सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
विद्यालय बन्द भएर दसैं बिदा भएको दिन हामी बिहानै गाडी चढेर हिँड्यौं। म, बुवा, आमा र दादा हाम्रो समानले नै गाडी भरिएको थियो। यात्रा थियो १२-१३ घन्टाको तर हामीले बिचमा हेटौंडामा एक रात बिताउने विचार गर्यौ। हामी कलंकी हुँदै नागढुंगाबाट त्रिसुलिको तिरैतिर लाग्यौं। देवघाटमा रोकेर घुम्यौं त्यहाँ बुढेसकालमा बस्नको लागि बनेका धेरै घरहरू थिए। त्यसैले त्यहाँ धेरै बुढापाका मानिस हुनुहुन्थ्यो।
हामीले दिउँसोको खाना भरतपुरको पाते ढिँडोमा खायौँ। चितवनमा हात्ती चढ्ने र जंगल घुम्ने सल्लाहअनुसार हामी बाटो लाग्यौ। हामी हात्ती चढ्ने समयभन्दा निकै आगाडी पुगेका थियौं। हात्ती उपलब्ध भएकाले हामीले तुरून्तै चढ्न पायौं। हामी चढेको हात्तीको नाम पिन्कीकली रहिछ। हात्ती चढेको आनुभव नयाँ र रमाइलो थियो तर मलाई हात्ती माथि माया पनि लागिरहेको थियो किनभने हामी चढ्दा उसको ढाडमा भार परेको मैले अनुभव गरेँ। अब उप्रान्त हात्ती नचढ्ने संकल्प गरे। हात्ती सवारी गर्दा हामीले गैडा, मृग र वन कुखुरा जस्ता जनावर देख्यौं। हात्तीले माउतेले बोलेको बुझेको र मानेको देखेर म चकित भए। १-२ घन्टाको सवारीपछि हामी चितवनबाट बिदा भई हेटौडा तर्फ अघि बढ्यौ।
हेटौंडामा हामीले रात बितायौं र बिहानै बाटो लाग्यौ। हामीले जानकी मन्दिर हुँदै जाने विचार गर्यौं। जनकपुर जाने बाटो धेरै ठूलो र राम्रो देखेर मलाई खुसि लग्यो। मन्दिर भित्रको फोहोर र पानीको लेउमा चिप्लीएर मान्छे लडेको देखेर दुःख पनि लाग्यो। मन्दिर दर्शन गरेर हामीले ढल्केवरको कोमल होटलमा खाना खायौँ र केही समय थकाइ मारेर अघि बढ्यौं। त्यो रात हामी बिराटनगर मा बस्यौ।
अर्को दिन बिराटनगरबाट रमाइलो रंजनी घुम्दै, खेती हेर्दैआफ्नै पोखरीका माछा लिएर सुरुङातिर गयौं। राति माइजुले तारेको ताजा माछा र मासुको मजा लिई सबै थकाइ मेटाउँदै मामाघर बस्यौ। टीकाको अघिल्लो दिन हामी भेटघाट गर्न बिर्तामोड गयौं।फेरि टीकाको दिन पनि सुरुङाबाट टीका लगाएर बिर्तामोड गयौं। बिर्तामोडमा टीका लगाएर हामी नातेदारहरूकोमा गयौं। अर्को दिन हामी शिवगञ्ज गएर हजुरबुवाहरूको हातबाट टीका लगायौैं। त्यहाँको खेती र घर हेरेर दिउसो सुरुङा फर्कियौ।सुरुङा फर्केर हामीले चैतुबरी (बुढामामली घर) र घैलाडुबामा टिका लगायौ।
अर्को दिन हाम्रो चोकपुर जाने योजना बन्यो। पहाड चोक्पुरमा आमाहरूको मूल घर थियो। गाडीबाट ओर्लेर झन्डै १-२ घण्टा हिँड्नु पर्ने बाटो रहेछ। त्यहाँ जान हामी सबैजना उत्सुक थियौ। हामी १० जनाको टोली ठूलो गाडी लिएर चोकपुर जाने भयौं।
भोलीपल्ट हामी बिहानै हिँड्यौं। चारपानेबाट बुधबारे हुँदै फिक्कलमा खान खाई हामी अगाडी बढ्यौं। गाडीको यात्रा सहजै कट्यो तर हामी सोचेभन्दा निकै ढिलो पुग्यौ। गाडी सेसंभु भन्ने ठाउँमा राखेर त्यहाँबाट हिँड्दा ६ बजेको थियो। करिब १५ मिनेटपछि हामीले एकजनालाई सोधी बाटो लाग्यौं। बाटो तेर्सै तेर्सो थियो। धेरै ढुंगा भएको बाटो भनेको त खोल्सो पो रहेछ। अघि बढ्दै जाँदा ठाउँ ठाउँमा पानी बग्दै गरेको एउटा बिकट बाटोमा आइपुग्यौ। सबैजना फोनको बत्ति बालेर हिँड्यौ। हिँडेको करिब १ घण्टा पछि पुल देखा पर्यो। त्यो तमोर नदिको पुल रहेछ।
पुल देखेर अलिक आशा त आयो किनभने ती मान्छेले पुल काटेपछि करिब १ घण्टा मात्र हिँड्नुपर्छ भनेका थिए। हामी अब उकालो चढ्न थाल्यौं। पानी पर्दै थियो तर थोरै मात्र। यसले पसिना पनि आउन दिएन। सितल पनि पारिदियो। हामी टर्च बल्दै हाँस्दै, लड्दै करिब १ घण्टा हिँडेपछि मात्र घरहरू देखा परे। घरमा सोध खोज गरेपछि हामी जाने घर नजिकै छ भन्ने पत्ता लाग्यो।
करिब ५ मिनेट अरू हिँडेपछि अर्को घर आयो। त्यो घरमा ओत लिएर एकछिन बसेपछि हामीलाई त्यहाँका मानिसले पुर्याइदिने भए। राति ९ बजे हामी मूल घर पुग्यौ। घर देखेर म छक्क परेँ किनकी घर ठूलो थियो। अझ मतान घर, गोठ, कुखुरा र बाख्राको खोर सबै थियो। घरमा माइली हजुरामा एक्लै बस्नु हुन्छ। उहाँले हामीलाई स्वागत गरेर टीका लगाइदिनुभयो। खाना खाएर हामी सुत्यौं।
अर्को दिन बिहानै खसी ढालियो। हामी गफ गर्दै बोटको अम्बा र हलुवावेद भोगटे खाँदै बस्यौं। खाना खाएर एकछिन डुल्यौँ।यसरी नै पहाडमा रमाइलो गर्दै तीन दिन बित्यो। चौथों दिन हाम्रो जाने विचार थियो। हजुरआमाले भनेपछि हामी अझैं एक दिन बस्यौ। त्यो दिन हामीले ढुंगेधारामा नुहाएर डुल्न निस्कियौं। हामी चोकपुर स्कुल गयौं। रमिते ढुङो, लगायत तमोर र काबेली नदीको दोभान हेरेर वरिपरी फोटो खिचेर हामी घर फर्कियौं।
अर्को दिन हामी बिहानै हिँड्यौं। हामीलाई सेसम्भुसम्म पुगाउने एकजना आन्टी आउने हुनुभयो। बिहान भएकाले पनि होला हामीलाई बाटो कठिन भएन। चाडैं सेसम्भु पुग्यौं। त्यहाँबाट गाडी चढी हामी थेचम्बु गयौं। राती पानी परेमा बाटो चिप्लो हुने र हामीलाई फिर्न गार्हो हुने हाम्रा गुरूजीको कुरा मान्दै थेचम्बुमा खाना खाएर हामी त्यही दिन झापा तर्फ लाग्यौं। राँकेमा रातिको खाना खाएर हामी सुरूङा तर्फ बढ्यौं। राँकेबाट सुरू भएको तुवाँलो समथर जमिन आएपछि मात्र सक्कियो। बिहान ४ बजे मामाघर आएर हामी सुत्यौं। राति आउनुको कारण बाटो बिग्रिने खतरा थियो र नभन्दै पानी परेकाले बाटो बिग्रिएछ।
सुरूङाबाट हामी अर्को दिन निस्कियौं र इनरूवामा गएर ठूलो हजुरआमालाई भेटेर दमक आएर बस्यौं। भोलिपल्ट हामी बिहानै दमकबाट हिँडी काठमाडौँतर्फ लाग्यौं। बाटोमा गाडी बिग्रिएपछि लहानमा गाडी बनाएर खाना खाइ बर्दिबासको गुन्ज होटलमा बस्यौं र अर्को दिन बर्दिबासबाट सिन्धुलीको बाटो हुँदै काठमाडौँ आयौं।
यो यात्राले गर्दा मैले धेरै कुरा देख्न पाएँ। पहाडी जीवन बाहिरबाट हेर्दा सजिलो तर भित्रबाट गार्हो रहिछ। मलाई पहाडमा पनि बिद्युत् पुगेको देखेर खुसी लाग्यो। समग्रमा मलाई यो यात्रा धेरै रमाइलो लाग्यो र मैले यो यात्राबाट धेरै कुरा सिक्ने मौका पाएँ।
(काव्य अन्वेष ढकाल न्यु मिल्लेनियम विद्यालयमा कक्षा ९ मा अध्ययनरत छन्।)