सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
मेरो बाबा आर्टिफिसियल इन्टिलिजेन्सको बारेमा निकै चासो दिएर खोजी गर्नुहुन्छ। गुगल, च्याटजिपिटिमा खोज्नुहुन्छ के-के खोजी बस्नुहुन्छ। युट्युबमा एआइ सम्बन्धी भिडियोहरू हेर्नुहुन्छ। एआई बैज्ञानिकहरूसँग कुराकानी पनि गर्नुहुन्छ।
बाबाले खोजी गरिरहँदा मलाई पनि एआइका बारेमा जान्न मन लाग्यो। मैले पनि इन्टरनेटमा खोजे। बिस्तारै धेरै कुरा थाहा पाउँदै गए। एकदिन त मैले स्कुलको एसेमब्लीमा मैले एआईकाबारे स्पिच (भाषण) नै दिए। कोअर्डिनेटर सरले निकै मन पराउनुभयो। मेरो स्पिचको प्रशंसा गर्नुभयो। मलाई अझै खोजी गर्न मन लाग्यो।
स्कुलमा सर-म्यामले मलाई एआईको बारेमा दुईपटक एस्से (निबन्ध) लेख्न लगाउनुभयो। मैले लेखेँ। मलाई एआईको बारेमा अझ चाख बढयो। एआईका बारेमा मैले जानेका केही कुरा तपाईहरूलाई पनि सेयर गर्छु ल!
आर्टिफिसियल इन्टिलिजेन्सलाई छोटकरीमा एआई भनिन्छ। एआई अहिले सुपर स्मार्ट साथी बनेको छ। हरेक क्षेत्रमा यसको प्रयोग छ। मान्छेले जसरी बुद्धि लगाएर काम गर्ने मेसिन नै एआई हो। एआइले मान्छेले जस्तै सोचविचार गरेर काम गर्न सक्छ। एआईले आफै डिसिजन (निर्णय) पनि लिन्छ।
बिस्तारै सिक्दै सिक्दै एआई जान्ने हुन्छ। मान्छेको दिमाखले भन्दा एआईले छिट्टो सिक्न सक्छ। एआईले मान्छेले भन्दा धेरै छिट्टो काम गर्छ। चौबिसै घण्टा काम गर्न सक्छ। एआईलाई काम गर्न डाटा भने नभई हुँदैन। डाटाकै आधारमा सिक्दै आफ्नो समस्या समाधान गर्छ। सोधेका कुरामा सल्लाह दिन्छ।
एआई हाम्रो दैनिक जीवनको अभिन्न अंग बन्दै गएको छ। हामी एकातिर, एआई अर्कातिर भएर गेम खेल्न सकिन्छ। हामी भन्दा छिट्टो दिमाग लगाउन सक्छ। चेस, प्लेकार्डस् लगायत धेरै गेम खेल्न सकिन्छ।
सिरी वा एलेक्सामा हामीले सोधेको कुरा एआइले बुझउँछ र तत्काल जवाफ पनि दिन्छ। आवाज चिनेर जे सोधेको हो जवाफ फर्काइहाल्छ। एआई रोबोटले अस्पतालमा डाक्टर अंकलहरूलाई पनि उपचारमा सहयोग गर्न सक्छ। अपरेसनमा पनि सहयोग गर्छ। चेकअप पनि गर्न सक्छ। आगलागि भयो भने आगो निभाउन, बम डिफ्युजन गर्न पनि एआई रोबोर्ट प्रयोग गर्न सकिन्छ।
एआइले चलाउने कारहरू पनि विदेशमा प्रसस्तै छन्। ड्राइभर बिनै एआईले कार चलाउन सक्छ। वेदर फोरकाष्ट गर्न, प्राकृतिक प्रकोपको फोरकाष्ट गर्न पनि एआइले सहयोग गर्छ।
हामी बढ्दै जाँदा एआई हाम्रो साथी हुनेछ। यसले हामीलाई धेरै तरिकामा मद्दत गर्नेछ। एआईले धेरैको जागिर खाइदिन सक्छ। तर मलाई के लाग्छ भने एआई हामीलाई प्रतिस्थापन गर्न होइन, हाम्रो जीवनलाई अझ राम्रो र रोमाञ्चक बनाउनको लागि हो। एआई हाम्रो जीवनलाई अद्भुत र आश्चर्यले भरिएको बनाउन आएको हो कि जस्तो लाग्छ।
बालबालिकाका लागि एआई किन चाहिन्छ? अर्को पटक लेख्नेछु।
(बिक्रान्त भट्टराई सुष्मा सेकेन्डरी स्कुल, इटहरीमा अध्ययनरत छन्।)