सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
शनिबारको दिन थियो।
मैले बिहानै उठेर नुहाई-धुवाई गरेर खाना खाएँ। केही बाँकी गृहकार्य सकेर ममीलाई घुम्न लग्न जिद्दी गरेँ। ८ वर्ष मात्र त थिएँ। त्यसैले जिद्दी गर्नु अस्वभाविक थिएन।
धेरै जिद्दी गरेपछि ममीले बल्ल मान्नु भयो र लुगा लगाउन भन्नुभयो। मैले रमाउँदै लुगा लगाएँ। ममीले मलाई मामाघर लग्छु भन्नु भएपछि मेरो भुइँमा खुट्टा भएन।
मलाई बच्चैदेखि मामाघर असाध्यै मन पर्थ्यो। ‘मेरो ममी कति राम्रो’ भन्दै अंगालो हालेँ। ममी पनि हाँस्नु भयो। त्यसपछि ममीको हात समातेर बस चढ्ने ठाउँसम्म पुगेँ।
ममीले मलाई ‘मेरो फोन एकछिन समात है’ भनेर गोजीबाट फोन निकालेर मेरो झोलामा हालिदिनुभयो। म एक अन्जान मानिसको काखमा बसेकी थिएँ। सिट नभएर ममीचाहिँ उभिनुभएको थियो।
केही बेरपछि मलाई काखमा राख्ने मान्छे गाडीबाट ओर्लियो। ममी त्यो सिटमा आएर मलाई काखमा राखेर बस्नुभयो। एकछिनमा हामी ओर्लने ठाउँ पनि आइहाल्यो। म त ममीको काखमा निदाइसकेछु। मलाई ममीले उठाउनुभयो। उठ्न मन नलागी-नलागी उठेँ। ममीको हात समाएर मामाघर पुगेँ।
मैले सबैजनालाई नमस्ते गरेँ। मामाघर आउन पाएर म फुरूङ थिएँ।
‘ल छोरी, चिसो खुवाउ त सबैलाई,’ आमाले काम अह्राएपछि मैले सबैलाई चिसो बाडेँ।
कौसीमा एकदम मीठो सुगन्ध आउने फूलहरू थिए। म त्यही हेर्न कौसीमा निस्किएँ। मलाई मामाघरको कौसीबाट चिया खाँदै स्वयम्भूको दृश्य हेर्न एकदम रमाइलो लाग्छ। सेतो गुम्बाको दृश्य एकदम सुन्दर थियो।
मामाघरमा मामाहरूले एउटा कुकुर पाल्नुभएको छ। उसको नाम विखे हो। विखे ज्ञानी छ। उसँग निकै बेर खेलेपछि ममी भएको ठाउँमा गएँ। ममी र हजुरआमाबुबाको गफ सुन्न थालेँ। म बच्चालाई वहाँहरूको कुराकानीमा के रस बस्थ्यो! एकछिनपछि अच्छी लाग्यो अनि ममीलाई फेरि हैरान गर्न थालेँ।
दाईदिदी, भाइबहिनी खै भन्दै मैले आमालाई सोध्न थालेँ। सबैजना आफ्नै गफमा व्यस्त हुनुहुन्थ्यो। म फुच्चीको कुरा कसले सुनिदिने? मेरो कुरा कसैले सुन्नुभएन। आफ्नो जिज्ञासाको जवाफ नपाएपछि मलाई रिस उठ्यो। त्यसपछि ममीलाई हैरान गर्न थालेँ। अत्ति गरिसकेपछि ममीले मलाई मामाको छोरासँग भेटाइदिनुभयो।
हामी के-के खेल्न थाल्यौँ। ममी केही समयपछि आत्तिदै आउनुभयो र फोन कहाँ छ भन्न थाल्नुभयो। झोलामा छ होला भनेर मैले ममीलाई झोला दिएँ। ममीले झोलामा फोन खोज्नुभयो तर त्यहाँ थिएन। सबैतिर खोजियो तर भेटिएन।
म एकदम डराएर रून थालेँ। धेरै खोजेपछि ममीले फोन हराएकै हो भन्नुभयो। म झन रून थालेँ र फोन भेट्टाए पनि हुने भन्न थालेँ। फोन हराएकोमा ममीले मलाई दोष दिनुभयो। मलाई साह्रै नरमाइलो लाग्यो।
कतै भेटिहालिन्छ कि भनेर फेरि एक्लै फोन खोज्न थालेँ। ममीले निकै गाली गर्नुभयो। फोन हराउनुमा मेरो के दोष भन्ने लागेर निकै चित्त दुख्यो। मलाई त ममीलाई नै दिएको जस्तो लागेको थियो। ममीलाई यही कुरा भनेँ। ममी मसँग झन रिसाउनुभयो।
म एकछिनसम्म फोनबारे सोचेको सोच्यै भएँ। अन्तमा मैले गाडीबाट निस्कने बेला ममीलाई नै फोन दिएको हो भन्ने निश्कर्ष निकालेँ। म ममी पहिला बस्नुभएको आमाको कोठातिर खोज्न गएँ। सोफा पछाडि हेर्दा त फोन त्यही रहेछ। फोन भेट्टाएपछि मेरो खुसीको ठेगान रहेन। म छिटो-छिटो ममीलाई खोज्न गएँ।
ममीले सबै उल्टो बुझ्नुभयो। ममीलाई त मैले फोन लुकाएको जस्तो लागेछ। मैले धेरै प्रयास गरेँ ममीलाई बुझाउन तर मैले झुटो बोलेको भन्नुभयो। अनि दिक्क भएर बुझाउन छाडिदिएँ। म त फोन भेट्टाएर एकदम खुसी थिएँ। पछि घर फर्किएँ अनि ममीले बाबालाई सबै कुरा सुनाउनुभयो। बाबा दंग पर्नुभयो तर मलाई विश्वास गरेर मेरो कुरा पत्याउनुभयो।
बेलुका ममीले मीठो खाना बनाउनुभयो। दाल, भात र पनिर एकदम मीठो थियो। भोलिपल्ट त सबैले यो कुरा बिर्सिनुभयो। तर मेरा लागि यो अविस्मरणीय दिन थियो। आफ्नै झोलाबाट गायब भएर बिलाएको फोन त्यसबापत पाइयो। तर मैले अनाहकमै गाली खाएको थिएँ जुन कुरा म कसरी बिर्सन सक्थेँ र!
(करूणा मगर हिमरश्मी हाइस्कुल, तारकेश्वर––९, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छिन्।)