सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
मित्र
मलाई थाहा थिएन
यो संसारमा
आफ्नो
पेटले मागेको
अधुरो छाक पनि
अरूलाई दिँदा,
मैले केवल निष्ठुरता
पाउँछु,
ढुंगाजस्तो कठोरता पाउँछु
तर चिन्ता
नगर साथी म आफूलाई
सम्हाल्न दर्पणमा हेर्छु,
र पाउँछु
मेरो एक्लो र साँचो
साथी तिमी
जब पनि
यो कोलाहलको घृणा
भोग्छौं,
म तिमी सामुन्ने
आफ्नो व्यथा पोख्छु
दुर्भाग्य हो कि
के हो,
तर म आफ्नो गुनासो
पोख्ने अरू कोही
साथी पाउँदिन र
यसरी तिमीले
मलाई सम्हाल्छौ,
बुझाउँछौ।
तिमी यी
दानवभन्दा त राम्रो छौ
तिम्रो देह नभए पनि
मन छ,
सैतान परालको देह
भए पनि पत्थरको मुटु छ,
पत्थरको मुटु!
तिनीहरूको शरीर
जलेर भष्म भए पनि
त्यो पत्थरको हृदय पग्लिँदैन
जब आपतमा
आफ्नो आँखाले दृश्य माग्छ,
कानले सुन्ने कुरा माग्छ,
जिब्रोले स्वाद माग्छ,
पेटले आहारा माग्छ,
शरीरले छत र पिउने
पानी माग्छ,
तिमी मसँग केही
माग्दैनौ उल्टै,
सान्त्वना दिन्छौ
त्यसै मैले तिमीलाई
आफ्नो सखा मानेको
होइन,
मेरो चितामा पनि
मसँग तिमी नै हुन्छौ
तिमी चिन्ता नगर,
जबसम्म म छु,
तबसम्म तिमी छौ,
जबसम्म तिमी छौ,
तबसम्म म छु।
(प्रतीक भण्डारी बूढानीलकण्ठ स्कुलमा कक्षा ९ मा अध्ययनरत छन्।)