सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
हरेक व्यक्तिको जीवनमा साथीले ठूलो भूमिका निभाएको हुन्छ। साथीसँग हामी रूने, हाँस्ने, रिसाउने, घुम्ने जस्ता विभिन्न क्रियाकलाप गर्छौ। मलाई के लाग्छ भने केही परिस्थितिमा साथी अभिभावक भन्दा पनि विश्वासयोग्य हुन्छन्।
मेरो जीवनमा पनि त्यस्ता केही साथी छन् जसका कारण मैले जीवनका सुख–दुःख र आनन्दका क्षण अनुभव गरेकी छु। म जन्मिएदेखि १२ वर्षसम्म सँगै रहेकी एकजना साथी थिइन्। प्रभा नाम गरेकी उक्त साथी भक्तपुरको कुनै अर्को विद्यालयमा पढ्न गइन्। भौतिक रूपमा टाढा भएपछि म असाध्यै एक्लो भएकी थिएँ।
मलाई स्कुलमा कुनै साथीसँग घुलमिल गर्न त्यति मन लाग्दैनथ्यो। ऐनामा आफैसँग गफ गरेर बस्थेँ। म एक्लै रहँदा पनि आफैँसँग सम्वाद गर्थे। शिक्षक शिक्षिकाहरूले मलाई अरूसँग घुलमिल गर्न प्रोत्साहित गर्नुहुन्थ्यो। मलाई भने एक्लै हिँड्न मन लाग्थ्यो।
केही महिनापछि मेरो जीवनमा साथीको कमी पूरा गर्ने अर्की साथी आइन्, नियुक्ति। उनको परिवार केही महिनाका लागि मेरो घरको तल्लो तलामा बस्न आइपुगेको थियो। पहिलोपटक भेट्दा हामी त्यति बोलेनौँ। मैले अंग्रेजीमा बोलेका कारण नियुक्तिले मलाई विदेशी पो भन्ठानिछन्। त्यसपछि, मैले नेपाली मात्र नभएर हिन्दीमा पनि बोलेर सुनाएँ। उनी आश्चर्यमा परिन्। उनी पनि आफ्नो टोलमा भएका साथीहरूबाट टाढा बस्नु परेकोले असाध्यै दुःखी भएर रूने गर्दि रहिछन्।
प्रथम त्रैमासिक परीक्षा नजिक आइरहेको थियो। हामी दुबै चिन्तित थियौँ। हामीले आफ्नो परीक्षा समाप्त भएपछि भेट्ने योजना बनायौँ। केही समयमै राम्रो साथी बन्यौँ। मलाई एक्लै बजार जान सारै डर लाग्छ र आँट आउँदैन। नियुक्ति भएको बेला म दसैंमा पाएको दक्षिणा लिएर अभिभावकलाई नसोधि नजिकैको पसलबाट झुम्का, नेल पालिस जस्तो सामान किनेर आफ्ना रहर पूरा गर्थेँ। नियुक्ति र म आफ्ना दिनभरका राम्रा र नराम्रा लागेका घटना एक आपसमा बाँड्ने गर्थ्यौ।
एकपटक हामीले बिहान पाँच बजे व्यायाम गर्ने योजना बनायौँ। म चार घण्टा अगाडिदेखि नियुक्तिको प्रतिक्षा गरेर ढोका उघारेर कुरेर बस्थेँ। मलाई निद्रा नपुगेको देखेर मेरा अभिभावक चिन्तित भए। नियुक्तिलाई बिहान नआउन अनुरोध गरे। नियुक्तिसँग घुम्न जाँदा म जतिसुकै खान मन नलागे पनि कुल्फी, पानीपुरी, चटपटे अलिकति भए पनि म खान्थेँ। नियुक्तिले मेरा समस्या खोज्न र मेरा इच्छा पूरा गर्न मद्दत गर्थिन्। म कहिलेकाही नियुक्तिको अंग्रेजी गृहकार्य र अरू सानातिना काममा सहयोग गर्थे।
हामी दुबैजनाको आ–आफ्ना आमासँग कुनै न कुनै कुरामा ठाकठुक पर्थ्यो। हामी आमाहरूले भन्ने र हामीले जवाफ फर्काकाउने उत्तरहरूबारे छलफल गर्थ्यौ। हामी दुबैलाई गणितमा त्यति रूचि लाग्दैनथ्यो। त्यसकारण हामी गणितको कुरा काट्दै बस्थ्यौँ। अभिभावकसँग गुनासो भएका बेला हामी चौरमा घुम्न जान्थ्यौं। केहीबेर त्यही बसेर समय कटाउँथ्यौँ। हामीले भन्ने कुरा र हाम्रो रूचि मिल्दोजुल्दो भएको हुनाले हामी कम समयमै मिल्ने साथी भयौँ।
नियुक्तिले मलाई ऋतम्भरा भनेर बोलाउने बित्तिकै म नियुक्ति भएको ठाउँमा पुगिहाल्थेँ। एकपटक हामी दुबैजना सँधैजस्तो चौरतिर घुम्न गएका थियौँ। बाटोमा एक हुल बाँदरसँग जम्काभेट भयो। म डरले काप्न थालें। मसँगै नियुक्ति पनि छिन् भन्ने सम्झेर केही आँट बटुलेँ। हामी एकअर्काको हात समातेर केही परेमा मिलेर सामना गर्ने अठोटका साथ अघि बढ्यौँ। घर पुग्यौं। नियुक्तिको हौसला नपाएको भए म डरले त्यहीँ बेहोस हुन्थें होला!
कुकुरसँग डराउने मेरो बानी सुधार्न पनि नियुक्तिले धेरै प्रयास गरिन्। सुरूसुरूमा उनको कुकुर लक्किसँग मलाई असाध्यै डर लाग्थ्यो। उनले मलाई लक्किसँग खेल्न प्रोत्साहन दिइन्। त्यसपछि मैले लक्किलाई केही खानेकुरा खुवाउनसमेत आँट गर्न थालेँ।
हामी एकअर्कासँग नाच्ने, गाउने, अभिनय गर्ने गर्थ्यौ। नियुक्तिको नाच्ने सीप र क्षमता धेरै राम्रो छ। अफ्सोच, केही दिनपछि नियुक्ति फेरि पहिले बसेको पुरानै ठाउँमा आफ्नो आमा, बा र दाजुसँगै बस्न गइन्। हामीले एकअर्कासँग बढीमा चार महिना बिताएका थियौँ। त्यही पनि नियुक्तिले मेरो जीवनमा ठूलो भूमिका निभाएर गइन्। उनीसँग बिताएका ती चार महिना मेरो जीवनमा अविस्मरणीय रह्यो।
नियुक्ति जस्तो हर क्षणमा साथ दिने र सहयोग गर्न तत्पर साथीको साथ पाएर हरेकले आफ्नो एक्लोपन मेटाउन पाउँन् भन्ने चाहन्छु। नियुक्ति, तिमीसँग बिताएका हरेक पल म सँधै सम्झिरहनेछु।
(ऋतम्भरा ढुंगाना पाठशाला नेपाल फाउण्डेशनमा कक्षा ८ मा अध्ययनरत छिन्।)