले बनाएको हो।
पेय पदार्थमा कोदोको लोकल (स्थानीय) रक्सी, सरूवा र जाँड पाइन्छ। मोही यहाँको अर्को पेय हो। यी सबै फिर्के भान्छाघरले बनाउँछ। त्यस्तै राष्ट्रिय आविष्कार केन्द्रको खाद्य विभागकै उत्पादन अर्गानिक चिया र चिनीबाट तयार पारिएको कम्बुचा पनि छ।
सरकारले लोकल रक्सीलाई मान्यता नदिएको विष्णुकलाको गुनासो छ।
'विदेशी रक्सी चाहिँ ब्रान्ड भन्दै महँगो पैसा तिरेर खान्छौं। स्वदेशीलाई चाहिँ बेवास्ता। म त हाम्रो परम्परागत रक्सीलाई सरकारले मान्यता दिनुपर्छ भन्छु,' उनले भनिन्।
नयाँ पुस्ताले परम्परागत परिकार बिर्सिँदै गएको उनलाई लाग्छ। परम्परागत सीप बचाउँदै व्यवसाय गर्नु आफ्नो उद्देश्य भएको उनले बताइन्।
'हाम्रा छोराछोरीलाई कोदो कहाँ फल्छ भन्ने थाहा हुन छाड्यो। ढिँडो थाहा छैन, न मकैको च्याँख्ला थाहा छ,' उनले भनिन्, 'नयाँ पुस्तालाई परम्परागत किराँती परिकार र संस्कृति सिकाउन सकियोस् भन्ने मेरो उद्देश्य हो।'
किराँती परिकारसँगै देशका विभिन्न क्षेत्रका रैथाने खाद्यवस्तु र परिकारको व्यवसायीकरण गर्ने उनको योजना छ। धेरै काम एकैपटक गर्न नसकिने भएकाले किराँती परिकारबाट सुरू गरेकी हुन्।
विष्णुकला धेरै जसो परिकार आफैं बनाउँछिन्। उनी पहिले सेलरोटी बनाएर काठमाडौंका अनेक सुपरस्टोरहरूमा पुर्याउँथिन्। कपन र धुम्बाराहीमा सेलरोटी बनाउने कारखाना चलाएकी थिइन् जहाँ २२ जना काम गर्थे।
उनका अनुसार त्यसबाट महिनामा तीन–चार लाख रूपैयाँ आम्दानी हुन्थ्यो। चाडवाडको समयमा धेरै र अरू बेला पनि व्यापार राम्रो हुन्थ्यो। २०७२ सालमा भारतले नाकाबन्दी गरेपछि ग्यास, चिनी लगायत सामान पाइएन। तेलको भाउ दोब्बर भयो। उनले एक सिलिन्डर ग्यासका लागि पाँच हजार रूपैयाँसम्म तिरिन्। व्यापारमा टिक्ने प्रयास गरिरहिन् तर पार लागेन। सात वर्ष चलाएको सेलरोटी व्यवसाय बन्द भयो।
उनी सेलरोटी व्यवसायमै फर्किन चाहन्थिन्। यही मेसोमा थोरै लगानी र थोरै समयमा सेलरोटी बनाउने प्रविधि विकासको आग्रह गर्न राष्ट्रिय आविष्कार केन्द्र पुगिन्।
केन्द्रका प्रवर्द्धक महावीर पुनले सेलरोटीको नमूना हेरे।
'मेरो सबै कुरा सुनेपछि उहाँले प्रविधिबारे अनुसन्धान अघि बढाउनुभयो। यसमा केन्द्रले निकै मेहनत गरेको छ तर प्रविधि आइसकेको छैन,' विष्णुकलाले भनिन्।
त्यही बेला महावीरले विष्णुकलालाई आविष्कार केन्द्रको खाद्य विभागमा काम गर्न आग्रह गरे। उनले काम थालिन्। सुरूमा सातु बनाइन्, त्यसपछि अदुवाको क्यान्डी। काममा साथीहरू पनि थपिए। खाद्य प्राविधिकको सहयोग पनि लिए। बजारको माग अध्ययन गरे।
'जंकफुडले ओगटेको बजारमा मान्छेहरूले अर्गानिक खानेकुरा खोजेको पाइयो। बजारले ग्लुटिन नभएको नुडल्स र मैदारहित खानेकुरा, जौ र चनाको सातु, अमला क्यान्डीको माग धेरै रहेछ,' उनले भनिन्।
यो अध्ययनपछि केन्द्रको खाद्य विभागले जौको सातु, फापर र सिस्नोको कुकिज, नुडल्स, आलसको छोप र अमलाको क्यान्डी बनायो। यी खाद्यको व्यापार राम्रो भयो।
तर आविष्कार केन्द्रमा बनेका अर्गानिक र स्वस्थकर खाद्यवस्तु खाजाका रूपमा मात्रै खाइने खालका भए। यस्ता खानेकुरा दैनिक खानुपर्छ भन्ने पनि भएन। विष्णुकलाले दैनिक खाइने खानामा कुनै काम सुरू गर्ने सोचिन्। त्यही सोचले किराँती परिकारको योजना बन्यो।
यसअघि उनले स्कुले विद्यार्थीहरूका लागि खाजाको परिकार पनि सोचेकी थिइन्। उनको टिमले यसबारे अध्ययन पनि सुरू गरेको थियो। तर कोरोना भाइरस संक्रमण फैलिएर काम हुन पाएन।
कोरोना फैलिएपछि विष्णुकलाले आविष्कार केन्द्रमै किराँती परिकार बनाएर होम डेलिभरी गर्ने सोचिन्। किराँती परिकारको सेट पनि तयार भयो।
एक दिन झिसमिसेमै फोन गरेर कसैले सोधे– ढिँडो खान पाइने ठाउँ कहाँ हो?
विष्णुकलाको आँखा राम्ररी खुलेकै थिएनन्। उनी अचम्म परिन्। बाहिर कसैलाई भनेको छैन, यस्तो फोन कसरी आयो!
'म त सपनामा छु कि विपनामा जस्तो भएँ। तयारी हुँदैछ भनेर फोन राखेँ,' उनले भनिन्, 'केही बेरमा उही फोन आयो। कसरी थाहा पाउनुभयो भनेर सोधेको त महावीर पुनले ढिँडो र लोकल कुखुराको मासु खान पाइन्छ भनेर मेरो नम्बर लेखेर फेसबुकमा राख्नुभएको रहेछ।'
उनले तुरून्तै महावीरलाई फोन गरिन्। केही तयारी नै नगरी किन प्रचार गरेको भनेर गुनासो गरिन्। उनले त सजिलै अब तयारी गर न भनिदिए।
त्यो समय आविष्कार केन्द्रमा लोकल कुखुरा टन्नै थिए। तिनै कुखुरा काटेर ढिँडोसँग खुवाउने कुरा भयो। विष्णुकलाले घरैबाट भाँडाकुँडा लगिन्। खाद्य विभागको टिमले काम सघायो।
पहिलो दिन नै लोकल कुखुरा र ढिँडो खान ४५ जना पुगे। टिमलाई आपत पर्यो।
'कसैलाई के पुगेन, कसैलाई के। बस्ने ठाउँ पनि व्यवस्थित भएन। गोलमाल भयो,' उनले भनिन्, 'त्यस्तैमा पनि धेरैले खाना रूचाए। सबैले मिठो भयो भने।'
उनीहरूले त्यस दिन ७ घन्टा काम गरे। आर्थिक रूपमा नाफा-नोक्सान केही भएन। तर एक दिनमै राम्रो प्रचार भएर ग्राहकको आधार तयार भयो। विष्णुकला पनि हौसला बढ्यो।
त्यसपछि आविष्कार केन्द्रमा महिनाको एकपटक ३५० रूपैयाँमा लोकल कुखुरासहित किराँती परिकारको सेट खुवाउन थालियो। ग्राहककै आग्रहअनुसार १५ दिनमा एकपटक हुँदै हरेक शनिबार परिकार पाक्न थाल्यो।
केही ग्राहकले विष्णुकलालाई रेस्टुरेन्ट चलाउन सुझाव दिए। लगानी गरिदिन इच्छुक पनि देखिए। उनलाई किराँती परिकारका नियमित ग्राहक बनेका पोखराका राजु श्रेष्ठ र काठमाडौंका रोहित तण्डुकार,श्रीगणेश प्रधानको प्रस्ताव मनपर्यो।
तीन जना युवाहरू; राजु, रोहित र श्रीगणेशको लगानी र सञ्चालन जिम्मेवारी विष्णुकलाको हुने गरी रेस्टुरेन्ट खोल्ने टुंगो भयो।
अनि गत फागुन २९ गते खुल्यो फिर्के भान्छाघर।
'अहिले कतै पनि व्यापार राम्रो छैन। हामी पनि नाफामा गएका छैनौं तर घाटामा पनि छैन। खर्च चलेको छ,' विष्णुकलाले भनिन्, 'परम्परागत किराँती परिकार खुवाउन र महत्व बुझाउन पाएका छौं। ग्राहक बढ्दै गएकाले चाँडै नाफा सुरू हुने विश्वास छ।'
किँराती परिकारको सेटमा फापरको ढिँडो, च्याँख्ला, कुखुराको मासु, यांगबेन, सिस्नो, साग, किनिमा, गुन्द्रुक–भटमास र लसुनको अचार हुन्छ। शाकाहारीका लागि पनि मांस परिकारबाहेक सबै व्यवस्था छ।