मकर संक्रान्ति अर्थात् माघीको अवसरमा दाङ लगायत देशैभर कन्दमुलको व्यापार निकै राम्रो हुने गर्छ।
तरुल, सख्खरखण्ड, पिडालु, फर्सीजस्ता खाद्यान्न माघीको अवसरमा सबैभन्दा बढी विक्री हुन्छन्।
सोमबार माघेसंक्रान्ति देशैभर मनाइदैछ। यस अवसरमा घर घरमा तिलको लड्डु, चाकू,घ्यू, खिर,उसिनेको तरुल, सख्खरखण्ड, पिडालु र फर्सीलगायत खाने गरिन्छ।
सोमबार बिहानै मकर स्नानगरि घर–घरमा पुगेर बालबालिकाहरू ‘बासी आन्द्रो पाइकी नपाइ’ भन्दै घर घरमा पाकेका कन्दमुल र सेलसोटी माग्ने गर्छन् । माघीमा कन्दमुल खाँदा मातम हुन्छ र उस्न खालका सख्खरखण्ड, पिडालु, तरुल खाँदा शरीरको चिसो हट्छ भन्ने वैज्ञानिक तथ्य पनि छ। त्यसैले, दाङका बजारहरूमा आइतबार बिहानैदेखि तरुल, सख्खरखण्ड, पिडालुजस्ता कन्दमुल किन्नेहरूको संख्या बाक्लै देखिन्थ्यो।
यो अवसरको मौका छोपी व्यापारीहरू जतिसक्यो कमाउने दाउमा रहेको पाइयो। यहाँका हरेक बजारका चोकैपिच्छे फरक- फरक मूल्यमा यस्ता वस्तुहरू विक्री गरिहेको पाइएको छ। तुलसीपुरको बाहिनी चोकमा तरुल र सख्खरखण्ड बेचिरहेका ७५ वर्षीय शोभाराम डाँगीले सेता सख्खरखण्ड ५० र रातो सख्खर खण्ड प्रतिकेजी ७० रुपैयाँमा विक्री गरिरहेको बताए। त्यस्तै, घर तरुल प्रतिकेजी १ सय २० र वन तरुल २ सय २० मा बेचेको बताए।
तर, बीपी चोकनजिकै त्यही तरुल र सख्खर खण्ड ३७ वर्षीया नीमा रानाले भने त्यो भन्दा महंगोमा बिक्री गरिरहेकी थिइन्। घर तरुलको १ सय ५० र वन तरुलको २ सय ६० देखि ३ सय ३० सम्म विक्री गरेको बताइन्। रानाले सख्खरखण्ड रातोको ९० र सेतोको प्रतिकेजी ७० मा विक्री गरेको बताइन्। त्यसैगरी, त्योभन्दा थोरै केही उत्तरतर्फको विरेन्द्र चोकमा तिनै वस्तुहरू फरक मूल्यमा विक्री भइरहेको थियो।
२३ वर्षीया पूजा डाँगीले सेता र रातो सख्खर खण्डको क्रममा ६५ र ९५ रुपैयाँ र घर तरुल र बन तरुलको क्रमस १ सय ३५ र ३०० रुपैयाँमाथि प्रतिकेजीमा विक्री गरिरहेको जानकारी दिइन्। चाडपर्व र अवसरहरूमा बजार अनुगमन नहुने हुँदा जसले जति सक्छ फाइदा लिएको देखिन्छ। त्यसमा पनि गाउँ घरबाट आउने सोझा सर्वसाधारण उपभोक्ता मर्कामा पर्ने गरेका छन् ।