नेपाली अटोमोबाइल क्षेत्रको महाकूम्भ मेलामा अटो व्यवसायीहरुले आफ्नो विभिन्न ब्राण्डका सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट लगायतका बारेमा जानकारी दिने तथा अर्डर लिने गरेका छन्।
सबै स्टलहरुमा अवलोकन कर्ताको राम्रै उपस्थिति भएपनि केहीमा भने बाक्लो उपस्थिति देखिन्छ। फोर्ड र महिन्द्राको स्टलमा हेर्ने र बुझ्ने मात्र होइन फोटो खिचाउनेको समेत भीड देख्न सकिन्छ। कारण होः सामान्य कार भन्दा भिन्न मोडल।
फोर्डले आफ्नो स्टलमा अन्य मोडलसँगै विशेष प्राथमिकताको साथ मस्टङ्ग गाडी राखेको छ। हेर्दा निकै आकर्षक यो कारको मूल्य पनि तोकिएको छैन। तर नेपालमा यसको ३ करोड भन्दा धेरै पर्ने कम्पनीले जनाएको छ। फोर्डले यो गाडी नाडा शोमा बेच्नका लागि ल्याएको होइन। यसका लागि कुनै अर्डर पनि नलिइने कम्पनीले जनाएको छ।
अमेरिकामा बनेको यो गाडीको सुरक्षाको लागि चारैतिर प्लास्टिकको बारले घेरिएको छ। यो कारको भारतमा ६८ लाख भारु पर्ने स्टलमा खटिएका सुरज अग्रवाल बताउँछन्। ५ हजार सिसिको इन्जिन क्षमता भएको यो कारमा ८ वटा सिलिन्डर रहेका छन्। यो गाडीको नाम ‘मस्टङ्ग’को अर्थ जंगली घोडा भएको स्टलका कर्मचारीहरुले जानकारी दिए। यो कार नाडामा प्रदर्शनको लागि नै ल्याइएको हो।
त्यस्तै महिन्द्राले स्टलमा अकर्षण बढाउन ‘थार डेब्रेक’ राखेको छ। नेपालमा पहिलो पटक प्रदर्शित यो गाडी विशेषत अप्ठ्यारा बाटोमा चलाउन बनाइएको हो। यो गाडी हालसम्म नेपालमा उपलब्ध छैन तर यसको पुरानो संस्करण भने नेपालका सडकहरुमा देख्न सकिन्छ।
यो गाडी खरिद गर्न चाहनेले अर्डर दिन सक्ने वितरक अग्नी इनकर्पोरेटेड प्रालिका असिस्टेन्ट म्यानेजर सिजन न्यौपानेले जानकारी दिए। यसको मूल्य नतोकिए पनि ५० लाख भन्दा धेरै पर्ने न्यौपानेले बताए। यो गाडीप्रति विशेषत युवा वर्ग आकर्षित भएका छन्।