हेभि इक्युप्मेन्टको सवारी चालक अनुमती पत्र बनाउनको लागि साना सवारीको सवारी चालक अनुमती पत्र बनाउनुपर्ने झन्झटको अन्त्य भएको छ।
अबदेखि १७ प्रकारको हेभि इक्युप्मेन्टको सवारी चालक अनुमती पत्र बनाउन लाइटको लाइसेन्स बनाउन नपर्ने आज राजपत्रमा उल्लेख गरिएको हो। यसअघि हेभि इक्युप्मेन्टको लाइसेन्स लिन लाइटको दुई वर्षसम्म पर्खनुपर्ने प्रावधान थियो। नेपाल हेभि इक्युप्मेन्ट महासंघले विगत ८ वर्षदेखी यसको माग गरिरहेको थियो।
पहिलेको प्रावधानले चालकको अभाव भएर सवारी थन्काएर राख्नुपर्ने बाध्यताको अन्त्य भएको महासंघका अध्यक्ष ताराबहादुर कुँवर बताउँछन्।
‘बिमा नपाउने, दुर्घटना भयो भने साहु जेल जानुपर्ने, अपरेटरको कमीले धेरै दोब्बर तलव दिनु पर्ने लगाएतको समस्या थिए’ उनले भने ‘अहिले करिव १० हजार अपरेटरको कमी छ, अब त्यो अभाव हट्छ।
अब मोबाइल क्रेन, डोजर विटुमिन डिष्ट्रिब्युटर, मिनी डम्पर, एक्साभेटर, फोर्कलिफ्ट ट्रक, मोटर ग्रेडर, चिप्स स्प्रेडर, लोडर, पाइप ड्राइभर, रोड मार्किङ मेसिन, रोलर, ट्रेलर ट्रयाक्टर(लो वेड ट्रेलर), ब्रिज इन्सपेक्सन इक्युप्मेन्ट, पट होल प्याचर, क्रेन माउन्टेड ट्रक, ट्रयाक्टरको लाइसेन्स लिनको लागि लाइट सवारीको लाइसेन्स लिनुपर्ने छैन।