यातायातका साधनमा लगानी गर्दै आएको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सहितको सुपर डिलक्स बसबाट पोखरा– काठमाडौ सेवा सुरु गरेको छ। कम्पनीले पोखरा काठमाडौं रुटमा शुक्रबारबाट उक्त बस सञ्चालन गरेको हो ।
बस संचालनको पोखरा लेखनाथ महानगरपालिकाका मयेर मानबहादुर जिसीले शुभारम्भ गरे। संसारकै उत्कृष्ट स्तरको बस सञ्चालनमा ल्याइएको कम्पनीको दावी छ।
प्रत्येक सिटमा छुट्टाछुट्टै टेलिभिजन तथा खाना टेबल रहने बस २१ सिट क्षमताको रहेको छ। बसभित्रै रेष्टरुम र मिनीबारको सुविधा रहेको छ। उक्त बस पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत सञ्चालितत हुनेछ।
रिमोटबाटै सिट फोल्डिङ गरेर सुत्न सकिने, रिमोट सिस्टमबाटै मसाज गर्न सकिने सुविधा उपलब्ध रहेको प्रालिका अध्यक्ष केशब प्रसाद अधिकारीले जानकारी दिए। उनले भने ‘यो बस सेवा विश्वका उत्कृष्टमध्येकै एक हो, नेपालमा पहिलो पटक बसमा धेरै सुविधाहरु मिलेका छन्।’
आनन्दसँग सुतेर यात्रा गर्न सकिने उक्त बसमा ब्रेकफास्ट तथा लन्चको सुविधा समेत उपलब्ध रहेको अधिकारीले बताए। बस दैनिक बिहान ८ बजे काठमाडौं र पोखराबाट छुट्नेछ । यात्रुको सुविधाका लागि बस क्रियु खटिनेछिन्।
दुई वटा बसमा प्रति बस करिब ४ करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए। अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज प्रयोग गरी बस तयार गरिएको उनले बताए।
बसमा यात्रा गर्न जम्मा २२ सय रुपैयाँ भाडादर कायम गरिएको अधिकारीले बताए । खुद भाडादर ६ सय ५० रुपैयाँ रहेको उक्त बसमा खाना बफेडको ५ सय ५० रुपैयाँ, खाजाको १ सय ५० रुपैयाँ, क्रियु सर्भिस शुल्क ५० रुपैयाँ, काउज सिड शुल्क २ सय रुपैयाँ, मनोरञ्जन शुल्क २ सय ५० रुपैयाँ, चिया, कफी, चिसो तथा चकलेट शुल्क २ सय रुपैयाँ, रेष्टरुम शुल्क ५० रुपैयाँ सहित जम्मा भाडादर २ हजार २ सय रुपैयाँ तय गरिएको उनले बताए।
हाल पृथ्विराज मार्ग समिति अन्तर्गत १ हजार ३ सय ५५ गाडी सञ्चालनमा छन्।
https://www.youtube.com/watch?v=ZRxDI7in4_g&t=5s