सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
धर्म कुनै पनि समाजको आधार स्तम्भ हो। यो विश्वव्यापी रूपमा हरेक समाजमा पाइन्छ। यसलाई एक सामाजिक व्यवस्थाको उपाधि पनि दिइएको छ। जसमा सामान्य रीतिरिवाज, चालचलन, परम्परा र विश्वास पर्छन्।
संसारमा विभिन्न प्रकारका धर्म पाइन्छन्। केही प्रमुख धर्ममा हिन्दु, जैन, ईसाई, इस्लाम, बौद्ध, सिख, फारसी, आदि हुन्। यी धर्महरूले फरक-फरक सिद्धान्तको प्रचार र पालना गरेता पनि सबै धर्ममा केही आधारभूत विशेषता छन्। धर्मले विश्वास, मूल्य र अभ्यासहरूको प्रणालीलाई बुझाउँछ। शक्ति र अलौकिक निकायलाई मानवताको अस्तित्वको अन्तिम कारण मानिन्छ। धर्मको विश्लेषण गर्ने मान्छेले समाजमा कसरी धार्मिक अभ्यास र विश्वासहरू व्यक्त हुन्छन् र कसरी धर्मले देशभित्र दंगा र द्वन्द्व निम्त्याउँछन्, र कसरी धर्मनिरपेक्षतामा अन्तर-धार्मिक पूर्वाग्रहहरू समावेश हुन्छन् भन्ने केलाउँछन्।
अर्कोतर्फ विज्ञान विभिन्न घटनाहरूको व्यवस्थित अध्ययन हो। विज्ञानले पृथ्वीको आकारको व्याख्या गर्नेदेखि ताराहरू झिम्केको सम्म व्याख्या गर्छ। किन प्रकाश ध्वनि भन्दा छिटो यात्रा गर्छ? किन बाज कागभन्दा माथि उड्छ? किन सूर्यमुखी सूर्यको किरणमा फर्कन्छ? मानव अंगहरूले कसरी काम गर्छ? लगायतका विषयमा सुक्ष्म र मिहिन तवरले अध्ययन विज्ञानले गर्छ।
विज्ञानले अलौकिक व्याख्या गर्दैन। बरू यसले हरेक प्रश्नको तार्किक निष्कर्ष दिन्छ। विज्ञान एक बौद्धिक र व्यवाहारिक गतिविधि हो जसले संरचनाको व्यवस्थित अध्ययन र प्रकृतिको नियमलाई गहन प्रयोग र अवलोकनको साथ समावेश गर्छ। विज्ञानलाई तीनवटा शाखामा विभाजन गरिएको छ- प्राकृतिक विज्ञान, सामाजिक विज्ञान र भौतिक विज्ञान।
धर्मले हाम्रो विश्व अबोधगम्य छ भन्छ भने विज्ञानले सबै कुरा बोधगम्य हुन्छ भन्छ। धर्मले चेतनाले अस्तित्व निर्धारण गर्छ भन्छ भने विज्ञानले पदार्थबाट चेतनाको निर्धारण वा विकास हुन्छ भन्छ। धर्मले ईश्वर सर्वशक्तिमान, सर्वज्ञाता र सर्वव्यापी छन् भन्छ तर विज्ञानले ईश्वर मानिसको कल्पना हो र अलौकिक एवम् अदृश्य शक्ति कल्पना मात्रै हो भन्ने गर्छ।
धर्मले ज्ञान ईश्वरबाट प्राप्त हुन्छ भन्छ भने विज्ञानले ज्ञानको स्रोत व्यवहार हो भन्छ। धर्मले संसार ईश्वरको रचना हो भन्छ तर विज्ञानले यसको थेओरी बनाएर व्याख्या गर्छ। धर्मले जीवनको पूर्वजन्म र पुनर्जन्म हुन्छ तर आत्मा अमर हुन्छ भन्छ भने विज्ञानले पूर्वजन्म र पुनर्जन्म कोरा कल्पना मात्र हो भन्छ। जगत र जीवनलाई बुझ्ने तरिका धर्म र विज्ञानमा फरक फरक छ। धर्मले यो लोकमा गरेको कर्मको फल परलोकमा पाइने विश्वास गर्छ भने विज्ञानले यही संसार नै एक मात्र सत्य हो र जे गर्नु छ यही संसारमा गर्नुपर्छ भन्छ। धर्मसँग जोडिएका दर्शनमा पाप र पुण्यको प्रधानता रहेको पाइन्छ। विज्ञानले चाहिँ यो संसारमा आफैँले आफ्नो जीवन बनाउनु पर्छ र यो संसारमा सबै कुरा सत्य हुन्छ भन्छ।
विज्ञान र धर्म मानव अनुभवका विभिन्न पक्षमा आधारित छन्। विज्ञानमा स्पष्टिकरणहरू प्राकृतिक संसारको जाँचबाट प्राप्त प्रमाणहरूमा आधारित हुनुपर्छ। वैज्ञानिक रूपमा आधारित अवलोकन वा प्रयोगहरू स्थापित सिद्धान्त वा व्याख्यासँग वेमेल भएमा त्यो सिद्धान्त वा व्याख्याको कि त परिमार्जन हुन्छ कि त त्यागिन्छ। यसको विपरित, धार्मिक विश्वास केवल अनुभवका प्रमाणहरूमा निर्भर गर्छ र यसले कुनै पनि प्रकारको परिमार्जनलाई स्वीकार गर्दैन। यस अर्थमा विज्ञान र धर्म छुट्टाछुट्टै छन् र मानव बुझाइको विभिन्न पक्षलाई आ-आफ्नै तवरले निरन्तर अन्वेषण गरिरहन्छन्।
विज्ञान र धर्मलाई एक अर्काको विरूद्धमा राख्ने प्रयासहरू निरन्तर चलिरहेका छन्। अझ कतिपय समयमा जटिल विवादसमेत सिर्जना भएका छन्। पश्चिमी दर्शनले पनि धर्ममा कुनै प्रकारको परिमार्जनलाई स्वीकार गर्दैन थियो भन्ने उदाहरणका लागि ग्यालिलियोलाई बाइबलको विरूद्धमा गएको आरोपमा मृत्युदण्ड दिइएको प्रमाण नै काफी छ। पूर्वीय साहित्यको रामायणमा भने पुष्प विमानबारे उल्लेख गरिएको सन्दर्भ हामीले सुनेका र पढेका छौं। त्यस समयमा विज्ञानको उच्च रूपको कल्पना गरेको पूर्वीय सभ्यताले भौतिक रूपमा भने उतार्न असक्षम भयो।
समयक्रममा पश्चिमी सभ्यताले आफुहरू विज्ञान सम्मत नचलेको छिट्टै बुझेर धर्मको साटो विज्ञानलाई मानव जीवनको प्रमुख आधार बनायो। त्यसैले ऊ अहिले बाँकीको संसारको तुलनामा अगाडि रहेको छ। उनीहरूले धर्म र विज्ञानको भिन्नता बुझे र त्यस अनुसार परिवर्तन ल्याए। पूर्वीय सभ्यता भने वेदमा सबै कुरा उल्लेख छँदैछ भनेर अड्किरह्यो। हामीले ढुंगाका देविदेवताकै पूजामा मात्रै व्यस्त भई आधुनिक विज्ञान र विकाससँग साक्षात्कार नै गरेनौं एवम् गर्न चाहेनौं।
यहाँनेर हामीले ध्यान दिनुपर्ने पक्ष के छ भने धर्म भनेको पनि पुरानो कालको विज्ञान नै हो। तर धर्मले परिवर्तन हुन जानेन। उसले तथ्यगत अध्ययनलाई नकारेर मात्रै अनुभवलाई प्राथमिकता दियो। ऊ समयअनुसार चल्न सकेन र विकास पनि गर्न सकेन। त्यसको अलावा विज्ञानले तथ्यगत अध्ययनलाई प्राथमिकता दियो। गहिरिएर अध्ययन गरिसकेपछि मात्र निष्कर्ष निकाल्यो। विज्ञान चलायमान भएर परिवर्तन तथा नयाँ आविष्कारहरूलाई स्वीकार्नुका साथै प्रोत्साहित पनि गर्दै गयो।
हाम्रा शास्त्रहरूले ब्रह्माण्ड जस्तो विशाल शीर्षकदेखि घोडा कसरी पाल्ने भन्ने सम्मका तुलनात्मक रूपमा साना विषयसम्म गहिरिएर अध्ययन गरेको छ। उसको खोज र अध्ययनलाई हामीले व्यवहारिकताको कसीमा खरो उतार्दै परिमार्जन गर्न वा असान्दर्भिक पक्षलाई त्याग्न भने सकेनौं। ती खोज र अनुसन्धानलाई व्यवहारसँग जोड्न सकेनौं। हो हाम्रो धर्म यही ठाउँमा चुक्यो। पश्चिमी सभ्यता भने धर्मलाई विज्ञानको आधारशीला बनाएर मानव जीवनको भविष्य विज्ञानद्वारा बनाउन थाल्यो।
आउनुहोस्, हामी पनि हाम्रा स्थापित मान्यताहरूलाई अध्ययन र अनुसन्धानका माध्यमद्वारा परिमार्जन गर्नतर्फ लागौं। स्थापित मान्यतामा निरन्तर प्रश्नहरू उठाइरहौं। अनि हामी पनि विज्ञानसँग नजिक भई हाल्छौं नि!
(रोमहर्षण ढुंगेल एभरेष्ट इङ्लिश स्कुल भक्तपुरमा कक्षा ८ मा अध्ययनरत छन्।)