दशैंलाई लक्षित गर्दै दाङबाट ४४ लाख बढीको खसीबोका काठमाडौंमा ढुवानी गरिएको छ ।
असोज ३ गतेदेखि कार्यालयमै खसीबोका खरीद केन्द्र सञ्चालन गरेको खाद्यसंस्थान अञ्चल कार्यालय राप्तीले ४ सय ३ वटा खसीबोका काठमाडौं पठाएको कार्यालय प्रमुख कृष्ण प्रसाद चौधरीले जानकारी दिए ।
पहिलो लटमा २ सय ३ वटा र दोस्रो लटमा २ सय खसी बोको काठमाडौं पठाइएको चौधरीले बताए । संस्थानले जिउँदो २५ किलो भन्दा कमका बोकालाई ३ सय ६० रुपैयाँ प्रतिकिलो, २५ किलो सम्मकोलाई ३ सय ७० रुपैयाँ र त्यो भन्दा माथिकालाई ३ सय ८५ रुपैयाँ प्रतिकिलोका दरले ४ सय ३ खसीबोका खरीद गरी काठमाडौं पठाएको कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।
गतसाल २२ लाख रुपैयाँका २ सय खसीबोका काठमाडौं ढुवानी गरिएको खाद्य संस्थानले यो वर्ष ४४ लाख रुपैयाँ बढीका ४ सय ३ वटा खसीबोका खरीद गरी काठमाडौं पठाएको चौधरीले बताए ।
खाद्य संस्थानले कार्यालयमै खसीबोका संकलन केन्द्र राखेर खरीद गर्न सुरू गरेपछि जिल्लाका किसानहरूलाई समेत आफूले पालेका खसीबोका विक्री गर्न सहज भएको बताएको छ।
खसी संकलन केन्द्रमा खसी बेच्न आएका तुलसीपुर ३ का रमेश वलीले गाउँघरमा खसीबोका किन्न आउनेहरूले ३ किलो कम भनेर मूल्य तोक्ने गरेको त्यही खसी खाद्य संस्थामा तीन किलो बढी बेच्न पाएको बताए । तौल जति छ त्यति मूल्य हुँदा किसान ठगिनबाट बचेको उनले जानकारी दिए । गाउँमा १० हजार ५ सयमा मूल्य लगाउँदा नलगेको खसी खाद्य संस्थानमा बेच्दा १२ हजार ५ सय रुपैयाँमा विक्री भएको वलीले बताए ।