भन्सार छली र चोरी पैठारीका क्रियाकलाप बढ्दै जाँदा भैरहवा भन्सार कार्यालयमा राजस्व असुलीमा गिरावट आएको छ। भन्सार कर्मचारी र एजेण्टकै मिलेमतोमा दैनिकजसो भन्सार छली हुन थालेपछि भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व असुली नगर्ने देखिएको छ।
भन्सार छलीका समाचार दैनिकजसो बाहिर आइरहे पनि राजस्व छली रोक्नेतर्फ जिम्मेवार निकाय नै मौन बस्दा मिलेमतोमा सामान पास हुने क्रम रोकिएको छैन । जसको प्रभाव राजस्व संकलनमा परेको छ।
कर्मचारीकै मिलेमतोमा राजस्व छली हुने गरेको स्वयं भन्सार कार्यालयका कर्मचारी पनि स्वीकार गर्छन् । कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले ठूला कार्यालयमा कहीँकतै मिलेमतो हुने गरेको र त्यस्ता गलत क्रियाकलापलाई सच्याउँदै जाने बताए ।
‘यत्रो राजस्व संकलन गर्ने अड्डा हो कर्मचारीले जानेर वा नजानेर घटनाहरू घट्ने गर्छन्, ति घटनाहरूबाट पाठ सिकेर त्यस्ता घटना दोहोरिन दिनु हुँदैन भन्नेतर्फ भन्सार कार्यालय क्रियाशील छ’, उनले भने ।
चालू आर्थिक वर्ष सकिन २ महिनामात्रै बाँकी रहँदा राजस्व असुलीमा २० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । आर्थिक वर्ष ०७४/७५ मा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई ८१ अर्ब ४३ करोड ७७ लाख राजस्व लक्ष्य तोकेको थियो।
तर, १० महिनामा जम्मा ५६ अर्ब ११ करोड १० लाख मात्रै राजस्व संकलन भएको छ । भन्सारले असोज महिनाबाहेक अन्य कुनै महिनामा पनि राजस्व लक्ष्य पुरा गर्न सकेको छैन।
चालू आर्थिक वर्षको साउन महिनामा ५ अर्ब ७० करोड ६ लाख राजस्व लक्ष्य पाएको भन्सारले ५ अर्ब २१ करोड ११ लाख मात्रै राजस्व संकलन गरेको छ ।
यस्तै, भदौमा ६ अर्ब ५१ करोड ५० लाख लक्ष्यमा ६ अर्ब १४ करोड १४ लाख, असोजमा ५ अर्ब ७० करोड लक्ष्यमा ६ अर्ब ४३ करोड र कात्तिकमा ६ अर्ब ५१ करोड ५० लाख लक्ष्य रहेकोमा ५ अर्ब ३० करोड ६१ लाख राजस्व संकलन भएको छ ।
मंसिरमा ६ अर्ब ५१ करोड लक्ष्यमा ४ अर्ब ९७ करोड र पुसमा ६ अर्ब ५१ करोड ५० लाख लक्ष्य रहेकोमा ४ अर्ब ९८ करोड २१ लाख राजस्व संकलन गरेको छ ।
यस्तै माघमा ६ अर्ब ५१ करोड लक्ष्यमा ५ अर्ब २६ करोड तथा फागुन, चैत र वैशाखमा सामान ७ अर्ब ३२ करोड ९४ लाख लक्ष्य रहेकोमा क्रमशः ५ अर्ब ४५ करोड, ६ अर्ब २२ करोड एवं ६ अर्ब १२ करोड मात्रै राजस्व संकलन भएको छ ।
गत आर्थिकवर्ष २०७३/०७४ मा भैरहवा भन्सार कार्यालयले लक्ष्यभन्दा करिब ८ प्रतिशत बढी राजस्व असुली गरेको थियो । ५७ अर्ब ३४ करोड ४० लाख लक्ष्य लिएको भन्सार कार्यालयले ६२ अर्ब ३२ करोड ६५ लाख असुली गरेको थियो ।
गत आर्थिक बर्षभन्दा चालू आर्थिक वर्षमा धेरै लक्ष्य राखिए पनि त्यस अनुरुप राजस्व उठेको छैन ।
आर्थिक वर्ष २०७४/०७५ फागुन मसान्तसम्म आयात गरिएको सामानमध्ये सबैभन्दा बढी जीप, कार र भ्यान, मोटरसाइकल, एमएस ब्लेड, डिजेल, टायल, सिमेन्ट क्लिङ्कर, ट्रक/मिनिट्रक, पिकअफ (सिङगल क्याब), पिकअप (डबल क्याब), पेट्रोलबाट बढी राजस्व संकलन भएको छ ।
बेलहिया भन्सारबाट आयात गरिने सामान मध्ये ९७ दशमलव ८ प्रतिशत सामानहरू भारतीय हुन् भने २/२ प्रतिशत सामानहरू तेस्रो मुलुकका हुन्। यो नाका हुँदै नेपालबाट भारततर्फ सेन्थेटिक यार्न, बोरा झोला र कपडा, रद्दी कागज, हस्तकला, अदुवा, जडिबुटी, सुठो, पिना, चोकर, भुस, कांच र डण्डी ट्युबहरु, मसला र रेसाको कपडा जस्ता वस्तुहरू निर्यात हुने गर्दछन्।
यता व्यवसायीले प्रज्ञापन पत्र विना भन्सार पास गरिएको ह्यामरको यथेष्ट प्रमाण जुटाउन नसकेपछि पश्चिमाञ्चल क्षेत्रीय राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा राखी धरौटी वापत १० लाख रुपैयाँ लिएको छ ।
गत वैशाख ३० गते राती नवलपरासीको दाउन्नेबाट ना.७ ख ९३२८ र ना.५ ख ७३८३ नम्बरका ट्रकमा लोड गरिएका दुईवटा ह्यामरको प्रज्ञापन पत्र नभएपछि नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका ह्यामर बतास ट्याक्टर प्रालि गौरीधार काठमाडौंले आयात गरेको थियो। तर, उक्त प्रालिले भ्याट नम्बर ३०४००६८७७ बाट वैशाख २४ गतेको मितिमा बिल काटिएको भए पनि प्रज्ञापन पत्र नभएपछि बिल नक्कली र भन्सार छली भएको हुन सक्ने आशंकामा राजस्वले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो।