सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
पुस्तक समीक्षा:
परिचयः
प्यारो बाँदर कथा शान्ता दीक्षितले लेख्नुभएको हो। यस कथामा चित्र भर्ने काम शान्ता हिताङबाट भएको हो। यो कथा बाल कथा हो।
कथावस्तुः
ईशानको परिवारमा पाँचजना सदस्यहरू थिए। उसको घर नजिकै ठूलो बुवाको घर थियो। ऊ ठूलो बुवाको छोरा मनीष दाइसँग कहिलेकाहीँ खेल्ने गर्थ्यो। मनीष दाईले उसलाई एकदिन एउटा बस देखाउनुभयो। त्यो बस उसलाई धेरै मन पर्यो। उसलाई त्यो बस घर लाने मन थियो तर डरले लान सकेन। अर्को दिन फेरि मनीष दाइले उसलाई बोल्ने बाँदर देखाउनुभयो। त्यो बाँदर देखेर ईशानलाई अचम्म लाग्यो। उसलाई त्यो बाँदर धेरै मन पर्यो र कसैलाई नसोधी घर लिएर गयो। उसले त्यो बाँदरलाई तकियामुनि राख्यो र दिदी सुतेपछि ऊ बाँदरसँग बोल्न थाल्यो। ऊ बाँदरसँग ढिलासम्म खेल्यो र ढिला उठ्यो। बिरामी छु भन्ने नाटक गर्यो। ऊ कक्षामा पनि निदायो। मिसले दिदीलाई 'भाई बिरामी छ हो?' भनेर सोध्नुभयो। दिदीले त्यो कुरा आमाबुवालाई भनिन्। ऊ बिरामी छ भनेर आमाले छिट्टै सुत्न पठाउनुभयो तर ऊ बाँदरसँग खेलिरह्यो। बाँदरसँग खेलिरहेको आमाबुवाले देख्नुभयो। ईशानलाई बुवा र हजुरबुवा दुवैजनाले 'यो खेलौना कहाँबाट आयो?कसले दियो?' लगायत प्रश्न सोध्नुभयो। ईशान केही बोलेन। धेरै बेरपछि उसले सबै कुरा बतायो। ईशानको कुरा सुनेर सबैजना छक्क पर्नुभयो। दिदीले ईशानलाई धेरै सम्झाइन् अनि भोलिपल्ट त्यो बाँदर मनीष दाइलाई फिर्ता गरिदिने निर्णय गरेर ईशान मस्तसँग निदायो।
पात्रः
यस कथाका मुख्य पात्रहरू ईशान र मनीष हुन्। सहायक पात्रहरूमा ईशानका बुवा, आमा, दिदी, हजुरबुवा, आदि हुनुहुन्छ।
परिवेशः
यस कथामा गाउँको परिवेश छ।
निष्कर्ष र सुझावः
यो कथा पढ्दा मलाई रमाइलो लाग्यो। यस कथाका चित्रहरू पनि रमाइला छन्। यस कथामा हामी कसैले पनि अरूको सामान चोर्नु हुँदैन भन्ने कुरा सिकाइएको छ। म सबै साथीहरूलाई पनि यो किताब पढ्न अनुरोध गर्छु।
(उज्ज्वल ढकाल डियरवाक सिफल स्कुलमा कक्षा २ मा अध्ययनरत छन्।)