प्रायः अंग्रेजी नयाँ वर्षमा मात्र रौनक देखिने पर्यटकीय नगरी पोखरामा नेपाली नयाँ वर्षमा पनि उल्लासमय हुने भएको छ।
आई ब्लुज म्यानेजमेन्टले नयाँ वर्ष २०७५ को अवसरमा पोखरामा आकर्षक अफरसहितको ‘पोखरा फुड कार्निभल’ को आयोजना गर्ने भएको छ। पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा चैत ३० गते कार्निभलको आयोजना गर्न लागिएको हो।
आई ब्लुज म्यानेजमेन्टका प्रबन्ध निर्देशक कुशल थापाले दुई हजार पाँच सय जना पाहुनाहरूको उपस्थिति गराउने गरी आयोजनाको तयारी गरिएको जानकारी दिए। सुन्दर नगरी पोखरामा सबैलाई भेला पारेर मनोरञ्जन दिलाउने उद्देश्यले विभिन्न फुडस्टलका खानाका परिकार, ड्रिक, पार्टी र डिजे म्युजिकसहितको प्रस्तुति कार्निभलमा समावेश गरिएको उनको भनाइ छ।
उनका अनुसार कार्निभलमा विभिन्न आकर्षक अफर समेत ल्याइएको छ। जसमा उत्कृष्ट पोशाक लगाएर सहभागी हुने ४ जना मध्येबाट एक–एक जनालाई सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया (बाली) घुम्नको लागि पठाइने अफर ल्याइएको छ।
यस्तै, कार्यक्रममा उत्कृष्ट दाह्रीमा सहभागी हुनेलाई वेष्ट वियर्ड घोषणा गरी आइफोन एट प्लस उपहार प्रदान गरिने छ। त्यस्तै, वेष्ट हेयर स्टाइलिस ५ जनालाई मिडटाउन ग्यालेरियास्थित हङकङ यूनिक सलुनमा एक पटकको सेवा निशुल्क उपलब्ध गराइने अर्का आयोजक धीरज थापाले जानकारी दिए। उत्कृष्ट ड्रेस लगाउने महिलामध्येबाट १० जनालाई मिड टाउनस्थित क्लाउड नाइनमा दश हजार बराबरको सपिङ भौचर उपलब्ध गराइने छ। कार्निभलमा डिजे कलाकार साकार, रुपेश, प्रज्ज्वल, विकास, जीवन, र लेडी डिजे नेप्जले सांगीतिक माहोललाई तताउने छन्।
दुई चरणमा सम्पन्न हुने कार्यक्रम अन्तर्गत पहिलो चरणमा चैत ३० गते दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्मको एक हजार रुपैयाँमा प्रवेश पासको व्यवस्था गरिएको छ। यस्तै, दोस्रो चरणको साँझ ५ बजेदेखि सञ्चालन हुने कार्यक्रमका लागि दुई हजार रुपैयाँ टिकटमा वेलकम ड्रिङ्स र प्रवेश पासको व्यवस्था गरिएको पोखरा फुड कार्निभलका संयोजक अमृत अधिकारीले बताए।
संयोजक अधिकारीका अनुसार पोखराबाहिरका पाहुनालाई १२ हजार रुपैयाँ टिकटमा दुई जनाका लागि एकतर्फी यातायात सुविधा, वेलकम ड्रिङ्स, प्रवेश पास, उच्च स्तरीय होटलमा एसी सुविधा सहितको कोठामा बस्नका लागि प्रबन्ध गरिएको जानकारी दिए। जसमा फेवातालमा निशुल्क बोटिङ समेत समावेश गरिएको छ ।
कार्यक्रममा संस्कृति झल्काउने पोशाक, इच्छाअनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित ड्रेस कोड लगायत आफूलाई सहज लाग्ने जुनसुकै पोशाकमा उपस्थित हुन पाइने अर्की आयोजक सजना गोदारले जानकारी दिइन्। यसैबीच, कार्यक्रमबाट संकलित प्रतिफलको १५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई दिइने बताइएको छ।