भीमदत्त नगरपालिकामा तीन अर्ब रुपैयाँको क्षेत्रीय सहरी विकास आयोजना सञ्चालानमा आएको छ।
सहरी पूर्वाधार विकासका लागि प्रदेश नंम्बर ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा आयोजना सञ्चालन गरिएको हो।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरलाई व्यवस्थित र पूर्वाधार सम्पन्न सहर बनाउन आयोजना सञ्चालन गरिएको बताए। भीमदत्तलाई व्यवस्थित सहरसँगै प्रदेश नम्बर ७ को उत्कृष्ट नमूना सहर बनाउन कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ।
‘भीमदत्तलाई नमूना सहर बनाउन २० वर्षे योजना बनाएका छौँ,’ उनले भने। पाँच वर्षे आयोजनाले भीमदत्तको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। फोहरमैला व्यवस्थापन केन्द्र, ढलसहितको नमूना सडक र फोहोर पानी प्रशोधन केन्द्र निर्माण आयोजनाको प्रमुख प्राथमिकतामा छन्।
आयोजनाअन्तर्गत निर्माण हुने दुई लेनको ३६ किलोमिटर कालोपत्र सडकको सर्वे गरिएको छ। फोहोरमैला व्यवस्थापनका लागि जग्गाको खोजी गरिएको छ। भीमदत्त नगरपालिकाका इञ्जिनियर हिमालयसिंह ऐरले एक अर्ब ७० करोड रुपैयाँ लगानीमा ढलसहितको दुई लेनको नमूना सडक निर्माण हुने बताए। फोहोरमैला र फोहोर पानी प्रशोधन केन्द्र निर्माणका लागि आयोजनाअन्तर्गत कार्य अगाडि बढाइने योजना रहेको उनले बताए। रासस