सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
साथीहरू तपाईलाई संस्कारबारे कति जानकारी छ? आज म तपाईंहरूलाई मलाई थाहा भएको ज्ञान बाँढ्न चाहन्छु।
हामी विद्यार्थीको जीवनमा पढाईको धेरै महत्त्व छ। विद्यार्थीको पहिलो काम भनेकै पढाई हो। घर, स्कुलमा, साथीभाईसँग भेटघाट हुँदा हामी प्राय: पढाईबारे कुरा गर्छौ। पढाईसँगै संस्कार महत्त्वपूर्ण छ। मेरो स्कुलमा धेरै संस्कार सिक्न पाइन्छ। घरमा हजुरआमाबाट पनि धेरै कुरा सिक्न पाइन्छ।
बिहान चाँडै उठ्ने काम विद्यार्थीको सबैभन्दा महत्वपूर्ण काम हो। उठेर सबैभन्दा पहिले के गर्ने? हाम्रो स्कुलमा के गर्ने भनेर सर-म्यामले सिकाउनुभएको छ। सुरूमा बिस्तारामा बस्ने र आफ्ना दुवै हात हेर्ने अनि कराग्ररे बसते लक्ष्मी... नामक श्लोक याद गर्ने। त्यसपछि, बिस्ताराबाट भुइँमा पाइला टेक्दा धर्तीमातालाई ढोग्ने। अनि मात्र आफ्नो नित्यकर्म गर्ने।
त्यसपछि सूर्य भगवान र तुलसी मातालाई जल चढाउने अनि भगवानलाई ढोग्ने। आफूलाई याद भएसम्मका श्लोकहरू याद गर्ने मेरो नियमित रूटिन हो। म सरस्वतीका मन्त्र, कृष्ण भगवानका श्लोक, राम स्तुति, शिवजीको मन्त्र, गणेश, दुर्गा माताको मन्त्र, शिव ताण्डव स्त्रोतम, हनुमान चालिसा आफुलाई याद भएसम्म पढ्छु। याद नभएका कुरा युट्युबमा हेर्छु।
अहिले रामायणका श्लोकहरू पनि याद गरिरहेको छु। रामायणका श्लोकहरू निकै राम्रो लाग्छ। म युट्युबमा संस्कारसहितको शिक्षाका विषयहरू खुब हेर्छु। मलाई पढाई र संस्कार समान रूपमा अगाडि बढाउनुपर्छ जस्तो लाग्छ।
मेरो स्कुलमा एउटा विषय संस्कृत छ। मलाई संस्कृत निकै मनपर्छ। हामीले पढेर धेरै नम्बर ल्याऔंला तर हामीमा घरपरिवार, समाजप्रति राम्रो संस्कार विकास हुन सकेन वा हामी सामाजिक प्राणी बन्न सकेनौँ भने त्यसको के अर्थ?
हामी साथीभाई कक्षाकोठामा खाली भएको समयमा पनि संस्कारका कुरा गर्छौ। मेरा धेरै साथी साकाहारी छन्। म पनि साकाहारी हुँ। मेरो स्कुल पनि पूर्ण रूपमा साकाहारी स्कुल हो। हामीले अध्ययन सँगै संस्कार बिर्सनु हुन्न। संस्कारसहितको शिक्षाले हरेक क्षेत्रमा सफलता दिन्छ।
(प्रत्युष काफ्ले डिएभी स्कुल जावलाखेल, ललितपुरका कक्षा ६ मा अध्ययनरत छन्।)