सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, 'विद्यालयमा सिकेका कुरा बिर्सेर बाँकी जे रहन्छ त्यही नै शिक्षा हो.'
विद्यालय बाहिर ज्ञानका असिम स्रोतप्रति विद्यार्थीलाई ध्यानाकर्षण गराउनु उनको ध्येय हुनसक्छ। हामी विद्यार्थीले पनि विद्यालय विदा रहेको समयमा पदयात्रा लगायत विविध गतिविधिमार्फत आफ्नो सिकाइको दायरा फैलाउन सक्छौ। फेरी, अरूबेला कम्मर कसेर पढ्नु र जाँच सकिएपछि घुम्न जानु विद्यार्थीको लागि एउटा अवसर पनि हो।
विदामा घुम्न जानु मनोरन्जनले भरिएको मात्र होइन, सन्देशमूलक पनि हुन्छ। यसै कारण, हरेक विदा जस्तै यसपालिको विदामा कतै घुम्न जाने सोच्दै गर्दा नयाँ वर्षको अवसरमा काठमाडौं नजिकै रमणीय ठाउँ जामाचो गुम्बामा जाने योजना गरियो।
जामाचो गुम्बा काठमाडौंको पश्चिम दिशामा बालाजु नजिक हुँदै जानुपर्छ। हाम्रो नेपाल प्राकृतिक स्रोत एवं सामाजिक सम्पदाले भरिएको सुन्दर देश हो। विभिन्न जनावर र चराचुरूंगीको घर भएर बसेको हाम्रो देशमा ती जनावरलाई रक्षा गर्न विभिन्न राष्ट्रिय निकुञ्ज स्थापना भएका छन्।
तिनै राष्ट्रिय निकुञ्ज मध्ये शिवपुरी राष्ट्रिय निकुञ्ज पनि एक हो। २००२ सालमा स्थापना भएको यस निकुञ्जले १५९ वर्ग किलमिटर क्षेत्रफल ओगटेको छ। काठमाडौं, नुवाकोट र सिन्धुपालचोकसम्म फैलिएको शिवपुरी निकुञ्ज नेपालको दोस्रो सानो निकुञ्ज पनि हो। शिवपुरी निकुञ्जको चुचुरोमा रहेको जामाचो गुम्बा आन्तरिक पर्यटनस्थलको रूपमा फस्टाउँदै गएको छ। पूरै काठमाण्डौ देखिन सकिने यस गुम्बा समुन्द्री सतहबाट २०९५ किलोमिटर माथि छ।
प्राकृतिक र धार्मिक सम्पदाको खानी भएकाले म र मेरो परिवार जामाचो घुम्न जान इच्छुक थियौँ। मेरो मामामाइजु र दिदीहरू पनि यस यात्रामा सहभागि हुनु हुनुभयो। घरायसी सल्लाह गरी पदयात्रा र वनभोज पनि गर्ने गरी सबैले केही खानेकुरा पनि बनाएर यात्राको योजना बन्यो। तयारीकै सिलसिलामा बाटो कस्तो छ, कति दुरीमा पर्छ, पानी र खानेकुराको उपलब्धता कस्तो छ लगायत कुराहरू पनि बुझ्यौं।
यात्राको दिन वैशाख १ को बिहानै उठेर शुभकामना साटासाट गरिसकेपछि हामी बालाजुतिर लाग्यौँ। सबैजनाले आफ्नो लागि पिउने पानी र खानेकुरा बोकेर यात्रा सुरू गर्यौ। बालाजु, माछापोखरीसम्म गाडीमा अनि त्यहाँबाट बायाँतिर मोडिएर पैदल हिँडदै ककनी जानेतर्फ करीब १५ मिनेट हिँडेपछि प्रवेशस्थल फूलबारी गेटको अगाडि पुग्यौँ।
गेटमा प्रतिव्यक्ति सय रूपैंया तिरेर टिकट काटेपछि निकुन्ज सुरक्षामा बसेको नेपाल आर्मीको सैनिकलाई देखाएपछि आवश्यक प्रक्रिया पूरा भयो। धुर्व मामा नेपाल आर्मीको रिटायर्ड हुनुभएकाले हामीलाई यस सिलसिलामा अझै सहज भयो।
फूलबारी गेटमा हाम्रो पदयात्रा सुरू भयो। जामाचो गुम्बा फूलबारी गेटबाट लगभग साढेँ ४ किलोमिटर रहेछ। सुरूमै ठाडो उकालोतिर नजर जानेबित्तिकै हिँड्न अप्ठ्यारो भएजस्तो लागे पनि बाटोमा विभिन्न प्रकारका बोटविरूवा अनि हरियाली देखेर थकाइ लागेको थाहै भएन। बाक्ला र अग्ला रूखहरूले बाटोभरी शीतलता दिए।
हिँड्ने बाटोमा प्राय: ढुंगाको सिँढी लगाएको रहेछ। यात्रा सहज बनाउन अन्ताक्षरी खेल्दै र विभिन्न फोटाहरू खिच्दै अगाडि बढ्यौँ। जानी-नजानी बेलाबेला नाचगान पनि गरियो। बाटोमा रूखहरूलाई चिन्न नाम टाँसिएका थिए। मैले काफल, ऐसेलु, कटुस, चिलाउने, पैयु लगायत देखेँ। मामाले धेरै ठाउँ बँदेलले खनेका चिह्नहरू देखाउनुभयो।
बँदेल बस्ने ओढार पनि देखाउनुभयो। कतै बँदेल देखिने आशमा मैले यताउति आँखा डुलाए पनि बँदेल देखिने कुरै थिएन। कतै बाघ नै भुलुक्क देख्न पाए भन्ने बेलाबेला कल्पना पनि गरेँ।
बिचमा एकछिन थकाइ लागेकाले हामी झोला बिसाई केहीबेर रूखको छहारिमा बस्यौँ। आ-आफ्ना खाजा निकाल्यौँ। यसरी एकआपसमा बाँडेर खानको मजा अर्कै हुँदो रहेछ। खाजा खाएपछि हिँड्दै गर्दा मैले पहिलोपटक लालिगुराँसको फूल देखेँ। ओइलाएको भएपनि प्रकृतिसगँ मिसिएर सुरम्य वातावरण बनाएको थियो। आफ्नो राष्ट्रिय फूल देख्न पाएकाले मेरो खुसीको सिमा थिएन। जतिसुकै ओइलाएको भएपनि आफ्नो राष्ट्रको चिनारी प्रति निकै गर्व लाग्ने रहेछ।
करीब तीन घण्टाको हिँडाइमा जामाचो गुम्बाको चुचुरोमा पुग्यौँ। बाटोमा कतै केही बेच्न नराखेको भएपनि यहाँ केही खानेकुरा र पानी बेचिरहेको देख्यौँ। मैले त जामाचो पक्कै पनि शान्त ठाउँमा होला र खासै होहल्ला छैन भन्ने ठानेको थिएँ। कतै-कतै त भिक्षुहरू ध्यान नेै गरिराखेको भेटिन्छ कि भनेर मनमा आशा राखेको थिएँ। तर अपेक्षाविपरित त्यहाँ निकै होहल्ला थियो। मानिसहरू आ-आफ्नै किसिमले रमाइरहेका थिए।
हामी पनि त्यहाँको भ्यु टावर गई काठमाडौं उपत्यकालाई हेर्यौँ। स्वयम्भुको डाँडा अरूबेला अग्लो देखिए पनि यहाँबाट सानो ढिस्को जस्तो पो देखिँदो रहेछ। यसरी दुरबिनले केही ठाउँ हेरिसकेपछि हामी तल खाजा खान ओर्लियौँ। भोजन भ्याइएपछि सबैजना मिलेर गेम खेल्ने, नाच्ने गाउने त कहिले रमाइलो गर्दै तास खेल्न थाल्नुभयो। म एउटा कुनामा बसि आफूले लगेको ह्यारी पोर्टरको किताब पढ्न थालेँ। वरिपरिको हरियाली हेर्दै संगीत सुन्दै पढ्दा आनन्द लाग्यो।
सबैजना समुहमा नाच्दै-गाउँदै रमाइलो गर्यौ। वरपर फूलेको गुराँसले झन सुन्दरता थपेको थियो। रमाइलो गर्दागर्दै समय बितेको पत्तै भएन। तीन बजिसकेको थाहा पाए पनि हामीलाई घर जाने मन थिएन। तैपनि, अब फर्कनुको बिकल्प थिएन। तसर्थ, त्यहाँबाट दुरबिनले अन्तिमपटक काठमाडौं उपत्यका हेरिसकेपछि हामी जामाचोसँग विदा मागेर सिढिँबाट तल झर्न थाल्यौँ। फेरी अर्को पटक आउने वाचा मनमनै राख्दै त्यस शान्त र हरियालिले भरिएको ठाउँ छोडि फर्कियौ।
(विवेक श्रेष्ठ, सिद्धार्थ बनस्थली इन्स्टिच्युट, बनस्थली काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।)