सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
हामी वैशाखमा गुल्मीमा रहेको हाम्रो गाउँ बाँझकटेरी गएका थियौँ। मलाई त्यहाँ बस्दा निकै रमाइलो भयो। धेरै नयाँ कुरा देखेँ। भैसीको दुध दोहेको देखेँ। ठूलो बुवाले मोही बनाएर घिउ निकाल्ने बेला मलाई पनि मोही पार्न सिकाउनु भयो। दुध ठेकीमा राखेर दही बनाएर दहीलाई मदानी घुमाएर मोही बनाइने रहेछ। त्यसबाट नौनी घिउ निस्कने रहेछ। त्यसलाई आगोमा पकाएर घिउ बनाइने रहेछ। त्यो देख्दा मलाई अचम्म लाग्यो।
मैले स्कुलमा पढेको नेपालको राष्ट्रिय फूल लालीगुराँस पनि देखेँ। दिदीले त त्यो फूल टिपेर खानुभयो। कोटको मन्दिर जाने डाँडामा लालीगुराँस फूलेको देख्दा मन रमायो। हाम्रो घरमा साना दुईवटा मुनीपाठा (बाख्रा) पनि छन्। ती त मभन्दा अगाडी बिहानै आँगनमा खेल्न आउँथे।भाईलाई ती पाठा निकै मनपर्यो। ठूलो मम्मीले हामीलाई कुराउनी घोटेर र सेलरोटी पकाएर खुवाउनुभयो। आटो र ढिँडो पनि बनाउनुभयो। बाबालाई ढिँडो मनपर्ने रहेछ। मैले त खानै सकिन।
ठूलो बाबाले गोरू चराउन जाँदा मलाई सँगै लैजानुभयो। ठूलो बुवाको के-के कामले तल्लो गाउँ र पारि गाउँ जानुपर्दा मलाई पनि सँगै लैजानु हुन्थ्यो। गाउँमा मलाई धेरै रमाइलो लाग्यो। त्यहीँ बसिरहन मन लाग्यो। गाउँबाट काठमाडौं फर्किएपछि मेरो दिमागमा एउटा प्रश्न आयो- गाउँबाट मान्छेहरू किन शहर आउँछन् होला?
मैले मम्मीलाई सोधेँ, 'हामी बाँझकटेरी नबसेर किन यहाँ आएको? वहाँले बाबाममी अफिस जान र हामीलाई राम्रो स्कुल पढाउन काठमाडौं बसेको भन्नुभयो। सहरमा राम्रा अस्पताल छन्। विरामी पर्दा छिटो उपचार हुन्छ भनेर यहाँ आएको रे। अरू अंकल आन्टीहरू पनि धेरै यहीँ आउनुभएको छ रे।
गाउँमा हाम्रो सानो घर छ। घर वरपर हामी खेल्नको लागि ठूलो ठाउँ छ। घरको तल र माथी, घर अगाडी र पछाडी जहाँ खेले पनि हुन्छ। छिमेकीको घरमा दादा-दिदी, भाइबहिनीसँग खेल्न जान मिल्छ। उनीहरू पनि हाम्रोमा आउँछन्। तर यहाँ त घरभित्र खेल्नुपर्छ। खेल्ने साथीहरू पनि हुँदैनन्। भाइहरू र म मात्र खेल्नुपर्छ। यहाँको छिमेकीको घरमा जान मिल्दैन। अरू घरको पनि हाम्रो घरमा खेल्न आउँदैनन्।
गाउँमा त खाना र खाजा पनि तल्लो घरको ठूलो मम्मीकोमा, तल घरको हजुरबुवाकोमा अनि पल्तिर घरको ठूलो मम्मीकोमा जसकोमा पनि खान मिल्छ। यहाँ त हाम्रो घर वरपरको घरमा नै नजाने। घर बाहिर खेल्न निस्कन नहुने रे। बाटोमा गाडी आउँछ भनेर मम्मीबाबाले बाहिर जान दिनु हुन्न। त्यो मलाई मन परेन। मलाई त गाउँ नै राम्रो लाग्यो। त्यहाँका मानिसहरू राम्रो लाग्यो।
गाउँको वातावरण पनि सफा लाग्यो। धुलो-धुवाँ अनि फोहोर नहुने। घरको चुल्होमा दाउरा बालेर पकाउँदा मात्र धुवाँ आउने रहेछ। त्यो बेला त आँखा पिरो भएर हेर्न पनि नमिल्ने रहेछ। अरू बेला धुँवा हुँदैन। गाउँमा फोहोर पनि नहुने रहेछ। त्यहाँ रूखहरू धेरै छन्। ब्रो काउली जस्तो देखिने सल्लाका रूखहरू धेरै छन्।
सल्लाको रूख मैले नगरकोट जाँदा पहिलोपटक देखेको थिएँ। गाँउमा त त्योभन्दा धेरै रूख रहेछन्। मम्मीले भन्नु भएको गाउँमा सहरमा जस्तै राम्रा स्कुल र ठूला अस्पताल बन्यो भने हामी गाउँमै बस्न मिल्छ रे। मेरो गाउँमा कसैले अस्पताल बनाइदिए हुन्थ्यो।ठूलो स्कुल बनाइदिए हुन्थ्यो नि! अनि म गाउँमै बसेर पढ्न पाउने थिएँ। खुला ठाउँमा खेल्न पाउने थिएँ। सफा ठाउँमा बस्न पाउने थिएँ। कति मजा हुन्थ्यो।
(दर्शन भुसाल एलआरआइ स्कुल कलंकीमा कक्षा ५ मा अध्ययनरत छन्।)