लामो समय पछि उच्च प्रविधिको सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट को जडान कार्य औपचारीक रूपमा सुरु भएको छ। यातायात व्यवस्था विभागले सोमबारदेखि उक्त प्लेट जडान सुरु गरेको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले उक्त प्लेटको उद्घाटन गरेका हुन्।
सवारी साधन र सवारी धनीको विवरणका साथै राजस्व असुलीको अवस्थाको बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण सहयोग गर्ने उद्धेश्यसहित जडान सुरु गरिएको नम्बर प्लेटको उद्घाटन गर्दै मन्त्री बलायरले भने, ‘यसले नेपालको यातायात व्यवस्थामा कोशेढुंगा पार गरेको छ।’
तत्कालको लागि सरकारी गाडीलाई अनिवार्य गरिएको यो प्लेट जडान गर्न सर्वसाधारणका लागि भने अनिवार्य गरिएको छैन। यद्यपी बागमती अञ्चल कार्यालयमा दर्ता भएका सवारीधनीले भने ऐच्छिक रूपमा लिन भने पाउने छन्।
विभागले कार्यतालिका बनाएर सबैतिर र सबैलाई इम्बोस्ड प्लेट राख्न लगाउने तयारी गरिरहेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।
२०१६ मे ३० मा नेपल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायाता व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनी बिच ५ वर्ष भित्र २५ लाख इम्बोस्ड नम्बर बनाई नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो। सो कार्यको लागि नेपाल सरकारले मूल्य अधिवृद्धी कर सहित ४ करोड ३७ लाख ८७ हजार ५ सय अमेरिकी डलर ठेकेदार कम्पनीलाई भुक्तान गर्नेछ।
कस्तो हुन्छ त नम्बर प्लेट ?https://www.youtube.com/watch?v=NixjHzdz6ZI&feature=youtu.be
यो नम्बर प्लेटले नेपालमा हाल प्रयोग भइरहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारमा सिमित गर्नेछ।
अबदेखि राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, झण्डामूनी माथिबाट हल्का निलो रङहुँदै तल गाढा निलो रङ, एनइपी अक्षर, एनइपी अक्षर मुनी लालिगुराँससहितको नेपालको निसान छाप हुनेछ।
त्यस्तै सार्वजनिक सवारीमा पहेलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिकमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था रहेको छ। त्यस्तै सबै प्रकारका सवारी साधनहरुको नम्बर प्लेट अगाडि लामो र पछाडि चर्तुभुज आकारको हुनेछ।
कस्तो छ यो प्लेट ?९९ प्रतिशत आल्मोनियमबाट बनेको यो नम्बर प्लेटमा रेट्रोे रिफ्लेक्टिभ सिट लेमिनेट गरिएको र उक्त प्लेट अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ। यसको कडा पन एच ४१ र एच ४२ हनेछ भने मोटाई ०.९८ मिलिमिटर हुनेछ। बेस प्लेटमा स्ट्याम्पिङद्धारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ट रहेको हुनेछ।
प्लेटको बाँया साइडको माथि नेपालको झण्डा र त्यसैको मुनी देश जनाउने गरी अंग्रेजीमा एनइपी र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुनेछ।
प्लेटको माथि अञ्चल जनाउने गरी अंग्रेजीमा लेखिएको र उक्त अञ्ल पछि प्रदेशको नामाकरण भएपछि सोहीअनुसार लेखिने छ। त्यसको मुनी लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको र सो को मुनी बढीमा ४ अंक लेखिएको हुनेछ।
दुईपांग्रे बाहेकका सबै साधनहरुमा अगाडि वाइड स्क्रिन ग्लासको भित्रपट्टीबाट आरएफआइडी एण्टीना स्टिकर राखिएको छ। मोटरसाइकलको हकमा पछाडीपट्टीको नम्बर प्लेटमा विषेश प्रकारको कभरको डिजाइन गरी चिप्स राखिएको हुन्छ र सो मा आरएफआइडी स्टिकरको सम्पूर्ण विवरण राखिएको हुन्छ।
सवारी साधनको अवस्थाको बारेमा जानकारी लिनको लागि काठमाडौंको ५ वटै नाकामा ५ वटा आरएफआइडी गेट राखिने विभागले जनाएको छ। आरएफआइडी गेटबाट क्रस हुने सम्पूर्ण सवारी साधनको विवरण विभागमा जडित कन्ट्रोल रुममा छुट्टाछुट्टै एलइडिमा डिस्प्ले हुनेछ।
कसरी राख्नेविभागले दिएको जानकारी अनुसार ‘इम्बोस्ट नम्बर प्लेट’ राख्नको लागि कुनै पनि सवारी धनी एकपटकमात्र विभागमा जानुपर्छ। त्योभन्दा पहिलाका चरणमा उनीहरुले घरबाटै वा अनलाइनबाटै गर्न सक्छन्।
सबैभन्दा पहिला विभागको समय तालिका अनुसार सवारीधनीले ‘इम्बोस्ट नम्बर प्लेट’ जडानको लागि अनलाईन आबेदन भर्नुपर्ने छ। सवारीको सम्पूर्ण आवस्यक विवरणसहित उक्त आवेदन भरीसकेपछि निर्धारित रकम राष्ट्रिष्य वाणिज्य बैंकको खातामा जम्मा गरेको भौचर नम्बरसहित पोष्ट गर्नुपर्छ।
त्यसपछि उक्त आवेदन विभागको सिस्टममा आउँछ र उसले ‘इम्बोस्ट नम्बर प्लेट’ उत्पादक डेकाटुर टाइगर पठाउनेछ । उत्पादक कम्पनीले विभागबाट आएको विवरणअनुसारको प्लेटमा रहेको आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन) चिप्ससहितको स्टिकरमा सबै विवरण राखेर विभागमा पठाउँछ।
त्यसरी तयार भएको नम्बर प्लेटमा उल्लेख भएको विवरणमा सवारीधनीको फोन नम्बर पनि हुन्छ उक्त नम्बरमा प्लेट तयार भएको र जडान गर्न आउन सम्बन्धित धनीलाई म्यासेज जान्छ। त्यसपछि विभाग वा तोकिएको स्थानमा गई जडान गर्न सकिन्छ।
कुन साधनलाई कति शुल्क? इम्बोस्ड नम्बर प्लेट राख्नलाई हालको भन्दा केही महंगो हुने भएको छ। विभागका अनुसार मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २९ सय, चारपांग्रे सवारीलाई ३२ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३६ सय रुपैयाँ तिर्नुपर्ने एको छ। सवारी धनीले फारम भर्नुभन्दा पहिलो राष्ट्रिय वाणिज्य बैंकको खातामा विभागको खातामा दाखिला गर्नुपर्छ।