सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
२०८० साल, पुस ६ गते मेरो खुट्टा भाँचियो।
५ गते आन्तरिक परीक्षा सकेकाले ६ गते स्कुलले विदा दिएको थियो। विदा भए पनि स्कुलले घरबाट कतै निस्किन नदिनु भनेको थियो। म भने ममीलाई छलेर निस्किएको थिएँ। अनि म खुट्टा भाँचेर घर आएँ। स्कुल र ममीको कुरा नटेर्दाको परिणाम आफैँले सिर्जना गरेँ।
घर नजिकै रूद्रमतिको किनारको खेतमा माटो पुरेर चौरजस्तो बनाइएको थियो। त्यहाँ विद्यार्थी खेलकुद अभ्यास वा प्रतियोगिता गरिरहेका थिए। नचिनेको स्कुल र नयाँ विद्यार्थीजस्तो लागेपछि चासो लिएर म त्यता गएको थिएँ।
एउटा कालो बल गुड्दै मतिर आयो। त्यसलाई लात्ताले हान्न दौडिएँ। उताबाट कसैले हातको इसारा गरेर हान भनेझैँ लाग्यो। मैले पनि मच्चिएर हानेँ। म ठाउँको ठाउँ भुक्लुक्क ढले। त्यो फलामको छेलो पो रहेछ। हातको इसारा गर्नेले नहान्न भनेको रहेछ।
साँझको घटना भएकाले भोलिपल्ट मात्रै ममीले अस्पताल लानुभयो। खुट्टाको औँलादेखि घुँडामुनिसम्म प्लाष्टर गरेकाले स्कुल जान सक्ने अवस्था भएन। ओछ्यानमा खुट्टा तेर्स्याएर पढ्नुपर्ने भयो।
घरैमा पढेर बसुन् भनेर स्कुलले भन्दा भन्दै छोराले फुटबल खेल्न गएर खुट्टा भाच्यो भन्न कति लाज भयो होला ममीलाई! त्योभन्दा बढी लाज त्यतिबेला भयो होला जतिबेला मैले बल खेल्दा नभई छेलो हान्दा खुट्टा भाचेको हुँ भन्ने थाहा भयो।
म साथीहरूको छेलो कमेडी बनिसकेको रहेछु। मलाई भने स्कुलको १९ घण्टे एसईई रूटिनबाट मुक्ति मिलेको महसुस भयो। कोर्स सकिएर रिभिजन चलिरहेकाले कसैको सिकाई बीना पढ्न सक्थेँ। कन्फ्युज भएका कुरा सोध्ने र एसईईका सम्भावित प्रश्नहरूमाथि छलफल गर्नबाहेक अरू चिन्ता भएन।
विकल्पमा हुनुहुन्थ्यो ब्याचलर पढ्दै गरेका छिमेकी प्रदिप कार्की दाइ। म अरूबेला पनि प्रदिप दाइकहाँ पढ्न जान्थेँ। अब भने प्रदिप दाइ मकहाँ आउन थाल्नुभयो। बिहान ४ बजेदेखि राति ११ बजेसम्मको स्कुलको रूटिनमा बाबाको असन्तुष्टि थियो। खाली समय र मनोरञ्जन पनि आवश्यक पर्छ भन्नु हुन्थ्यो।
बिहान ४ बजे उठेर पढ्न लगाउने, ७ बजे स्कुल बोलाउने अनि राति ७ बजेसम्म पढाउने, घर जानेबेला अभिभावकलाई साक्षी राखेर आधा घण्टा ब्रिफिङ गर्ने स्कुलको व्यवहारले मोटिभेशन होइन इरिटेशन गर्छ भनेर साथीहरूका अभिभावकसँग बाबाले फोनमा कुरा गरेको सुन्थेँ।
स्कुलले त्यसो गरेको हाम्रै छोराको लागि त हो भन्नुहुन्थ्यो ममीचाहिँ। आयुशका बाबाले एकसाँझ प्रिन्सिपल सरसँग प्रतिवाद गर्नुभयो। त्यसपछि गफगाफ, खाना, खाजा मनोरञ्जन समय छुट्याएर ८ घण्टा पढाइमा मात्रै लगाउने रूटिन बनायौँ। विषय र त्यसको शीर्षक आवश्यकता अनुसार थपघट गर्यौँ। कुन समयमा कुन पाठ पढ्ने, आफ्नो आवश्यकता अनुसारको बनायौँ।
हाम्रो यो संशोधनलाई ममीबाबाले स्वीकार गरेपछि म अझ उत्साहित बनेँ। आफ्नो रूटिन बनाएर प्रदिप दादासँग घरैमा पढन् थालेपछि कसैको कुनै प्रेसर पनि महसुस भएन। धेरै अल्छि पनि लागेन।
ममी भन्नुहुन्थ्यो, 'प्रदिप दाइलाई टेरिनस्, अल्छि गरिस्, ठगिस भने स्कुटरमा हालेर स्कुल लैजान्छु।'
प्लास्टर गरेको खुट्टो लिएर स्कुल जाने रहर मलाई थिएन। यति आनन्दले ओछ्यानमा बसेर, सुतेर पढ्न पाएको छु, राति मजाले निन्द्रा पुगेको छ किन गुमाउनु पाएको सुविधा? परीक्षाअघि स्कुल जानै नपरेहुन्थ्यो जस्तो लागेको थियो। त्यसैले ममीलाई त्यो अवसर दिइनँ।
१ महिनापछि पुलिस अस्पतालमा प्लास्टर खोलियो तर स्कुल जानुपर्ने कुराले चिन्ता लाग्यो। जति मिहिनेत गरे पनि यतिले पुग्दैन भन्नुहुन्थ्यो सरहरू। प्रदिप दादाले भने भन्नुहुन्थ्यो, 'यति भएपछि पुग्छ।'
'प्लाष्टर खोलेको नभन्नु है' भनि ममीलाई फकाएर म थप एक हप्ता घरैमा बसेँ। स्कुलमा बेलुकीको ७ बजेसम्म पढाई हुन्थ्यो। त्यसपछि घर आएर खाना खाँदा ८ बज्थ्यो। अनि ११ बजेसम्म पढ्नैपर्ने रूटिन थियो। दिनभरको पढाइ र लेखाइले टाउकै दुखेको हुन्थ्यो। दिमाग पनि भारी हुन्थ्यो।
मैले स्कुलको रूटिनलाई पूरै पालना गर्न सकिनँ। मैले आफूलाई जसरी सजिलो हुन्छ त्यसरी पढेको थिएँ। म स्कुलबाट आएर खाना खाने बित्तिकै ८ बजे नै सुतिदिन्थेँ। करिब पाँच घण्टा सुतेपछि अलार्म लगाएर उठ्थेँ। बेलैमा सुत्दा थकान पनि मेटिने, निन्द्रा पनि पुग्ने र बिहान पढ्ने बानी बनेको थियो।
बाबाले पनि भन्नुभएको थियो, 'मध्यरातमा उठेपछि निन्द्रा बिग्रेर असर गर्दैन भने तलाई जसरी सजिलो हुन्छ त्यसरी पढ्नु।'
त्यसपछि मैले स्वतन्त्र भएर आफ्नो तरिकाले पढ्न पाएँ।
उज्यालो नभई मध्यरातमा उठ्न सजिलोचाहिँ भएन। नउठौँ जस्तो लाग्थ्यो। तर अलार्म रिपिटेसनमा हुन्थ्यो। ममीले पनि घचघच्याउनुहुन्थ्यो। एसईई सम्झेर उठेर पढ्थेँ।
पहिले पढ्थे अनि पढेको विषयलाई लेख्थे।
ममी भन्नुहुन्थ्यो, 'कुनै कुरा लेखेपछि त्यसलाई एकपटक पढ्। अनि पढेको दिमागमा घुस्छ।'
मलाई लेख्न झन्झट लाग्थ्यो। ममीले कराउँदा-कराउँदा पढेको लेख्न र लेखेको पढ्न बाध्य हुन्थेँ।
वहाँ भन्नुहुन्थ्यो, 'सुत्दा आफूले भर्खर पढेको वा लेखेको कुरा सम्झ्दा दिमागमा रहन्छ।'
मैले ध्यान साधना गरेकाले त्यसको फाइदा थाहा थियो। त्यही पनि पढेको विषय सम्झेर सुत्न अल्छि लाग्थ्यो। बलजफ्ति सम्झेर सुत्दा पनि त्यो कुरा दिमागमा रहन्थ्यो।
सबै बालबालिकाको फरकफरक क्षमता र शैली हुन्छ। सबैलाई आ-आफ्नै तरिकाले पढ्न दिनुपर्छ जस्तो लाग्छ।
प्राणायाम, ध्यान र योगबाट थकान मेटाउन, अल्छि हटाउन र सम्झना शक्ति बढाउन सकिने हुँदा यो सबैले प्रयोग गर्नुपर्छ। मैले विपश्यना केन्द्र लगायत विभिन्न साधना केन्द्रबाट योग ध्यान र प्राणायाम अभ्यास गरेकाले यो कुरा आत्मविश्वाससहित भन्न सक्छु।
अर्को कुरा, कुर्सी वा भुइँमा बसेर पढ्दा कम निन्द्रा लाग्छ। ओछ्यान वा अन्यत्र ढल्केर वा सुतेर पढ्दा छिटो निन्द्रा लाग्ने हुँदो रहेछ।
अल्छि वा निन्द्रा लाग्दा एकछिन आँखा चिम्लेर ध्यान गर्ने, अझ भर्खर पढेको कुरा मनमा लिएर ध्यान गर्न सके झनै राम्रो। यस अलावा दिमाग भारी भयो भने आँखा चिम्लेर मनले आफ्नो शरीरको शीरदेखि पाउसम्म हेरेर शान्तपूर्वक एकछिन बस्दा थकान घट्ने र सम्झने क्षमता बढ्नेरहेछ।
यसबाहेक मादल, हारमुनी, गीतार जे छ बजाएर आफूलाई मन परेको गीत गुनगुनाउने, नाच्ने वा एकछिन कसैसँग गफ गर्दा पनि आलश्य हटेर जाने रहेछ।
मलाई पनि मोबाइल खेलाउने लत भएकाले मोबाइल हेरिहालौँ जस्तो लाग्थ्यो तर मोबाइल खेलाउन बन्द जस्तै थियो। एसईई सकिएपछि नयाँ मोबाइल दिने सर्तमा दैनिक १ घण्टा मात्रै मोबाइल चलाउथेँ। हातमा मोबाइल परेपछि पढ्न बिर्सिने वा पढ्दा मन नलाग्ने हुन्थ्यो।
बरू योगका केही आसनहरू गर्दा वा एकछिन आँखा चिम्लेर आफूले फेरिरहेको सासलाई नियाल्दा हल्का महसुश हुन्थ्यो। भुइँमा पलेटी कसेर, कुर्सीमा बसेर वा उत्तानो सुतेर लामो सास लिने छोड्थे।
रातको समयमा यसरी ध्यान गर्दा कतिपटक झ्याप्पै निदाएको छु। रातमा पढे-नपढेको हेरिदिने कोही नहुँदा निन्द्रा वा अल्छि लाग्दा कफी बनाएर पनि पिउँदै पढेको छु।
२०८१ साल असार १२ गते रिजल्ट आउने समाचार आउँदा डर लागेको थियो। ममी पनि छटपटाएको देखेँ।
बाबाले फोन गरेर भन्नुभयो, 'रिजल्ट जस्तो आए पनि हाँसेर स्वीकार गर्नुपर्छ। आफूले गरेको कर्मको फल आउने हो। अरूले खटाएर, पक्षपात गरेर दिने होइन। आफूले निर्माण गरेको नतिजालाई अस्वीकार वा असन्तुष्टि व्यक्त गर्नु आफूमाथि अविश्वास गर्नु हो।'
रिजल्ट प्राविधिक कारण अर्को दिन आयो। रातभर छटपट्टि भयो।
रिजल्टमा मैले ३्.७० जिपिए पाएछु। अनि दौडिएर स्कुल गएँ। कुनै-कुनै विषयमा कम नम्बर आएर ४ जिपिए नपुगेकाले अलि पश्चताप भयो। ममीले भनेझैँ पढ्दै लेख्ने, लेख्दै पढ्ने र सुतेपछि पढे-लेखेको कुरा सम्झिँदै निदाउने बानी बढाएको भए अझ राम्रो अंक आउने रहेछ भन्ने लाग्यो।