महिला उद्यमीका कथा
जाने खातैखात नजाने सत्यनाश भन्ने उखान सामाजिक सञ्जाल फेसबुक र टिकटकको प्रयोगमा ठ्याक्कै मेल खाँदो रहेछ!
एकातिर फेसबुक र टिकटकले मान्छेको समय खेर फाल्यो भन्ने गुनासो सुनिन्छ, अर्कातिर त्यसकै माध्यमले व्यवसाय चलाएर पैसा कमाउनेहरू कम छैनन्।
यस्तै कमाउनेमध्ये एक हुन् ललितपुरकी निशा अधिकारी।
उनलाई टिकटकको एउटा भिडिओले व्यवसायी बनाइदिएको छ। त्यो पनि चानचुने होइन, दिनमै कम्तीमा ३० हजार रूपैयाँ आम्दानी हुने। टिकटक पनि आफूले बनाएको होइन, साथीले आफ्नै सुरले बनाएर अपलोड गरिदिएको।
'चिनजानकी बहिनीले आफन्तलाई भेट्न जान सुत्केरी मसला बनाइदिन भन्नुभएको थियो। मैले मसला बनाउँदै गरेको भिडिओ उहाँले टिकटकमा हालिदिनुभएछ,' निशाले भनिन्, 'त्यसपछि त मसला बनाइदिन अर्डर पो आउन थाल्यो। अनि व्यवसाय नै सुरू गरेँ।'
निशाले टिकटक हेरेर अर्डर गर्नेलाई सम्पर्क गरिन् र सुत्केरी मसला बनाएर घरमै पुर्याइदिन सुरू गरिन्। मसलासँगै थरीथरीका अचार पनि बनाएर बेच्न थालिन्।
यो गत कात्तिकको कुरा हो। काम थालेको एक वर्ष भएकै छैन, छोटो अवधिमै उनीसँग १२ जना सहयोगी छन्।
नेपालमै उत्पादित मसलाको ब्रान्ड बनाउन उनले नाम राखेकी छन् 'माया र मसला'।
'मसला मायाले प्रेमपूर्वक दिने भएकाले माया र मसला नाम राखेकी हुँ,' उनले भनिन्।
उनको मसलायात्रा आफ्नै भान्साका भाँडाकुँडा र एउटा ग्यास चुलोबाट सुरू भएको हो। अहिले पनि मसला र अचार उनी घरकै भान्सामा तयार गर्छिन्। लगानी पनि धेरै छैन, केही हजार रूपैयाँ हो।
माया र मसला उत्पादन ललितपुरको इमाडोलमा हुन्छ। निशा कम्तीमा एक दर्जन किसिमका अचार बनाउँछिन्। बढी व्यापार भने मसलाकै हुन्छ।
उनका अनुसार सुत्केरी मसला काजु, किसमिस, बदाम र अन्य थुप्रै जडीबुटी राखेर बनाइन्छ। यस्तो मसला सुत्केरीको स्वास्थ्यका लागि निकै राम्रो हुन्छ। शरीरको दुखाइ कम गर्ने भएकाले महिला र पुरूष दुवैले रूचाएको उनले बताइन्।
'गर्भवतीबाहेक सबैले खान मिल्छ। जिउ दुख्दा राम्रो गर्ने भएकाले पुरूषहरूले पनि खोज्नुहुन्छ। धेरै चाहिँ सुत्केरीकै लागि अर्डर आउँछ,' उनले भनिन्।
यसमा फूल, बोक्रा, जरा इत्यादि गरेर ५२ किसिमका वनस्पति प्रयोग भएको हुन्छ। जडिबुटी रामेछाप, जुम्ला, दाङ, कैलाली लगायत विभिन्न ठाउँबाट ल्याउँछिन्।
जडिबुटी ल्याएर उनी घरमै त्यसलाई पखाल्छिन्, काट्छिन् र सुकाउँछिन्। अनि मसला मिलमा लगेर पिसाउँछिन्।
यसरी तयार गरेको सुख्खा मसला निशा घ्यूमा पकाउँछिन्। यो मसला तयार भएको मितिले डेढ महिनासम्म खाना मिल्छ। हाल तयारी एक किलो मसलाको दुई हजार रूपैयाँ पर्छ।
जाडो र गर्मी दुवै मौसममा खाने मसला एकै हो। जाडो मौसममा दैनिक सरदर २० किलो र गर्मीमा पाँच किलो उत्पादन हुन्छ। उनी अर्डर आएपछि मात्र बनाउँछिन्।
'अग्रिम तयार हुँदैन। जति अर्डर आयो त्यति बनाउने हो, बाँकी रहँदैन। अर्डर गरेको भोलिपल्ट मसला उपलब्ध हुन्छ,' निशाले भनिन्।
उनले बनाएको अचारको पनि राम्रो माग छ। मुला, आँप, कागती, मेथी, लप्सी, अमला, लसुन, अदुवा–लसुन, तीते करेला, टिमुर, अकबरे खुर्सानी, च्याउ, तामा लगायतको अचार पाइन्छ। मांसमा चिकेन, मटन, माछा अचार बनाउँछिन्।
निशाले घरमा खान बनाएको अचारबाटै व्यवसाय थालेकी हुन्।
'आफ्नै लागि अकबरे खुर्सानीको अचार बनाएर भिडिओ हालेपछि माग आयो। अर्डर लिन थालेको एक हप्तामै ७० किलो अचार बेचेँ,' उनले भनिन्।
अचार पनि उनी अर्डरअनुसारै बनाउँछिन्। चिकेन र मटन अचार सबैभन्दा धेरै बिक्छ। दैनिक सरदर १० किलो चिकन र मटन अचार बिक्री हुने उनले बताइन्।
हाल चिकेन अचार प्रतिकेजी दुई हजार रूपैयाँ पर्छ। मटन अचार एक केजीको आठ हजार रूपैयाँ पर्छ। यही दरमा कम तौलमा पनि उपलब्ध हुन्छ।
निशाको भान्सामा मसला र अचारसँगै हरेक दिन अनेक स्वादका खानेकुरा पनि पाक्छन्। चाडपर्वअनुसार परिकार बनाएर ग्राहकहरूलाई उपलब्ध गराउँछिन्। सेलरोटी, अनरसा, खजुरी, लड्डुदेखि गुँदपाक, पुष्टकारी, आलुचिप्स, कुकिज, सातु, खुर्मा, तितौरा, इनर्जी-बार, मस्यौरा, छुर्पी, चटपटा काजु, फुरनदाना, खसीको सुकुटीसम्म बनाउँछिन्। त्यस्तै विभिन्न ठाउँबाट मगाएर चुक अमिलो, मह, तामा लगायत पनि बेच्छिन्।
उनी भन्छिन्, 'म ग्राहकहरूका लागि मागअनुसार हरेक खानेकुरा बनाउँछु। सबै ग्राहकले मन पराउनुभएको छ।'
व्यवसाय सुरू गरेको एक वर्ष नहुँदै माया र मसलाका ग्राहकको संख्या ह्वात्तै बढेको छ। निशाले बनाएको अचार र मसला अमेरिका, जापान, मकाउ र जर्मनी पनि पुगेको छ। खाडीको सहर दुबई पनि पुगेको छ।
'उपादन थालेको एक वर्ष पनि भएको छैन। छोटो समयमै माया र मसलालाई देश–विदेशका धेरैले मन पराउनुभएको छ,' ४३ वर्षीया निशाले खुसी प्रकट गरिन्, 'यस्तो व्यापार होला भन्ने सोचेकी पनि थिइनँ।'
रामेछापमा जन्मिएकी निशा अनेक ठक्कर खाँदै सुत्केरी मसला र अचार व्यवसायमा आइपुगेकी हुन्। संघर्षको कथा–व्यथासँगै गाथा पनि छ।
उनी आठ वर्षको उमेरमा आफन्तका साथ लागेर काठमाडौं आइपुगिन्। विशालनगरस्थित एक घरमा कामदार भइन्। त्यहाँ उनले घरको सबैजसो काम गरिन्। सुत्केरी मसला बनाउन पनि त्यहीँ जानेकी हुन्।
त्यो बेला उनी बस्ने घरकी छोरी विदेशमा सुत्केरी भएकी थिइन्। उनका लागि मसला पठाउन घरमै तयार गरिएको थियो। त्यहाँ बनाएको हेरेर निशाले पनि जानिन्। पछि आफैं बनाउन थालिन्।
निशाले त्यति बेलै सुत्केरी मसलाको महत्त्व थाहा पाएकी थिइन्।
'अरू केही काम गर्न सकिनँ भने सुत्केरी मसला बनाएरै पनि जिन्दगी चल्ने रहेछ भन्ने लागेको थियो,' उनी भन्छिन्।
निशाले पढ्न पाइनन्। परिस्थितिले तेह्र वर्षकै उमेरमा बिहे भयो। एक वर्षपछि आमा भइन्। पढ्न नपाए पनि परेर जानिन्, जीवनको दुःखसुख बुझिन्। मान्छेले पढेरभन्दा बढी परेर धेरै जान्दछ भन्ने उखान उनको जीवनमा ठ्याक्कै मेल खाएको छ।
घरेलु कामदार भएको बाहेक उनीसँग अर्को अनुभव थिएन। आमा भइसकेकी थिइन्। श्रीमानसँग सम्बन्ध राम्रो भएन। पेट पाल्न केही न केही काम गर्नैपर्थ्यो। एक दिन कालीमाटी तरकारी बजारबाट दुई सय रूपैयाँको काँक्रा किनिन् र सडक किनारामा बेच्न बसिन्।
यसरी काँक्रो बेच्दाबेच्दै पाँच हजार रूपैयाँ जम्मा भयो। त्यही पैसाबाट सानो तरकारी पसल सुरू गरिन्। करिब दुई वर्ष तरकारी बेचेपछि केही पैसा जम्मा भयो। तरकारी छाडेर चुरा, पोते, क्रिम, टीका जस्ता शृंगारका सामान बेच्न थालिन्। पसल खोल्न पैसा थिएन, झोलामा सामान बोकेर पसलहरूमा धाउँथिन्, घरघरमा पुग्थिन्।
'कस्मेटिक (शृंगारिक) सामान त ल्याएँ तर सटर खोलेर व्यवसाय गर्न लगानी थिएन। झोलामा सामान बोकेर घरघर पुगेँ,' उनले भनिन्, 'त्यसरी पनि व्यापार बढ्दै गयो। अलिकपछि ट्याक्सी भाडामा लिएर कस्मेटिक सामान बेच्न थालेँ।'
उनको मेहनतले व्यापार बढ्दै गयो। आफैं भारत गएर सामान ल्याउन थालिन्। हुँदाहुँदा पसल नखोलेरै पनि कस्मेटिक व्यापारमा ११ जनालाई रोजगारी दिन सक्ने भइन्। काम अर्डर लिने र सामान पुर्याउने थियो।
कस्मेटिकसँगै घरमा प्रयोग हुने केही साना हार्डवेयर सामानको व्यापार सुरू गरिन्। ठूला व्यापारीबाट सामान लिने र साना व्यापारीलाई दिने गर्न थालिन्। हार्डवेयरमा अलिक ठूलो लगानी चाहिने भयो। उनले आँट गरिनन्। त्यो छाडेर भाइसँग मिलेर मदिराको डिलर सुरू गरिन्। केही वर्ष काम गरेपछि भाइ विदेश जाने भए। उनीहरूले डिलर बेचे।
यसपछि निशा खाली भइन्। काम केही भएन। अचार बनाउन सानै उमेरदेखि सिपालु थिइन्। सुत्केरी मसला बनाउन आइहाल्थ्यो। व्यवसायबाट खाली भएपछि आफ्नो पुरानो सीप र रूचि सम्झिन्।
व्यावसायिक रूपमा नबनाए पनि आफन्तहरूका लागि सुत्केरी मसला बनाइदिन्थिन्।
त्यही सीपले उनलाई सुत्केरी मसला र अचारको व्यवसायी बनायो। प्रस्थानबिन्दु भने साथीले बनाइदिएको त्यही टिकटक भिडिओ बन्यो।
पहिलोपटक अर्डर आएपछि उनले पाँच हजार रूपैयाँको सामान ल्याएकी थिइन्। करिब छ महिना एक्लै काम गरिन्। त्यसपछि एक जना सहयोगी राखिन्। अहिले १२ जना सहयोगीमध्ये १० जना भान्साको काम गर्छन्। दुई जना अनलाइन अर्डर हेर्छन्।
दुई सय रूपैयाँको काँक्रो किनेर व्यापार सुरू गरेकी निशा कस्मेटिक, हार्डवयेर र मदिरा व्यवसाय हुँदै 'माया र मसला' मा आइपुगेकी हुन्।
'माया र मसलाका सबै उत्पादनको बिक्री हेर्ने हो भने दिनमै कम्तीमा ३० हजार रूपैयाँको कारोबार हुन्छ। यो हामी सबैको मेहनतको फल हो,' निशा भन्छिन्, 'आम्दानी भएकै छ। हाम्रो उत्पादन रूचाइदिनु मेरा लागि झन् ठूलो खुसीको कुरा हो।'
निशा आफ्नी छोरी शिवानी र आमासँग बस्छिन्। निशा र शिवानीका आआफ्ना व्यवसाय छन्। दुवै जना एकअर्काका सल्लाहकार हुन्।
'हामी आमाछोरी सल्लाह गरेर आआफ्नो काम गर्छौं। मेरा लागि त छोरी सारथि नै हुन्,' उनले भनिन्।
माया र मसलालाई सुत्केरी मसलाको 'नम्बर वान ब्रान्ड' बनाउने निशाको लक्ष्य छ। उनले यसमै कम्मर कसेकी छन्। साथमा थरीथरीको अचार छँदैछ।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी
(माया र मसलाको फेसबुक पेजका लागि यहाँ र इन्स्टाग्राम पेजका लागि यहाँ क्लिक गर्नुहोस्)