वाणगंगा नगरपालिका–७ मोतिपुरका जयलाल गिरीले पशुपालनबाट मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।
चार वर्षदेखि व्यावसायिक रुपमा पशुपालन गर्दैआएका गिरी बाह्र वर्ष खाडी मुलुकमा काम गरेर फर्केका हुन्। उनले अहिले व्यावसायिक रुपमा बाख्रा, भैँसी र गाईपालन गर्दै आएका छन्।
कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी गिरीले २०७० सालदेखि कृषि व्यवसाय अङ्गालेका हुन्। उनले १५० वटा बाख्राबाट व्यवसाय थालेका हुन्।
हाल उनले २२ वटा भैँसी र गाईसमेत पालेका छन्। बाख्रापालनबाट वार्षिक तीन लाख देखि चार लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। “दूध बेचेर मासिक ७० हजार देखि ८० हजार रुपैयाँ सम्म आम्दानी हुन्छ,” उनले भने।
तीन बिघा पाँच कट्ठा जमिनमा उनले पशुपालन गरेका छन्। अझै १० वटा उन्नत जातका गाई थप्ने योजना उनको छ। उन्नत जातका बाख्रा विदेशबाट ल्याउने तयारीमा गिरी छन्। उनले व्यवसायमा अहिलेसम्म ५५ लाख रुपैयाँ लगानी गरिसकेका छन्।
“विदेशमा श्रम गरेर केही नहुने देखेपछि स्वदेश आएर कृषि व्यवसायमा हात हालेको हुँ,” उनले भने। गिरीले स्थानीय एक सरकारी विद्यालयको जग्गा भाडामा लिएर व्यवसाय शुरु गरेका हुन्।
“राज्यले ऋणमा सहुलियत दिनुपर्छ”, उनले भने। व्यवसायिक पशुपालनसँगै उनले माछापालन समेत गर्दै आएका छन् । उनलाई बिक्रीको कुनै चिन्ता छैन। उनले फार्ममा खरी, जमुनापारि, क्रस, वित्तल क्रस र लोकल जातका बाख्रा पालेका छन्। उनले भैँसी पनि स्थानीय जातका पालेका छन्। रासस