दाङमा फूलको व्यापार फस्टाउँदै गएको छ।
बजार विस्तारसँगै फूलको बजारलाई लक्षित गर्दे फूलका बेर्ना उत्पादन गर्ने नर्सरीको संख्या पनि बढ्दै गएको छ। यस्ता नर्सरीहरूले केही हदसम्म फूलको माग थेग्ने गरेको छ। त्यसैले, पछिल्लो समय छिमेकी देश भारतबाट फूलका बोट बिरुवा तथा सजावटका सामग्री दाङमा भित्रने क्रम घटेको जानकारहरू बताउँछन्।
घर,आगन र छतको शोभा बढाउन फूल तथा बोट बिरुवा नै चाहिन्छ। सहर बजारमा आगन, छत तथा कोठाहरू विभिन्न खालका आकर्षक बोट बिरुवा र फूलहरू रोप्ने क्रम बढ्दो छ। त्यसले, पनि दाङमा फ्लोरीकल्चरको संभावना बढेर गएको फूल विशेषज्ञ तेजप्रसाद शर्माले बताए।
केही वर्ष अघिसम्म काठमाडौं, पोखरा, विराटनगर जस्ता ठूला सहरमा मात्रै फूलको नर्सरी हुन्थे। तर, आज त्यस्ता आकर्षक र आधुनिक बोट बिरुवा तथा फूलका बेर्ना दाङमै किन्न पाइन्छ। विगत ५/६ वर्ष पहिलेदेखि नै दाङमा व्यवसायिक रूपमा फूलको नर्सरी राख्ने क्रम घोराहीको कोशी नर्सरीले सुरू गरेको हो। जानकारहरूका अनुसार झण्डै २ वर्षअघि स्थापना भएको घोराही मै बेलबासे नर्सरी पनि छ। तर, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँमा भने एउटा मात्रै फूलको नर्सरी छ। पुष्पा नर्सरी । जसले एकवर्षदेखि विभिन्न जातका आकर्षक बोट बिरुवा र फूलका बेर्ना बेच्दै आएको छ।
चितवनको रामपुरबाट फ्लोरीकल्चरमा एमएससीएजी उत्तिर्ण गरेका २८ वर्षीय तेजप्रसाद शर्माले टरिगाउँस्थित आफ्नो घरको ४ कठ्ठा खाली जग्गालाई फूलको नर्सरीको रूपमा परिणत गरेर राम्रै आम्दानी गर्दै आएका छन्। उनको नर्सरीमा एकसय ५० थरिका बोटबिरुवा किन्न पाइन्छ। आफू कहाँ बढीमा १ हजार ५ सयसम्मको बिरुवा किन्न पाइने शर्माले बताए। भारत र नेपालमा पाइने अधिकांश प्रजातिका आधुनिक फूलका बेर्ना उनको नर्सरीमा हुर्की रहेका छन्।
२०७० सालमा फ्लोरीकल्चरबाट एमएससी गरेका शर्माले त्यही विषय यहाँका विभिन्न क्याम्पसहरूमा पढाउँदै आएका पनि छन्। अध्यापनमै व्यस्त उनी हप्ताको १/२ दिन जति मात्रै घरको नर्सरी हेर्न आउने गर्छन्। शर्माको नर्सरीमा प्रयोगात्मक कक्षा (ओजेटी) गर्न आउने र आइएसीएजी गरेका विद्यार्थीले फूलको हेरचाह र संरक्षण गर्ने गर्छन्। त्यसबाहेक शर्माका घर परिवारका सदस्यले पनि यो नर्सरीको रेखदेख गर्छन्।
प्राध्यापक शर्माले व्यक्तिगत घर, संस्था तथा सरकारी कार्यालयहरूमा बगैँचाको डिजाईन र निर्माणसमेत गर्दै आएको बताए।
दैनिक दुई हजारसम्मको व्यापारशर्माको नर्सरीमा फूलका बोट बिरुवा किन्न जाने मानिसहरूको संख्या दिनहुँ बढ्दै जान थालेको छ । कम्तिमा पनि दैनिक दुई हजारसम्मको फूलका बोट बिरुवा बिक्री हुने गरेको उनले बताए। घरमै फूलका बेर्ना किन्न आउँछन्।
‘बढ्दो सहरीकरणले फ्लोरीकल्चरको महत्व बढाएको छ र बिस्तारै यसको महत्व झनै बढ्दै जानेछ’ शर्माले भने। उनले काठमाडौंलगायत छिमेकी देश भारतबाट समेत फूलका बेर्ना ल्याउने गरेको बताए। हाल चार कठ्ठा जतिको क्षेत्रफलमा फूलको नर्सरी निर्माण गरेका शर्माले २०५७ सालसम्म जग्गा भाडामा लिएरै भएपनि दश कठ्ठा सम्ममा नर्सरी विस्तार गर्ने योजना सुनाए ।
शर्माको नर्सरीमा कस्ता–कस्ता बिरुवा पाइन्छन् ?हाल मौसमी २० देखि २५ प्रजातिका र विदेशबाट समेत आयातित सजावटमा प्रयोग हुने इन्डोर प्लान्टसमेत गरेर झन्डै एकसय देखि एकसय ५० प्रजातिका बोट बिरुवा नर्सरीबाट किन्न सकिन्छ। तर, शर्माले स्थानीय फलफूल तथा जडिबुटी पनि कलमी गरेर घरमै उत्पादन गर्दै आएको बताए। स्थानीय जडिबुटीमा बेल, निम, श्रीखण्ड, रक्तचन्दन, बोधि चित्र, बारमासे कागती, आँप, कटहर, लिच्ची, अम्वा, मेवा, अनार लगायतका बोट बिरुवा किन्न सकिन्छ। तीनै जातका हाईब्रिड बेर्ना पनि किन्न सकिन्छ। स्थानीय जातका फलफूलको एउटा बेर्नालाई ११०–१५० रुपैयाँ र हाईब्रिड गरिएका बेर्नालाई ४०० देखि ४५० रुपैयाँसम्म खरिद विक्री गर्दै आएको शर्माले बताए ।
तर, सजावटका लागि नेपालका विभिन्न सहर र भारतबाट ल्याइने बोट बिरुवाको मूल्य भने त्यो भन्दा तुलनात्मक रूपमा निकै महंगो पर्छ।
आयातित एउटा विरुवाको मूल्य ६ सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पर्ने शर्माले बताए। शर्माको नर्सरीमा सबैभन्दा महंगो पर्ने बोट एग्लीमिनाको हो। यसको एउटा बोटलाई १ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ। त्यस्तै, स्थायी लालुपाते १०००, लण्डन धुपी ८०० सय रुपैयाँ प्रतिबोटको मूल्य पर्छ।
स्वदेशमै बसेर प्राध्यापन र फूलको नर्सरी हुर्काउन संघर्षरत उनी पानीको अभाव, सहजै बेर्ना पाउन कठिन र आशा अनुरुप बजार फस्टाउन नसकेको गुनासो गरे। ‘मलाई विश्वास छ,बजारको विस्तारले भविष्यमा अवश्य पनि यहाँ फ्लोरीकल्चरको भविष्य सुनिश्चित गर्नेछ’,– शर्माले भने।