सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
जलवायु परिवर्तन भन्नाले मौसममा आउने फेरबदल वा बदलाव हो। पछिल्लो समय मौसममा परिवर्तन तीब्र गतिमा देखा पर्दै गएको छ। आजकाल गर्मी अत्याधिक हुन्छ। जाडो पनि अत्याधिक हुँदै गएको हामीले अनुभव गरेका छौं। यसपालि त चैतको मध्यसम्म पनि जाडोको अनुभव भयो।
पृथ्वीको वायुमण्डलमा हरितगृह गयासको तह बढ्दै गएको छ। यसले गर्दा विश्वव्यापी रूपमा तापक्रम बढ्दैछ। यसले हाम्रो वातावरणमा ठूलो प्रभाव पारेको छ। ओजोन तह पृथ्वीको 'स्ट्राटोस्फियर' को क्षेत्र हो। यसले सूर्यको अधिकांश किरण पृथ्वीमा पुग्नुअघि नै सोस्छ। ओजोन तहमा नै हरितगृह ग्यास हुन्छ। अनियन्त्रित अनि अव्यवस्थित मानव गतिविधि, सहरीकरण र औद्योगीकरणले ओजोन तहमा हरितगृह ग्यास बढाउछ। यसले पृथ्वीको तापक्रममा असामान्य रूपमा बदलाव आउँछ।
जलवायु परिवर्तनको प्रमुख कारण वन विनाश गर्ने, इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग गर्ने, धेरै पशुपालन गर्ने र प्राकृतिक दुर्घटनाहरू जस्तै ज्वालामुखी विस्फोटन आदि हुन्। जलवायु परिवर्तनले हाम्रो दैनिक जीवनमा ठूलो असर पार्छ। हिमनदी र हिमताल पग्लिनछन् जसले गर्दा वालरस, आर्कटिक फक्सजस्ता जनावर लोप हुँदैछन्।
हिमालको हिँउ पग्लेर कालो पहाड देखिन थालेका छन्। बाढीपहिरोको जोखिम बढ्दै छ। नयाँ-नयाँ संक्रामक रोगहरू देखा पर्दैछन् जसले मनुष्यको प्राण जोखिममा पार्ने क्रम बढ्दै गएको छ। यसरी जलवायु परिवर्तनले हाम्रो जीवनमा नराम्रो असर पारेको छ। समस्या समाधानका लागि हामीले खाली जग्गामा रूख रोप्नुपर्छ। इन्धन प्रयोग गर्ने सवारी साधनको सट्टा विद्युतिय सवारी प्रयोग गर्नुपर्छ।
जलवायु परिवर्तन मानव सिर्जित गतिविधि र प्राकृतिक प्रकोपबाट हुन्छ। हालको तथ्यांकअनुसार मौसमको असामान्य रूपमा फेरबदल २ प्रतिशत मात्र प्राकृतिक कारणले हुन्छ। बाँकी ९८ प्रतिशत मानव गतिविधिले हुन्छ। जलवायु परिवर्तनले हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ र यस्तो हुनुमा हामी मानव जातिको भूमिका पहिलो हो। त्यसैले हामी सबैले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न योगदान दिनुपर्छ।
पृथ्वी हाम्रो घर हो। घर नै रहेन भने हामी कहाँ बस्ने? त्यसैले जलवायु परिवर्तनबाट हुने असरबाट बच्न र पृथ्वी बचाउन आवश्यक छ।
(आरुषी सापकोटा पाठशाला नेपाल फाउण्डेसनमा कक्षा ८ मा अध्ययनरत छिन्।)