असारको तेस्रो साता बित्यो तर सबै किसानले धान रोपाइँ गर्न पाएका छैनन्। पर्याप्त वर्षा नभएका कारणले धान रोपाइँ हुन नसकेको हो।
रूपन्देहीको देवदहका तिलक पराजुली भने पाकेको धान स्याहार्ने तयारीमा छन्। उनले चैतको पहिलो साता रोपेको धान पाकेर पहेंलै भएको छ। धेरै किसानहरू असारे धान रोप्न अकासे पानी पर्खिरहँदा उनी चैते उठाएर असारे धान रोप्ने योजनामा छन्।
विगतमा तिलक हिउँदे खेती स्याहारेपछि खेतमा मकै लगाउँथे। यसपटक उनले चैते धान लगाए। चितवनबाट ल्याएको ‘चैते ५’ नामको धानको बिउबाट राम्रो फल लागेपछि उनी उत्साहित भएका छन्।
उनले भने, ‘परीक्षणका लागि पहिलोपटक रोपेको चैते धान राम्रो फलेको छ। अर्को वर्ष पनि चैते धान रोप्ने विचार गरेको छु।’
उनका अनुसार तराईको चर्को घाममा मकैखेती राम्रो भएन। विकल्पमा चैते धान लगाएका हुन्। उनले भने, ‘तापक्रम धेरै भएर होला, गत वर्ष मकैको घोगामा दाना भरिलो भएन। यसपालि चैते धान रोपेँ।’
चैते धानले घामको पर्याप्त प्रकाश र ताप पाउँछ। विज्ञहरूका अनुसार असारे धानको तुलनामा चैते धानको उत्पादन बढी हुन्छ। उत्पादन राम्रो हुने भए पनि झरीको समयमा बाली थन्क्याउन झन्झट हुने भएकाले किसानहरू चैते धान रोप्न रुचि गर्दैनन्।
तिलक भन्छन्, ‘बर्खाको समयमा पानी परिरहने भएकाले चैते धान स्याहार्न दुःख हुन्छ। हामी थोरै थोरै काटेर स्याहार्ने तयारीमा छौं।’
चैते धान उठाएर साउनको पहिलो सातासम्ममा असारे धान रोपिसक्ने उनको योजना छ ।
तिलको अनुभवअनुसार खेतबारी खाली हुने भएकोले चैते धानमा कीराको प्रकोप बढी हुन्छ। यसो भए पनि उत्पादन डेढ गुणासम्म बढी हुन्छ। उनको खेतमा प्रतिकट्ठा पाँच मुरी (आठ सय किलोग्राम) भन्दा बढी उत्पादन हुने उनले बताए। असारे धानको उत्पादन प्रतिकट्ठा बढीमा चार मुरी (६४० किलोग्राम) मात्र हुन्छ।
उनी भन्छन्, ‘उत्पादन राम्रो हुन्छ, रोपाइँ गर्न पनि सजिलो हुन्छ तर सिँचाइको अभाव र बर्खामा स्याहार्नको झन्झटले चैते धानप्रति किसानहरू आकर्षित हुन सकेका छैनन्।’
रूपन्देहीमा जिल्ला कृषि विकास कार्यालयले चैते धानप्रति किसानहरूलाई आकर्षित गर्न २०७२ सालमा सहयोग र अनुदानको योजना सुरू गरेको थियो।
उक्त वर्ष रूपन्देहीमा ४५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा निकै राम्रो उत्पादन भएपछि २०७३ सालमा ७५ हेक्टर क्षेत्रफल रोपिएको थियो।
जिल्ला कृषि विकास कार्यालयले कृषक तथा कृषक समूहलाई प्रोत्साहित गर्दै प्रतिहेक्टर पाँच हजार रुपैयाँ नगद अनुदान र उपकरणहरूमा पनि अनुदान उपलब्ध गराएको थियो।
धानको बिउ, सिँचाइका लागि बोरिङ, हाते ट्याक्टर, गोड्मेल गर्ने मेसिन, धान काट्ने मेसिन लगायतमा अनुदान दिएको थियो। किसानहरू पनि आकर्षित भएका थिए तर सिँचाइ सुविधा राम्रो नभएपछि खेती हुन सकेन। आकासे पानीमा चैते धानको खेती सम्भव हुँदैन।
रूपन्देहीमा दस वर्षमा चैते धान खेती एक हजार हेक्टर क्षेत्रफलमा विस्तार गर्ने लक्ष्यका साथ २०७२ सालमा सुरू गरिएको कार्यक्रम प्रभावकारी हुन सकेको छैन। सतही सिँचाइको व्यवस्था हुने हो भने रूपन्देहीमा २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती हुन सक्ने विज्ञहरूको भनाइ छ।
कुल ६९ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन रहेको रूपन्देहीमा १० हेक्टरमा मात्र बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध छ। सिँचाइको सुविधा पुगेका कतिपय ठाउँमा घडेरीका लागि जमिन प्लटिङ गरिएको छ।
लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार रूपन्देहीमा चैते धान खेतीको अवस्था राम्रो छैन।
लुम्बिनी प्रदेशभरिमा गत वर्ष तीन हजार २२० हेक्टर क्षेत्रमा चैते धान लगाइएको थियो। यस वर्षको तथ्यांक प्राप्त हुन बाँकी छ। धान काटेपछिमात्र तथ्यांक संकलन हुने गरेको छ।
उत्पादन राम्रो हुने भए पनि सतही सिँचाइको सुविधा नपुग्दा किसानहरूलाई चैते धानमा आकर्षित गर्न नसकिएको उनले बताए।
असार २४ सम्ममा ५४ प्रतिशत रोपाइँ
असारको अन्तिम साता चलिरहँदा लुम्बिनी प्रदेशमा जम्मा ५४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ। यस वर्ष ढिलो गरी वर्षा सुरु भएकाले लुम्बिनीका जिल्लाहरूमा असारको दोस्रो सातामात्रै रोपाइँ सुरू भयो।
प्रदेशका जिल्लाहरूको तथ्यांकअनुसार असार २४ गतेसम्म ५४ दशमलव ५२ प्रतिशतमात्रै धान रोपाइँ भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता मरासिनीका अनुसार प्रदेशमा धान रोपाइँ हुने तीन लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये आइतबारसम्म एक लाख ६९ हजार ५७३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।
तराईमा भन्दा पहाडमा बढी रोपाइँ भएको छ। लुम्बिनी प्रदेशमा १२ वटा जिल्लामध्ये छ वटा पहाडी छन्।
सबैभन्दा बढी प्यूठानमा ९५ प्रतिशत र रोल्पामा ९१ प्रतिशत रोपाइँ भएको छ। प्यूठानमा छ हजार ५२५ र रोल्पामा चार हजार ६३८ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।
रूकुपूर्वमा एक हजार ४१९ हेक्टरमा धानखेती हुने गरेकोमा ८८ प्रतिशतमा रोपाइँ सकिएको छ। पाल्पामा ७७ प्रतिशत, अर्घाखाँचीमा ५० प्रतिशत र गुल्मीमा ४५ प्रतिशत रोपाइँ सकिएको छ।
पाल्पामा आठ हजार २१०, अर्घाखाँचीमा आठ हजार ५० र गुल्मीमा आठ हजार ६७० हेक्टरमा धान खेती हुने गरेको छ। तराईका जिल्लाहरूमध्ये सबैभन्दा धेरै धानखेती कपिलवस्तुमा हुन्छ। हालसम्ममा रोपाइँ पनि कपिलवस्तुमै धेरै भएको छ।
प्रवक्ता मरासिनीका अनुसार कुल ७० हजार ७० हेक्टर क्षेत्रफलमा धानखेती हुने कपिलवस्तुमा असार २४ गतेसम्ममा ६४ प्रतिशत रोपाइँ भएको छ।
कुल २० हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने पश्चिम नवलपरासीमा ६५ प्रतिशत, ६३ हजार ४९७ हेक्टरमा धानखेती हुने रुपन्देहीमा ५७ प्रतिशत रोपाइँ भएको छ।
सबैभन्दा कम रोपाइँ दाङमा भएको छ। कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा असार २४ सम्ममा २७ प्रतिशतमात्रै रोपाइँ भएको छ।
कुल ४९ हजार ३३ हेक्टर क्षेत्रफलमा धानखेती हुने बर्दियामा हालसम्म ५३ प्रतिशत र ३३ हजार हेक्टरमा धानखेती हुने बाँकेमा ४० प्रतिशत रोपाइँ भएको छ।
असारको दोस्रो सातामा वर्षा सुरु भए पनि अझै रोपाइँ गर्न पुग्ने गरी पानी परेको छैन।