कारोबारको अधिकांश समय बढेको नेप्से परिसूचक बजार बन्द हुँदा लगभग स्थिर देखिएको छ। 
बजार बन्द हुँदा नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा आइपुगेको छ। दिनभरको कारोबारमा नेप्से २७८०.९७ परिसूचक सम्म पुगेको थियो। 
बिहीबार बनेको मैनवत्ति आकृतिले लगानीकर्ताहरू नेप्सेको वृद्धि प्रति अनिश्चियमा रहेको संकेत गरिरहेको छ। 
मंगलबार र बुधबार हरियो मैनवत्ति बनेपछि बिहीबार सुटिङ स्टार आकृति बनेको छ। 
यसले बजार घट्न सक्ने संकेत गरेपनि यो बलियो आधार भने होइन। 
आइतबारको कारोबार हेरेर नै पक्का हुन सकिन्छ। मैनवत्तिले अल्पकालिन प्रवृत्ति विश्लेषण गर्न सघाउँछ। 
तर, दसैं अघि मुभिङ एभरेज रेखाले बजार बुलिश प्रवृत्तिमा गएको संकेत गरेको थियो। 
नेप्सेको रेखा चित्रमा बनेको पाँच दिने मुभिङ एभरेज रेखाले २० दिने मुभिङ एभरेज रेखालाई पार गरेर माथि लागेको थियो। 
यस्तो भएमा बजार थप बढ्ने अनुमान गरिन्छ। यो प्रवृत्ति अझै कायमै छ। 
यदी २० दिने रेखा बढ्न थालेर पाँच दिनेलाई तल पारेर माथि गयो भने बजार घट्न थाल्ने मानिन्छ। 
बिहीबार कारोबार रकममा थप वृद्धि भएको छ। बुधबार पाँच अर्ब ६६ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब १९ करोड रूपैयाँको कारोबार भएको छ। 
यस दिन समूहगत परिसूचकमा मिश्रित प्रभाव देखियो। विकास बैंक, पर्यटन र होटेल, जलविद्युत, जीवन बिमा, लघुवित्त र व्यापार मुलक समूहगत परिसूचक घटेका छन्। अन्य समूहगत परिसूचकमा सामान्य सुधार भएको छ। 
तीन सय १६ वटा स्क्रिप्सको कारोबार भएकोमा एक सय २२ वटाको मूल्य बढ्यो, एक सय ६९ वटाको मूल्य घट्यो भने बाँकीको स्थिर रह्यो। 
गुडविल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ भने अप्पर स्याङजे हाइड्रोपावरको मूल्य सबैभन्दा धेरैले घटेको छ। 
कुमारी बैंकको सबैभन्दा धेरै ३३ करोड १३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।