सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
साथीहरू, म कक्षा एक पढ्दाको कुरा हो - स्पेलिङ प्रतियोगिताको तयारी गर्दा एउटा शब्द अनुशासनको अंग्रेजी शब्द 'disciplined' को स्पेलिङ कण्ठ पार्नु थियो। शब्दको अर्थ थाहा नभए पनि मैले अनुशासित भएर स्पेलिङ प्रतियोगिताको तयारी गरेको सम्झना आउँछ। फलस्वरूप, मेरो ब्लू हाउसले तेस्रो स्थान पाएको थियो।
केही महिनापछि मैले म्यामहरूले भन्नुभएको सुनेँ, 'मानवी क्लासमा कति disciplined छ है!'
मैले त्यसको अर्थ बुझेकी थिइन। मैले मेरो मामुलाई सोधे र वहाँले नेपालीमा यसलाई के भनिन्छ भनेर भन्नुभयो।
वहाँले भन्नुभयो, 'नेपालीमा यसलाई अनुशासन भनिन्छ। अनुशासन भनेको हामीले हरेक काम सही तरिकाले गर्नु हो। यसले हामीलाई राम्रो बानी बसाल्न र सफलताको लागि तयारी गर्न मद्दत गर्छ।'
बिहान चाँडै उठ्नु, समयमा विद्यालय जानु, होमवर्क समयमा गर्नु, शिक्षकको कुरा ध्यानपूर्वक सुन्नु र आमाबाबुको निर्देशन मान्नु अनुशासनका उदाहरण हुन्। यी सबै कामले हाम्रो दिनचर्या राम्रो बनाउँछ र हामीलाई सफल बनाउँछ।
त्यो बेला मैले अलिअलि मात्र बुझे। अब कक्षा ४ मा आइपुग्दा भने मैले अनुशासन भनेको राम्ररी बुझ्न थालेको छु। मेरो कक्षामा धेरै साथी छन्। उनीहरू सभ्य, गुरूहरूलाई आदर र सम्मान गर्ने, पढेको बेला हल्ला नगर्ने, गृहकार्य, परियोजना कार्यहरू समयमा सकेर बुझाउने हुनुहुन्छ।
कति साथीहरू भने गुरूआमाहरूलाई दिक्क लगाउने, उट्पट्याङ बोल्ने, अरू साथीलाई पिट्ने, पेन पेन्सिल चोर्ने, पढेको बेला हल्ला गर्ने गर्नुहुन्छ। अनुशासन नभएका कामले हाम्रो विद्यार्थी जीवन कति कठिन बनाउँछ है!
पढेको बेला हल्ला गर्दा पाठहरू बुझिदैन। अनि परीक्षामा कसरी लेख्ने? गुरूआमाहरूलाई दिक्क लगाउँदा वहाँहरूलाई कति नराम्रो लाग्छ होला है? हामीलाई बुझाउन, पढाउन भनेर कति अनुशासित भएर वहाँहरूले तयारी गर्नुभएको हुन्छ। कक्षाकोठामा सबै साथीहरू मिलेर बस्दा, पढ्दा कत्ति रमाइलो हुन्छ। तर एकले अर्कालाई पिट्ने, अर्काको सामान चोर्ने गर्यो भने स्कुल नै जान मन लाग्दैन।
घरमा बस्दा पनि अनुशासन महत्त्वपूर्ण हुन्छ। अनुशासनको पालना गर्दा मात्र हामीले हाम्रो बानी व्यवहारहरू राम्रो बनाउन सक्छौं। जस्तै कि, बेलुका चाँडै सुत्ने अनि बिहान चाँडै उठ्ने। कति साथीहरू राति अबेरसम्म टेलिभिजन हेरेर बसेको अनि भोलिपल्ट स्कुल आउन ढिलो भएको सुनेको छु। त्यसो त गर्न भएन नि साथीहरू!
आमाबाबाले भनेको मान्ने, गृहकार्य अघिल्लो दिन नै सकेर रूटिन अनुसार नोटबुक, स्टेशनरीज भोलिलाई तयार राखेर सुत्यो भने बिहान स्कुल जाने बेला हतार नि हुँदैन। हामी कहिलेकाहीँ सारै अल्छी हुन्छौं। हात-मुख नधुने, फोहोरी पाराले खाने, किताब जथाभाबी राख्ने अनि आफ्नो स्कुल ड्रेस पनि जथाभावी फाल्ने गर्छौं। हामीले अनुशासनको पालना गर्यौ भने यस्ता नराम्रो बानीहरू बिस्तारै हट्दै जान्छन्।
अनुशासनले हाम्रो दैनिक जीवनलाई राम्रो बनाउँछ। जब हामी अनुशासित हुन्छौं, हामीले हरेक काम समयमै गर्छौ। यसले हामीलाई सफलता हासिल गर्न मद्दत गर्छ। अनुशासनले हामीलाई हाम्रो लक्ष्यतर्फ केन्द्रित रहन सिकाउँछ। यसले हामीलाई हरेक काममा समय व्यवस्थापन गर्न मद्दत गर्छ।
अनुशासन भनेको हामीलाई सही बाटोमा हिँड्न मद्दत गर्ने एक महत्वपूर्ण गुण हो। यसले हाम्रो भविष्य उज्ज्वल बनाउँछ र सफलताको ढोका खोल्छ। साथीहरू, हामी सबैले अनुशासन पालन गरेर राम्रो नागरिक बनौं र जीवन सफल बनाऔं। अनुशासनले हामीलाई हरेक कदममा सफलता प्राप्त गर्न मद्दत गर्छ र जीवन सुखमय बनाउँछ।
अहिले हामी सानै छौ। हामीलाई के कुरा ठीक र के बेठीक भन्ने थाहा हुँदैन। त्यसैले, आमाबाबा अनि गुरू-गुरूमाहरूको निर्देशन मानेर राम्रा बानीहरू सिक्यौ भने हामी अनुशासित भइहाल्छौ नि!
(मानवी अधिकारी तक्क्षशिला प्रोग्रेसीभ स्कुल बिर्तामोड, झापामा कक्षा ४ मा अध्ययनरत छिन्।)