पोखराको औद्योगिक क्षेत्रमा रहेको पोखरा नुडल्स प्रालिका कर्मचारीले पूर्व सूचना बिना आकस्मिक रूपमा सोमबारदेखि चाउचाउ उत्पादन बन्द गरी आन्दोलनमा उत्रिएका छन्।
अखिल नेपाल औद्योगिक मजदूर संघ इकाइका अध्यक्ष पुष्पराज भट्टराइले प्रशासनले २४ गते गतेबाट ३१ गते सम्मको आफू लगायत पाँच साथीको तलब रोक्का, दुई महिनादेखि काम गरेको ठाउँबाट हटाएर अर्को ठाउँमा सिफ्ट गरेको कारण बिना सूचना आकस्मिक रूपमा आन्दोलन गर्नु परेको बताए।
मजदूर संघको संस्थागत निर्णय बिना, संघको बैठक नबसी, बिना सूचना केही मजदूरहरूले उद्योग बन्द गरेको अखिल नेपाल औद्योगिक मजदूर संघ इकाइका पूर्वअध्यक्ष अमृतराज अधिकारीले बताए। कर्मचारी काम गर्न तयार छन् तर प्रशासनले आन्दोलनरत पक्षका समस्या वार्ताबाट समाधान गर्नु पर्ने बताए।
दैनिक ३५ लाख बराबरको चाउचाउ उत्पादन गर्दै आएको पोखरा नुडल्स प्रालिमा कच्चा पदार्थ राखी चाउचाउ उत्पादन गर्दा गर्दै कर्मचारीले काम छाड्दा दुई दिनमा ७० लाख बराबरको उत्पादन घाटा भएको प्रालिका निर्देशक बाबुराम पन्तले बताए।
कर्मचारी पुष्पराज भट्टराई, सजिव अधिकारी, सन्तोष श्रेष्ठ, सुजन आचार्य, सुरेश तिवारीले मेसिन चलिरहेको अवस्थामा बिना कारण गुण्डागर्दीको शैलीमा उद्योग बन्द गरेको पोखरा नुडल्स प्राली निर्देशक पन्तले बताए।
कर्मचारीलाई जबरजस्ती आन्दोलनमा लाग्न दबाब दिने र हातपात गर्ने समेत काम गरेको आरोपमा प्रहरीले आन्दोलनरत कर्मचारी संजिव अधिकारी र विकास भुजेललाई नियन्त्रणम लिएको छ।
संजिव अधिकारीले काम गर्न अटेर गर्दै सुपरभाइजर बालकृष्ण बास्तोला र लेखनाथ बराललाई मंगलबार हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। सुपरभाइजरले गराएको काम नगर्ने र उल्टै बिना सूचना कर्मचारीलाई काम छाड्न बाध्य पारेको कर्मचारीले बताएका छन्।
पोखरा नुडल्स प्रालिका निर्देशक बाबुराम पन्तले श्रमिकहरूलाई काममा फर्कन अनुरोध गरेका छन्। कार्यालयमा रहेका कर्मचारीलाई सम्बोधन गर्दै निर्देशक पन्तले काम नभएको अवस्थामा श्रम ऐन २०७४ को दफा १ सय २७ (१) बमोजिम बन्द भएको अवधिको तलब भत्ता नगराइने पनि बताए।