सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
केही दिनअघि हाम्रो विद्यालयले हामीलाई शैक्षिक भ्रमणमा लगेको थियो। यो शैक्षिक भ्रमण दशैँ र तिहारको बीचमा हुने विदामा जाने भनिए पनि हाम्रो सेन्टअप परीक्षा सकिएर मात्र सम्भव भएको थियो। विद्यालयले भ्रमण लाने टुङ्गो गरे पनि हामी दुई दाजुभाइलाई एउटा सानो समस्या थियो।
म र दाजु दुवैजना नौ दिन बिरामी भएर भर्खरै उठेका थियौं। भाइरल संक्रमित मलाई १०३.९ डिग्रीसम्मको ज्वरोले लगातार चार दिनसम्म पानीपट्टि गर्नुपरेको थियो। ज्वरोकै बीचमा सुरुका दुई वटा परीक्षामा हामीलाई सामिल हुन हुम्मे परेको थियो। हामी पूर्ण स्वस्थ नभएको र खोकीसमेत बाँकी रहेकोले हाम्री आमा हामीलाई जान दिने मनस्थितिमा हुनुहुन्न थियो।
कक्षा चारदेखि सँगै पढेका र विद्यालय छोड्न लागेका हामी साथीहरूका बीचमा हुने यो भ्रमणलाई छुटाउन हामी चाहँदैन थियौँ। हाम्रो निरन्तर अनुरोध, मेरा साथीहरू, शिक्षकहरू र अरु अभिभावकहरूको सहयोगमा आमाले हामीलाई अन्ततः जान दिनुभयो। मेरो परीक्षा सकिएको दिन भ्रमणका निम्ति उत्साहित भएर हामी दाजुभाइ घर आयौं।
हामीले बिहान ५:३० बजे निस्कने योजना बनाएका थियौं। मैले मेरो झोला प्याक गरें। हाम्रो स्वस्थ्यलाई लिएर आमा चिन्तित भएकाले मलाई धेरै औषधि र न्यानो लुगाहरू प्याक गराउनुभयो। तर पनि म खुसी थिएँ किनकि अन्तत: म यो भ्रमणमा जान पाइरहेको थिएँ। अर्को दिन छिटो उठ्नुपर्ने भएकाले म अलि चाँडो सुतेँ।
सधैं ढिलो उठ्ने म भोलिपल्ट छिट्टै उठेर फ्रेश भएर लुगा लगाएँ। हल्का ब्रेकफास्ट गरेपछि हामी स्कुलतिर लाग्यौँ। हामी स्कुल पुग्दा धेरै साथीहरू आइपुगेका थिएनन् तर छ बजेसम्म सबै जना आइपुगे।
हामीलाई भ्रमणमा लाने टुरिष्ट बस पनि आइपुग्यो। अन्तिम सिट म र केही साथीहरूले कब्जा गर्यौं। अरूहरू बीचमा र शिक्षकहरू अगाडि हुनुहुन्थ्यो। हाम्रो यात्रा अन्तत: बिहान सवा छ बजे सुरु भयो।
सबै साथीहरू स्कुल जीवनको आन्तिम सामुहिक यात्रामा जान पाएकोमा उत्साहित थिए। २५ विद्यार्थी, पाँच शिक्षक र दुई जना गाइडले हाम्रो बस भरिएको थियो। चाँडै बसभित्र संगीत बज्न थाल्यो र सबैले संगसंगै गाउन थाले। हामीले कलङ्की पार गर्यौं र बल्ल प्रतिक्षित यात्रा सुरु भएको आभास भयो।
त्यसपछि विस्तारै मनमोहक दृश्यहरूको मजा लिदै हामी आघि बढ्यौ। हामी खाजा खान बेनिघाटमा रोकियौं। सुन्दर नदी, हिमाल, पहाडको दृश्य अवलोकन गर्दै हामी पोखरा पुग्यौँ। बसमा ठूलो स्वरमा गीत गाएको र हल्ला गरेकाले केटाहरूको स्वर भासिएको थियो।
यात्राले हाम्रो शरीर अलिकति दुखेको भए पनि मन भने उत्साहित थियो। हामी पोखरामा नरोकिइ त्यसै दिन लुम्ले पुग्यौँ। लुम्लेबाट हामीले 'अस्ट्रिया आधार शिविर' पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नु थियो। पैदल यात्रा धेरै आप्ठ्यारो थिएन र साथीहरूको उपस्थितिले यसलाई आझै सजिलो बनायो।
हामी दृश्य र नयाँ अनुभवको आनन्द लिँदै आधार शिविर पुग्यौं। सबैजना क्याम्पमा पुगेपछि हामीलाई हाम्रो कोठा दिइयो। मैले मेरो कोठा तीन अन्य साथीहरूसँग साझा गर्न पाएँ र हामीले रमाइलो गर्दै रात बिताउने निश्चय गर्यौं। डिनरपछि सबैजना आगोको वरिपरि थियौं। आगो ताप्दै हामीले अन्ताक्षरी खेल्यौं र शिक्षकहरूसँग नाच्यौं। नाचगान सकेर ढिलोगरी हामी कोठामा सुत्न गयौं तर त्यहाँको वातावरण यति रोमाञ्चक थियो कि सबैजना रोमाञ्चित भएर सुत्न सकिरहेका थिएनन्। आआफ्ना घरमा हुने साथीहरू आज जीवनमा पहिलो पटक यसरी समूहमा भेला भएर रात बसेका थियौं।
रातभरि गफ गर्दै बसेकाले हामी जम्मा तीन घण्टा मात्र सुत्यौं। बिहान उठेर म तयार हुँदै गर्दा अचानक सरले सबैलाई बाहिर बोलाउनु भयो। बाहिरको दृश्य अत्यन्त मनोरम थियो। हामीले देखेका प्रत्येक हिमालहरू अविश्वसनीय रुपमा सुन्दर थिए। हाम्रो होटेलको दाहिनेपट्टि दुई वटा हिमाल आफ्नो महिमामा चम्किरहेका थिए। आफ्नो आकार र सौन्दर्यको कारण माछापुच्छ्रे यसै चिनिन्थ्यो भने अर्को उत्तिकै सुन्दर हिमाल मैले नामले चिन्न सकिनँ। मैले अनुमान लगाएँ कि त्यो अन्नपूर्ण हुनुपर्छ नभन्दै त्यो 'अन्नपूर्ण साउथ' रहेछ। यस साथै हामीले त्यहाँ मार्दी लगायत विभिन्न हिमशिखरका दृश्य हेर्यौं।
होटल माथिबाट देखिने यी प्रत्येक दृश्य मनमोहक थिए। हामी सबैले हिमाल र सूर्योदयको प्रशंसा गर्यौ। जब सूर्योदय भयो तब हिमालहरूले आघिको सेतो रङ्गबाट सुन्तला र रातो रङ्गमा आफ्नो रुप परिवर्तन गर्दाको अनुपम दृश्य हामी सबैका लागि रोमान्चकारी र अविस्मरणीय थियो। सबैले तस्बिरहरू लिएपछि हामी बिहान नास्ता गर्न तल गयौं।
जब हामी हाम्रो होटेलबाट शिविरतिर लाग्यौं, मैले माछापुच्छ्रेको विस्मयकारी रुप देख्न पाएँ जुन बाघसँग मिल्दोजुल्दो हुँदोरहेछ। आधार शिविरबाट हामीले थप तस्बिरहरू खिच्यौं र प्रकृतिको सुन्दरतालाई सधैंका लागि मनमा कैद गर्यौं। त्यहाँ राखिएको नेपालको राष्ट्रिय झण्डामुनि उभिएर गर्व महसुस गर्दै फोटा खिचेपछि हामी सबै होटलतिर लाग्यौं।
अब त्यहाँबाट धम्पुसको पदयात्रामा निस्किनु थियो। यो यात्रा निकै रोमाञ्चक र रमाइलो हुनेवाला थियो। टुर गाइडहरू, शिक्षकहरू र साथीहरूसँग हिँडेका यी पल मैले कहिल्यै बिर्सने छैन। माछापुच्छ्रे, अन्नपूर्ण र अन्य हिम चुचुराका सुन्दर दृश्य हेर्दै हामी धम्पुस पुग्यौं।
धम्पुसमा हामीलाई बसले पर्खिरहेको थियो। बस चढेर हामी पोखरा पुग्यौं। होटलमा आआफ्नो कोठामा सामान राखेर हामीले खाना खायौं। त्यसपछि हामी अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयमा गयौं। भित्र गएर हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरू, पर्वतारोहणमा प्रयोग हुने सामान र हिमालहरू बारे जानकारी प्राप्त गरेपछि हामीले नेपालको हिमाली क्षेत्रहरूको बारेमा छोटो डकुमेन्ट्री हेर्यौं। त्यसपछि म्युजियममा रहेको मनास्लु हिमालको प्रतिकृति चढ्न गयौं।
हामी सबैले यही हिमालको प्रतिकृति चढेर वास्तविक हिमाल आरोहणको मज्जा लियौं। त्यसपछि हामी पुम्दीकोटतिर लाग्यौं जहाँ भगवान शिवको ठूलो मूर्ति राखिएको रहेछ। त्यसपछि विश्व शान्ति प्यागोडातिर लाग्यौं। त्यहाँ हामीले साँच्चै शान्ती र निरवता महसुस गर्यौं। यो एक त्यस्तो अनुभव थियो जसले हामीलाई भित्रबाट प्रफुल्लित्त र शान्त बनायो।
त्यस साँझ हाम्रो विद्यालयले विद्यार्थीहरूलाई डेढ घण्टा स्वतन्त्र रूपमा बाहिर निस्किएर घुम्ने अनुमति दिनु भएको थियो। सात बजे खाना खाएर हामी साढे सातमा भेला भयौं। साँझमा लेकसाइड अझ जीवन्त र रमाइलो हुने गर्छ। हामीले आफ्नो डेढ घण्टा त्यहीँ घुमेर सदुपयोग गर्ने निर्णय गर्यौं। सम्पर्कमा रहन सबैले आफ्नो फोन नम्बर शिक्षकहरूलाई छाडेका थियौं।
हामी ९ बजे फर्किनु पर्ने थियो। त्यसैले कुनै पनि समय खेर नफाली घुम्न निस्कियौं। हामीसँग गितार थियो र लेकसाइडमा बजाउने निर्णय गरेका थियौं। त्यसैले केहीबेर तालको छेउमा बस्यौं, गीत गायौं र रमाइलो गर्यौं। यसरी केही समय रमाइलो गरेपछि सबैले केही किनमेल गरेर हामी होटल फर्कियौं।
सवा नौसम्ममा सबैजना होटलमा थिए। त्यसपछि हामी होटलको हाताभित्र भेला भएर गीत गायौं, रमायौं र सधैं रहने सम्झनाहरू संगाल्यौ र आ-आफ्नो कोठातिर लाग्यौं। भोलिपल्टको हाम्रो यात्रा गोप्य राखिएको थियो। त्यसैले हामी कहाँ जाँदैछौं थाहा थिएन। तर बस मुग्लिन बजारबाट काठमाडौंको सट्टा भरतपुरतिर घुम्ने बित्तिकै हामी सौराहा यात्राको सम्भावनाले अझ खुसी भयौँ।
नारायणी नदीको सुन्दर दृश्यको आनन्द लिँदै हाम्रो यात्रा आगाडि बढ्यो। केही आगाडि पुगेपछि बस रोकेर नारायणी नदीमा हामीले 'मोटरबोट' चलायौं। मोटरबोटले फन्को मारेर पानी छर्किँदा सबैले आनन्द लिए। त्यसपछि चितवनतिर लाग्यौँ।
बसभित्र नाच्दै र गाउँदै हामी छिट्टै चितवन पुग्यौँ। होटलमा फ्रेश भएपछि हामीले खाना खायौं। त्यसपछि हामी जिप सफारीमा निस्कियौं। जीप सफारीमा हाम्रा साथमा एक चरा विशेषज्ञ थिए। हामीले उनीबाट चरा र प्रकृति सम्बन्धी धेरै ज्ञान हासिल गर्न पायौँ। सुरुमा हामीले धेरै चराहरू देख्यौं त्यहाँको घाँसे मैदानमा जनावरहरू भन्दा चराहरू धेरै थिए।
त्यसपछि हामीले पहिलो हरिण देख्यौं। त्यहाँ, चितवनमा पाइने चार प्रजातिका मृगमध्ये तीन प्रजातिका मृग देख्न पाइयो। एउटा कुरा मैले याद गरें, जीपको आवाजले मृगहरूलाई भयभीत बनाइरहेको थियो।
हामी सबै बाघ हेर्न चाहन्थ्यौं तर त्यो दिन भाग्यले साथ दिएन। हामीले बाघले रुखमा कोतरेर बनाएको चिन्ह देख्यौं। जङ्गलमा बाघले निश्चित क्षेत्र बनाएर घुम्छ र शिकार गर्छ भन्ने कुरा हामीलाई उनै विशेषज्ञले बताए; बाघले यसै क्रमममा बाटोमा पर्ने रुखहरूमा कोतरेर चिन्ह बनाउने रहेछ।
जङ्गल सफारीका क्रममा हामीले नदीमा एउटा गैंडा र केही गोही पनि देख्यौं।। हामीले मयुर र अन्य सुन्दर चराहरू पनि देख्यौं। एउटा कुराको हामीले जानकारी पायौँ कि प्रकृतिमा भाले चरा र जनावरहरूलाई अधिक आकर्षक बनाइन्छ ताकी तिनीहरूले पोथी चरा र जनावर प्रभावित गर्न सकून्। जस्तै भाले मयुरको प्वाँख विशेष किसिमले लामो र सुन्दर हुन्छ भने भाले सिंहको घाँटीको जग्गर पनि बिशेष किसिमको हुनेगर्छ। यो कुरा प्रकृतिमा धेरै पशुपन्छीमा लागु हुने रहेछ। जबकि पोथी प्रजातिहरूमा बच्चाहरूको रेखदेख र संरक्षण गर्न 'क्यामोफ्लाज'को मात्रा बढी हुने गर्दो रहेछ। प्रकृतिमा हुने यिनै रहस्यहरूको जानकारीले मलाई अझ रोमान्चित र कौतूहल बनायो।
यसपछि हामी नदीमा 'क्यानोइङ' गर्न गयौं। एउटै रुखको मुडामा खोपेर बनाएको डुंगालाई क्यनोई भनिन्छ। यो अनुभव धेरै रोमाञ्चक थियो। हामी धेरै गोही र घडियालको नजीकबाट आगाडि बढेकाले पनि यसमा रोमान्चकता थपेको थियो। गोहीले आक्रमण गर्ला भन्ने डर र उत्तेजनामा हामी अगाडि बढिरह्यौं।
त्यहाँबाट हामी हात्ती प्रजनन केन्द्रमा गयौं। हामीले त्यहाँ पोथी र बच्चा हात्तीहरू देख्यौं। त्यहाँ शान्ति कायम गर्न मत्ता हात्तीहरूलाई ढोईबाट टाढा राखिएको थियो। हात्ती, यसको स्वभाव र प्रकृतिबारे हामीले धेरै जानकारी पायौँ। त्यसपछि प्रजनन केन्द्रबाट हात्ती पोलो खेल्ने मैदानतर्फ गयौं।
त्यसपछि हामी आफ्नो होटलमा फर्कियौं। राति थारु नृत्य हेर्न गयौं। थारु संस्कृति र नृत्यले हामी सबैलाई छक्क पारेको थियो। थारु संगीतकारहरूले बजाएका बाजा, तिनको ताल र नर्तकहरूले नाच्ने तरिका सबै धेरै मनमोहक थियो। थारुनाच सकिएपछि हामी सबै मिलेर नाच्यौं र धेरै रमाइलो गर्यौं। त्यसपछि हामी हाम्रो होटेलमा फर्कियौं।
होटलको चौरमा आगो बालिएको थियो। हामी आगोको वरिपरि गीत गाउन र नाच्न थाल्यौं। गाउने र नाच्ने गर्दै हामी सबैले राति ढिलोसम्म रमाइलो गर्यौं। कोठामा फर्किएर पनि हामी रातभर बस्ने, गफ गर्ने र तास खेल्ने योजनामा थियौं तर करिब ३ बजेसम्म खेलेपछि भोलिको लागि तयार हुन हामी सुत्यौं।
बिहान करिब साढे छ बजे उठ्यौँ र तयार भयौँ। आज हामी फर्कने दिन थियो। हामीले बिहानको खाजा खायौं र बसतिर लाग्यौं। फर्किंदा बस बेनीघाटको त्रिशूली किनारमा रोकियो र मोटरबोटको सहायताले हामीले खोला पार गर्यौं। खोलापारि एउटा सुन्दर रिसोर्ट थियो। त्यहाँ पुग्नासाथ हामीले बीच भलिबल खेल्यौं। त्यसपछि हामीले खाना खायौं र बसमा फर्कियौं।
यात्राको अन्तिम पलको मजा लिँदै हामीले गीत गाएर नाच्यौं र चाँडै हामी काठमाडौं प्रवेश गर्यौं। यो यात्राले हामी सबै साथी र शिक्षकहरूलाई एकअर्कासँग अझ बढी नजीक र आत्मीय बनायो। यो छोटो यात्रामै हामीले नेपालको भौगोलिक विविधता आनुभव गर्यौं, बाह्रैमास हिउँ पर्ने हिमाल, पहाड, पोखरा उपत्यका र तराईका फाँट र जङ्गलहरूको सौन्दर्यको अनुपम दृस्यहरू अवलोकन गर्दै हाम्रो यात्रा टुंगिएको थियो।
मैले अनन्त सम्झनाहरू बनाएको छु जुन कहिल्यै मर्ने छैन।