आजदेखि दाङको लमहीमा खाद्य मेला सुरू हुँदैछ।
‘परम्परागत पोसिलो एवं स्थानीय खाद्य पदार्थको प्रर्वद्धन गरौं, असल पोषणका लागि स्थानीय उत्पादन खाने बानीमा सुधार गरौं’ भन्ने नाराका साथ लमहीको सार्वजनिक बगैंचामा मेला आयोजना गरिएको छ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेको आयोजना एवं देउखुरी उद्योग वाणिज्य संघको सहआयोजनामा मेला सुरू गर्न थालिएको छ। मेलामा स्थानीय किसानलाई स्टल र प्रवेश निःशुल्क रहेको स्टल व्यवस्थापन समितिका संयोजक केशव घिमिरेले बताए। उनले मेलामा ६० वटा स्टल राखिएको बताए ।
परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका खाद्य वस्तुमा प्रशस्त पोषण हुने तथ्य सर्वसाधारणले थाहा नपाएको हुँदा त्यसबारेमा सचेतना फैलाउनका लागि मेला आयोजना गरिएको लमही उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका घिमिरेले बताए। ‘स्वास्थ्यको लागि स्थानीय उत्पादन र परम्परागत खाद्य वस्तुको प्रयोग बढाउनु आवश्यक छ, भन्ने सन्देश दिन मेलाको आयोजना गरिएको हो,’ घिमिरेले सेतोपाटीलाई भने। यसैबीच मेलामा उपस्थित गराउनका लागि खुला सामूहिक नृत्य प्रतियोगिता समेत आयोजना गरिएको उनले बताए।
प्रतियोगितामा पहिलो हुने टिमलाई २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १० हजार रुपैयाँ र चौंथो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने घिमिरेले बताए।
यस्तै, खुला एकल गायन प्रतियोगिता समेत आयोजना गरिएको र त्यसमा पहिलो हुनेलाई १० हजार रुपैयाँ, दृितिय हुनेलाई ७ हजार रुपैयाँ, तृतिय हुनेलाई ५ हजार रुपैयाँ र चौंथो स्थानमा आउनेलाई ३ हजार रुपैयाँ नगद तथा प्रमाण पत्र प्रदान गरिने देउखुरी उद्योग वाणिज्य संघका महासचिव कमलजंग सिंह ठकुरीले जानकारी दिए।
खाद्य मेलामा थप आकर्षण बनाउन नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ।
मेला फागुन ६ गतेसम्म चल्नेछ ।