होण्डाले नयाँ डर्ट बाइक सार्वजनिक गरेको छ। होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ प्रा.लिले आइतवार नयाँ ‘एक्स आर’ १९० लि सार्वजनिक गरेको हो।
कम्पनीले यसको मूल्य ५ लाख ७० हजार निर्धारण गरेको छ। यसलाई ‘एक्स आर १८५ को उत्तराधिकारीको रुपमा बजारमा ल्याएको कम्पनीले जनाएको छ। ‘एक्स आर १९० ली’ फ्युल–इन्जेक्सन रहेको पहिलो अफरोड मोटरसाइकल रहेको बताइएको छ।
फ्युल इन्जेक्सनले भएको यो बाइकले इन्जिनमा चाहिने मात्र इन्धन आपुर्ती गर्दछ, जसले गर्दा यो चिसोमा पनि सजिलै स्टार्ट भई उत्कृष्ट माइलेज र पावर प्रदान गर्ने कम्पनीको दावी छ।
चालकको सुविधाको लागि यसमा किक स्टार्ट समेत समावेस छ। १ सय २३ किलो तौल रहेको यो बाइक सुरुवाती पिक अप निकै उत्कृृष्ट रहेको कम्पनीको दावी छ।
फ्युल इण्डिकेटरको साथ १२ लिटरको ट्याङ्कीले यसलाई लामो दुरीमा सहजता प्रदान गर्छ।
२ सय ४५ एमएमको ग्रउण्ड क्लियरेन्स भएपनि यसको सिट भने सबै उचाइका चालकहरुलाई उपयुक्त हुने गरी ८ सय २३ एमएममा राखिएको छ। स्पोक्ड रिम, लङ्ग ट्राभल सस्पेन्सन र विश्वासिलो एयर कुल्ड इन्जिनले यसलाई उत्कृष्ट अफरोड बाइक बनाएको कम्पनीले जनाएको छ।
१८४.४ सिसीको यस बाइकले १५.६ एचपी शक्ति र १५.७ एनएम टर्क उत्सर्जज गर्छ। ज्योती ग्रुपका निर्देशक तथा स्याकार कम्पनीका प्रमूख सौरभ ज्योतीले नयाँ एक्स आर १९० को उत्तराधिकारी हुने दावी गरे।
‘यो लामो दुरी र अफ रोडको लागि निकै उपयुक्त छ, होण्डाले डर्ट बमाइकमा कमाएको ख्यातीलाई यसले अझै माथी उठाउनेमा हामी विश्वस्त छौँ’ उनले भने।
सहज र सरल मर्मत सम्भार गर्न सकिने भनिएको यस बाइकलाई नेपालको जुनसुकै क्षेत्रमा लान सकिने होण्डाको दावी छ।