सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
सधैँझैँ यस वर्ष पनि श्री स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमाबाट सुरु भएको छ। माघ महिनाको पहिलो शनिवार आमा, बुवा, मामु, भाइ र मामासँगै स्वस्थानी व्रतकथामा उल्लेख भएको पवित्र शालीनदी नुहाउन भनी गयौँ।
यो ठाउँ काठमाडौँको उत्तरपूर्वी क्षेत्र साँखुमा पर्दो रहेछ। हरेक वर्ष जस्तै यस वर्ष पनि श्री माधव नारायण– श्री स्वस्थानी व्रत तथा एक महिने शालीनदी मेलाको आरम्भ भइसकेको थियो। स्वस्थानी व्रत कथामा यस नदीको महिमा बारे सुनेकी थिएँ तसर्थ कस्तो होला भन्ने उत्सुकताले गर्दा श्री स्वस्थानी दर्शन गर्न जाने भनेर आमा-बुवाले कुरा गरेदेखि नै कति बेला जाऊँ जस्तो भएको थियो।
बिहान सबेरै उठेर नुहाएँ र फटाफट कपडा लगाएर तयार भएँ। सबै जना तयार हुनुहुँदै थियो। भाइ पनि खुब खुसी भएर कपडा लगाउँदै थियो। मैले उसलाई सहयोग गरे। आमाले नदी नुहाउन जाँदा केही नखाईकन जानुपर्छ भन्नुभएको थियो। त्यसैले एक गिलास मनतातो पानी पिएर हामी गाडीमा चढ्यौँ। रमणीय दृश्य हेर्दै र रमाइला गफ गर्दै यात्रा गर्यौँ। मामाले हामीलाई मन पर्ने गीत पनि लगाइदिनु भयो। त्यसपछि त भाइ र म झन् खुसी भयौँ।
लगभग ४५ मिनेटको ड्राइभिङ पनि निकै छोटो भएजस्तो लाग्यो। हामी नदी भएको ठाउँमा पुग्यौँ र पार्किङ एरियामा गाडी पार्क गर्यौँ। धेरै मानिसहरू र गाडीले गर्दा ठुलो भिडभाड थियो। प्रहरीहरूले सुरक्षाको राम्रो व्यवस्था गरिराख्नु भएको थियो। एउटा ठुलो पहाडको फेदीबाट नदी बगेकी रहिछिन्। अत्यन्त सुन्दर दृश्य लाग्यो।
केही समय हिँडेपछि हामी नुहाउने ठाउँमा पुग्यौँ। बाटोमा धेरै जना पसलेहरूले बिहानैबाट फूल प्रसाद तथा पूजा सामाग्रीको पसल थापिसकेका रहेछन्। किन्ने मानिसहरूको भिड लागेको थियो। अलि टाढाबाट हेर्दा त किन मानिसहरूले भिड गरेका होलान् जस्तो लागेको थियो तर नजिकबाट हेरेपछि बल्ल थाहा भयो। हामीले पनि फूल प्रसादहरू किन्यौँ।
नदी किनारमा मानिसहरूले नुहाइरहेका थिए, कोही-कोही त नदीमा डुबुल्की हान्दै पनि थिए। मलाई भने कसरी नुहाउने होला जस्तो भएको थियो किनकि पानी निकै चिसो थियो। हामी पनि नदी किनारमा गयौँ र हरहर भन्दै जल छर्केर नुहायौँ। त्यसपछि हामी पूजा गर्न मन्दिरतर्फ लाग्यौँ।
पूजा गरिसकेपछि मामुले भाइ खोइ त भन्नुभयो। तर भाइ देखिएन। सबै जना एकअर्कालाई हेराहेर गरियो अनि अकमक्क परियो। त्यसपछि हतार-हतार गर्दै हामी भाइलाई खोज्नतिर लाग्यौँ। एकछिनमै बुवाले भाइलाई भेटाउनु भयो।
भाइ रोइरहेको देखेर एकजना अंकलले भाइलाई मामु-बाबाको नाम र आफ्नो नाम के हो, कहाँबाट आएको भनेर सोध्दै हुनुहुँदो रहेछ। तुरुन्तै खुसीको वातावरण बनिहाल्यो। भाइलाई पनि टीका लगाएपछि हामी फोटो खिच्नतर्फ लाग्यौँ। राम्रा राम्रा फोटोहरू खिचिसकेपछि नजिकै रहेको पुल चढेर वरिपरि हेर्यौँ। खुब रमाइलो लाग्यो।
भाइ र मलाई खुवा खान मन पर्ने भएकोले मामालाई खुवा किन्दिन भन्यौँ। यसअघि पनि हामीले दक्षिणकाली मन्दिरको दर्शन गर्न जाँदा खुवा किनेर खाएका थियौँ। त्यसपछि आमा-बुवाले पनि भोक लाग्यो खाजा खाऊँ भनेपछि नजिकैको नास्ता पसलमा गएर जेरी, पुरी र तरकारी खायौँ खुब मिठो लाग्यो। त्यसपछि हामी गाडी पार्क गरेको ठाउँतर्फ लाग्यौँ र घरतर्फ फर्कियौँ।
यात्रा सम्झेर शनिवारको दिनभरि मलाई खुब रमाइलो लाग्यो र भाइ एकछिन हराएको सम्झेर कता-कता मनमा डर पनि लाग्यो। अनि यस्तो भिडभाडमा जाँदा खेरी आफूभन्दा ठुलो मान्छेको साथ छोड्नु हुँदो रहेनछ भन्ने पाठ मिल्यो। साथै आफ्नो बाबा, मामुको मोबाइल नम्बर याद भयो भने यस्तो बेलामा कसैलाई फोन गर्दिन भनेर हामी नहराउन सकिने रहेछ भन्ने पनि लाग्यो।
भाइ भने अप्ठ्यारो मानिरहेको थियो र अरू कसैलाई नभन है दिदी मलाई लाज हुन्छ भन्दै थियो।
(केजीया तिमिल्सिना एलआरआई स्कुल कलङ्की, काठमाडौँको कक्षा ६ मा अध्ययनरत छिन्।)