सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
नेपालको प्राकृतिक सौन्दर्यबारे मैले सानैदेखि सुन्दै आएको छु। त्यसलाई अनुभव भने भर्खरै मुस्ताङ यात्राबाट गर्न पाएँ।
हामी सातजनाले वैशाखको पहिलो साता बेनी तथा उपल्लो मुस्ताङको भ्रमण गर्ने योजना बनाएका थियौं। वैशाख ३ गते घरबाट बिहानै हिँड्यौं। अघिल्लो दिन नै हामीले बेनीसम्मको टिकट लिएका थियौं। साढे सात बजे हामी एसी गाडीमा बसेर काठमाडौंबाट हिँड्यौं।
गाडीमा निदाउँदै नौबिसे पुग्यौं। गाडीले हल्लाउँदै हामीलाई कुरिनटारमा खाना खान रोक्यो। गाडीमा खानेकुरा खाँदै आएको कारणले त्यति भोक लागेको थिएन। त्यही पनि थोरै खाना खायौं र आफ्नो यात्रा सुरू गर्यौं। पोखराको बाटो बग्रिएको थियो तर ठूलो गाडीमा धेरै गाह्रो भएन। कुश्मामा दिउँसोको खाजा खाएर हिँडेपछि हाम्रो गाडी साँझतिर बेनी पुग्यो।
बेनीको याक होटलमा थकाई मार्यौं र हामीलाई मुक्तिनाथ लैजाने गाडीको बन्दोबस्त गरेर सुत्यौं। भोलिपल्ट बिहान खाजा खाएर हामी गाडी चढी मुक्तिनाथतर्फ लाग्यौं। बेनीबाट मुक्तिनाथ जादाँ बाटोमा तातोपानी पर्दो रहेछ। तातोपानीमा नुहाउने हाम्रो योजना थियो। त्यसैले हामी त्यहाँ उत्रियौं र तातोपानी कुण्डमा छिर्यौं।
यस्तो तातो पानी प्राकृतिक रूपमा आएको हो भनेर पत्याउनै गाह्रो! त्यो पानी पृथ्वीको गर्भमा चुनढुंगाको सम्पर्कमा आएपछि उम्लिएजस्तै तातो हुने रहेछ। ससानो पोखरी बनाएर त्यसको वरिपरि पाइपमा चिसो पानी कुदाएर त्यो पानीलाई नुहाउन सकिने बनाइएको रहेछ।
नुहाउने काम सकेर खाजा खाएपछि हामी मुक्तिनाथतर्फ बढ्यौं। बाटोको दृश्य हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो। तिब्बतबाट निस्किएर आएको कालीगण्डकी नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोचबाट दक्षिणतर्फ बगेको रहेछ। नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोँचबाट दक्षिणतर्फ बगेको रहेछ। कालीगण्डकीको प्रवाह र त्यो दृश्यले हामीलाई रोमाञ्चित बनायो। त्यसका केही दृश्य क्यामरा र मनमा कैद गर्दै हामी अघि बढ्यौं।
लेतेमा खाना खाएर हामी टुकुचे, मार्फा, जोमसोम हुँदै साँझसम्म मुक्तिनाथ दर्शन गर्ने गरि अघि बढ्यौं। मुस्ताङ र मनाङलाई हिमालपारिको जिल्ला भनिन्छ। कवि भूपि शेरचनको जन्मथलो टुकुचे पुगेर हामीले थाहा पायौं कि हामी हिमालपारि पुगिसकेका रहेछौं।
निलगिरि र धौलागिरि हाम्रो दक्षिणमा थिए। त्यहाँ धौलागिरि र निलगिरि हिमालहरूको सुन्दर दृश्य हामीले हेर्न पायौं। धौलागिरि दूधले धोएझैं सेतो थियो भने निलगिरि आकाशझैं निलो थियो।
'एकअर्काको मुख हेरेर निलगिरि र धौलागिरि चम्किन्छ' भनेर भूपि शेरचनले 'मेरो देश' कविता किन लेखेका रहेछन् भन्ने कुरा मैले यहाँ आएर थाहा पाएँ।
साँझ पर्नुअघि नै हामी मुक्तिनाथ पुग्यौं। होटलमा ब्याग राखेर हामी मन्दिर दर्शन गर्न गयौं। मन्दिर दर्शन गर्न धेरै भारतीय तीर्थालु आएका थिए। माथिसम्म जान नसक्नेहरूका लागि घोडा र स्ट्रेचरको सुविधा पनि थियो। हामी माथिसम्म नै हिँडेर जान तयार थियौं। ससाना पाइला चाल्दै हामी माथि पुग्यौं।
धेरै भारतीय तीर्थालु आफूलाई मानिसको काँधमा बोक्न लगाएर मन्दिर दर्शन गर्न गइरहेका थिए। त्यो दृश्यले मलाई महाकवि देवकोटाको 'यात्री' कविताको हरफ 'मानिसहरूको काँधमा चढी कुन देवपुरीमा जाने हो' को सम्झना आयो। मन्दिरअघि दुइटा कुण्ड थिए। मन्दिरपछाडि १०८ धारा थिए। हामीले धाराको पानीले आफ्नो शरीर शुद्ध गरेर मन्दिर दर्शन गर्यौं। मन्दिर दर्शन गरेपछि हामीले आरती हेर्यौं।
हामीले मन्दिर परिसरबाट सूर्यास्तको दृष्य अवलोकन गर्यौं। सूर्यास्तको समयमा केहीअघि सेता देखिएका सबै हिमाल सुनौंला देखिए। यसरी सेतो, रातो, सुनौंलो र फेरि सेतो रंगमा परिवर्तन भएको हिमालको दृश्य देखेर हामी रोमाञ्चित भयौं।
अर्को दिन हामी बिहानै उठेर उपल्लो मुस्ताङतर्फ लाग्यौं। अघिल्लो दिन कुश्माबाट कालीगण्डकीको तिरैतिर सुरू भएको हाम्रो यात्रा कागबेनी भन्दा अलिमाथि छुसाङ छेउबाट कालीगण्डकीलाई छोडी उत्तरपश्चमितर्फ लाग्यो।
बोलेरोमा बिस्तारै खानेकुरा खाँदै हाम्रो यात्रा अगाडि बढ्यो। स्याङबोचेमा खाना खाएपछि हामी लोमान्थाङतर्फ बढ्यौं। बाटोमा भएका पहाड, बालुवा, माटो र चट्टानले मरूभूमिको झझल्को दियो। ठूल्ठूला बोटबिरूवा लामो यात्रामा एकाध ठाउँबाहेक यात्राभरि कतै देखिएन।
बीचबीचमा रोक्दै र प्रकृतिको प्रशंसा गर्दै हामी अघि बढ्यौं। लेक लाग्छ भन्ने डर अलिअलि थियो। खानेकुरा खाँदै गएकाले केही गाह्रो अनुभव भएन। छुसाङ र लोमान्थाङबीच नेपाली सेनाको सानो ठाउँ रहेछ। त्यहाँ गाडी रोकेर हामीले केही क्षण विश्राम गर्यौं। तीव्र वेगमा हावा चलिहेको थियो। मुक्तिनाथबाट यस्तै हावाको सामना हामीले गरिरहेका थियौं। होटलमा पुगेर हामीले ब्याग राख्यौं। त्यसपछि हामीले राजा जिग्मे दोर्जे पलवर विष्टको दरबार हेर्यौं।
दरबार भन्दा मलाई ठूलो महलको सम्झना आउँथ्यो। मुस्ताङको राजाको दरबार त एउटा गाउँजस्तै ससाना घरले बनेको रहेछ। सबै घर एकै प्रकारका थिए। ती घरमा अझै पनि मान्छे बस्दा रहेछन्। दरबार वरिपरि हेर्न एउटा भ्यु टावर पनि रहेछ। पुरानो दरबार हेरेर हामी होटल फर्कियौं।
भोलिपल्टको हाम्रो लक्ष्य कोराला नाका पुगि जोमसोम फर्किने थियो। ४६०० मिटर उचाईमा रहेको कोराला नाका जान हामी हिँड्यौं। बाटोमा हिमाल र पहाडको दृश्य हेर्दै हामीले चेकप्वाइन्ट काट्यौं। त्यहाँबाट कोराला नाका १३ किलोमिटर रहेछ। पहाडको माथि तराईजस्तै सम्म जमिन थियो। त्यहाँ एउटा खम्बा (पिल्लर) गाडेर नेपालको भू-भाग छुट्याइएको थियो।
निलो आकाशमुनि यस्तो सम्म जमिन त तराईमा पनि देखेको थिइनँ। यस्तो राम्रो दृश्यले म केही समय आश्चर्यचकित भएँ। नेपालका यस्ता ठाउँहरूको कल्पना पनि मैले गरेको थिइनँ। चीनतर्फ ठूल्ठूला भवन थिए भने नेपालतर्फ कुनै भवन थिएनन्। त्यहाँका सम्म फाँटबाट हिमालहरूको राम्रो दृश्य देखिन्थ्यो। हामी लेकको डरले धेरैबेर त्यहाँ बसेनौं। नेपाल-चीन सिमानाको २४ नम्बर पिल्लरमा केही फोटा खिचेर हामी फर्कियौं। फर्किँदा बाटोमा शिझा झोंग गुफा पर्दो रहेछ। यो अनौठो गुफा हेर्न हामी सबै गयौं।
पहिलेका मानिहरूले बासनाका लागि प्रयोग गर्ने त्यो गुफालाई शिझा झोंग गुफा भनिदो रहेछ। आमा भित्र जान डराउनुभयो तर म र बुवा गुफाका सबै तल्ला हेरेर आयौं। गुफा ठूलो पहाडको भित्रसम्म जान्थ्यो। त्यहाँ गएर हेर्दा मलाई धेरै रमाइलो र साहसी अनुभव भयो।
यी गुफा भिन्नभिन्न तलाका थिए। हामी चौथौं तलासम्म गयौं। गुफा पहाडको धेरै भित्रसम्म जान्थ्यो तर हामी धेरै भित्र छिरेनौं। गुफाका प्वालबाट बाहिर हेर्यौं। गुफाको छाना र भित्ताको धुलो लुगामा नलगाई हिँड्न असम्भव प्रायः थियो। गुफाबाट बाहिरको दृश्य धेरै रमाइलो थियो। वरिपरिका विचित्र आकारका पहाड हेरी म खुब रमाएँ।
गुफा वरपरका पहाडले मलाई आकर्षित बनाए। क्षयीकरणका कारण ती पहाडमा कहीँ हात्तीको सुँड त कहीँ महलका खम्बा जस्ता आकृति देखिन्थे। धेरै वर्षसम्म पानी र हावाले क्षयीकरण गरेकाले यी पहाड यस्ता देखिएका थिए। भूगोल विषयमा हामीले क्षयीकरणबारे पढेका थियौं। यहाँ प्रत्यक्ष देख्न पाइयो। हाम्रो पृथ्वी प्रकृतिको विशाल प्रयोगशाला पनि रहेछ जस्तो लग्यो। केही फोटा खिचेर हामी गुफाबाट हिँड्यौं। गुफा र उपल्लो मुस्ताङलाई अलविदा भनेर हामी जोमसोमतर्फ लाग्यौं।
घामीमा खाना खाएर हिँडेका हामी कागबेनीमा पुगेर रोकियौं। कागबेनीमा बुवाले हजुरबा र हजुरआमाको नाममा बत्ती बालेर श्रद्धाञ्जली दिएपछि हामी जोमसोमतर्फ गयौं। भोलिपल्ट बिहानै खाजा खाएर हामी पोखरा उड्न विमानस्थल पुग्यौं। दुर्भाग्यवश् मौसम खराबीका कारण हाम्रो विमान उड्न सकेन। त्यसपछि हामी बस चढेर पोखरातर्फ लाग्यौं। बसले हामीलाई ६ बजेतिर पोखरा पुर्यायो। पोखरामा त्यो रात हामीले दिदीको घरमा बितायौं। पारिवारिक भेटघाट र रमाइलो भयो।
भोलिपल्ट बिहान बुवा र हजुरबा विमानबाट काठमाडौं जानुभयो भने हामी पाँचजना बसबाट फर्कियौं। यो एक साता लामो यात्रामा मैले काठमाडौंदेखि मुस्ताङसम्मको प्राकृतिक सौन्दर्यको भरपुर आनन्द लिएँ।