सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
९ वर्षको हुँदा धेरै कुराको जिज्ञासा थियो। मलाई फेरि आफ्नो गाउँ जान निकै मन लागेको थियो। गाउँका हरिया डाँडामा रहेको रूखको अर्गानिक हावा खान मन थियो। एक ठाउँमा घुमेपछि हुने भएपछि मलाई जहिले घुम्न पाए हुन्थ्यो जस्तो लाग्छ। मैले आफ्नो प्रस्ताव बुवाआमासँग राखेँ। बुवाले मिलाएर जाने भन्नुभयो।
मैले भने, 'समय तोकेर भन्नु न।'
बुवाआमाले खुसी हुँदै भन्नुभयो, 'यही हप्ता बिदा मिलाएर जाने।'
हाम्रो सल्लाहअनुसार काठमाडौंदेखि पोखरासम्म विमानस्थलमा जाने र त्यहाँबाट ट्याक्सी चढ्ने थियो। त्यसपछि अर्को साता शनिबारको लागि हामीले टिकट लियौँ। अर्को साता कहिले आउँछ भनेर म पर्खिरहेको थिएँ। शुक्रबार हामीले जाने तयारी गर्यौँ। हामीले सबै सरसामान झोलामा प्याक गर्यौँ। शनिबार बिहान ६ बजे हामी विमानस्थल पुग्यौँ। समय १०ः०० भए पनि हामी चार घन्टाअघि पुग्नु पर्ने रहेछ।
पहिलोपटक विमानमा गाउँ जान पाउँदा मेरो मन फुरुङ्ग भएको थियो। विमान विमानस्थलबाट १० बजे हिँड्यो विमान बुद्ध एयर थियो। त्यो एकदमै तीव्र गतिमा चलेको हुनाले मेरो मुटु ढुकढुक गरिरहेको थियो। तर पछिपछि त मलाई ती हरिया डाँडाले लोभ्याइरहेको थियो। झन्डै ३० मिनेटको यात्रामा डाँडापाखा हेर्दै हामी पोखरा पुग्यौं।
पोखरा एकदम सुन्दर ठाउँ रहेछ। मलाई पोखरामा जिन्दगी बिताउजस्तो भइरहेको थियो। तर हामी जानुपर्ने ठाउँ अर्कै थियो। त्यसैले हामीले ट्याक्सी कुरेर बस्यौं। मलाई निकै भोक लागिरहेको थियो। मैले बुवाआमालाई त्यो कुरा सुनाएँ। त्यसपछि हामी नजिकैको खाजा घरमा गएर म:म:, आलुचप खायौं। हामीले खानेबित्तिकै एउटा ट्याक्सी देख्यौं। त्यो भर्खर आएको रहेछ।
हामीले हतारहतार मुख धोएर ड्राइबर अंकललाई यहाँदेखि गाउँसम्मको भाँडा सोध्यौँ। उहाँले ३५ सय भन्नुभयो। त्यसपछि हुन्छ भन्दै हामीले ट्याक्सी चढ्यौं। त्रिशुलीलाई बिदाई गर्दै हामी स्याङ्जातर्फ लाग्यौं। हामीले बाहिरको अर्गानिक हावा खान ट्याक्सीलाई भालु पहाडमा रोक्यौं। यस पहाड भालुको जस्तै आकार भएर यसलाई भालुपहाड भनिएको रहेछ।
हामी पुतलीबजार हुँदै वालिङ पुग्यौं। वालिङ सुन्दर थियो। आधिखोला देखेपछि मलाई त्यही खेल्न पाए हुन्छ जस्तो भयो।
त्यसपछि हामी गल्याङ पुग्यौं। गल्याङबाट मेरो गाउँ जान करिब १५ मिनेट लाग्छ। त्यसपछि हामी आनन्दसँग गाउँ पुग्यौं। सरर पिच बाटोमा गाउँ आउँदा निकै रमाइलो भएको थियो। साँझ परिसकेको थियो। म बस्न पाएको थिइनँ। मेरा सबै बहिनी मलाई भेट्न आएँ। मैले सबैलाई चक्लेट दिएँ। उनीहरूसँगै खाना खाएँ। रातको ११ बजे पनि खेलेर बसेँ। १२ बजेपछि सुतेँ।
बिहानै घरमा कालीगण्डकीको कुरा चलेको थियो भन्ने मलाई झट्ट याद आयो। कालीगण्डकी निकै पवित्र नदी हो। यो नदी मुक्तिनाथबाट आएको रहेछ। यो नदी विश्वमै एकमात्र शालिग्राम पाइने नदी हो। हामी कालीगण्डकी पनि हेर्न गयौँ। त्यहाँको शालिग्राममा विष्णुको बास छ भन्ने भनाइ छ। कालीगण्डकीबाट हामी फेरि फर्कियौं। हाम्रो योजना तीन दिनमात्र बस्ने थियो। म बहिनीसँग खेले।
त्यसपछि हामी ठूलो बुवाको घर गयौं। त्यहाँ पाल्पाबाट मेरो दिदी, भिनाजु र दादा पनि आउनुभएको रहेछ। मैले उहाँहरूलाई तल्लो घरमा जान अनुरोध गरे। हामी सबैजना मूलघर तल्लो घर र माथिल्लो घर ठूलोबाबाको घर मान्छौं। उहाँहरूले हुन्छ भन्नुभयो र हामी तल्लो घरमा गयौँ। ३-४ जम्मा गरेर हामी खेल्यौँ। त्यसपछि हजुरआमाले पकाएको सेल र अर्सा मीठो मानेर खायौं। अन्तिम दिन बाबाले भन्नुभयो, 'भोलि ट्याक्सी चढेर पोखराबाट विमानमा जाने।'
साँझपख हामीले झोला मिलायौँ। बिहान हजुरबुबा, हजुरआमा र सबैजनालाई आँखाबाट आँसु झारेर बिदाईको हात हल्लाउँदै ७ बजे हामी ट्याक्सी चढ्यौं। सबै कुरा बटुलेर हरिया डाँडा हुँदै पोखरा पुग्यौं। पोखरा पुगेपछि हामी विमान चढेर काठमाडौँ पुग्यौँ। मैले मनमनै भने, ३ ४ दिन मात्र भए पनि गाउँ जाँदा सबैभन्दा रमाइलो भएको रहेछ। मैले गाउँ गएको कुरा सबैलाई सुनाएँ।
(संविद ढकाल डियरवाक सिफल स्कुलमा कक्षा ५ मा अध्ययनरत छन्।)