देशका प्रमुख चार पर्यटकीय सहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
प्रमुख पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौंबाट तीन वटा सहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्काे सहरमा सिधा हवाई सेवा थिएन ।
अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा सुरु भएको छ । बुद्ध एयरले यी तीन सहर हवाई यातायातमार्फत जोडेको हो । यससँगै छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका छन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाई यातायातले जोडिँदा निकै उत्साहित भएको बताउँछन् । यहाँ आएका पर्यटक हवाई माध्यमबाट पोखरा जान थालेको र पोखराबाट यहाँ आउन थालेको उनले बताए ।
चितवन आएका पर्यटक पनि पोखरा हुँदै लुम्बिनीसम्म जहाजमै जानसक्ने भएका छन् । यसअघि काठमाडौंबाट जुन सहरमा गए पनि पुनः काठमाडौं गएर अर्काे सहरमा जानुपर्ने बाध्यता रहेको थियो ।
पछिल्ला वर्षमा विदेशीको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रहेको छ । हवाई सुविधासँगै नेपाली पर्यटक पनि एक अर्काे गन्तव्यमा आवतजावत गर्न थालेको घिमिरेले बताए।
चितवनमा चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न र यहाँका थारु संस्कृति हेर्न वर्षेनी दुई लाखको हाराहारीमा पर्यटक आउने गर्दछन् ।
सिद्धार्थ होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सहज हवाई सम्बन्ध नेपालका पर्यटकीय गन्तव्यमा हुनसकेमा सोझै पर्यटक आउने बताए । एक रातसम्म नेपाल नबसी बिहान आएर बेलुका लैजाने भारतीय ट्राभल्सका कारण अन्य सहरमा पर्यटक नजाने गरेको उनले बताए।
बुद्धको दर्शन गर्न आउने पर्यटकले पोखरा, सौराहा र काठमाडौंका पर्यटकीय स्थलको दर्शन गर्ने अवसर एयर कनेक्टिभिटीबाट प्राप्त हुने उनले बताए ।
सन् २०१६ मा लुम्बिनीमा एक लाख ३६ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म एक लाख ५६ हजार पर्यटक भित्रिएका छन् ।
होटल एशोसिएशन अफ नेपाल (हान) का महासचिव विनायक शाह पर्यटकीय सहरको बीचमा हवाई यातायात हुँदा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताउँछन्। सानो जहाजबाट यातायात जोडेको भए पनि यात्रुको चाप बढाउन सकेमा ठूला जहाज चल्ने बताउँदै उनले छोटो समयका लागि आएका पर्यटकलाई धेरै ठाउँमा देखाउन सकिने पनि बताए ।
विदेशी ट्राभल एजेन्सीहरूले आफ्नो नेपाल आउने भ्रमण प्याकेजमा चितवनलाई हटाउने गरेकामा अब सहज भएको उनले बताए । हाल बुद्ध एयरले मात्र सेवा विस्तार गरेकामा अन्य एयरलाइन्सलाई पनि यसमा आकर्षित गर्नुपर्ने शाहको भनाइ छ ।
सन् २०१६ मा नेपालमा सात लाख ५३ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म चार लाख ५० हजार पर्यटक नेपाल भित्रिएको बताउँदै उनले यो वर्ष नौ लाखको हाराहारी पर्यटक भित्रिने अपेक्षा गरिएको बताए।
यसअघि सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए । नेपालको पहिलो पर्यटकीय गन्तव्य काठमाडौं हो भने दोस्रो पोखरा, तेस्रो चितवन र चौँथो लुम्बिनी हो ।